रसुवाको बाढीमा बर्दियाका पाँचजना युवा बेपत्ता



मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलाबाट आएको बाढीमा बर्दियाका पाँचजना युवाहरू बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँको एक हाइड्रो पावरमा पुगेका उनीहरू बेपत्ता भएको खबरसँगै बर्दियास्थित घरमा मात्रै होइन गाउँमै सन्नाटा छाएको छ । बेपत्ता हुनेहरूको सुचीमा बारबर्दिया नगरपालिका– १० का तीनजना, वडा नम्बर ९ का एकजना र बढैयाताल गाउँपालिका– ६ का एकजना रहेका छन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बर्दियाको बारबर्दिया नगरपालिका–१० गुमस्ता गाउँका ३६ वर्षीय जीप्पन चौधरी घर आउने जाने गरिरहन्थे । उनी रसुवास्थित एक हाइड्रो पावर कम्पनीमा काम गर्थे । पछिल्लो पटक उनी श्रीमती अनिता दहित र ११ वर्षीया छोरी शारदा दहितलाई घरमै छोडेर १५ दिनअघि मात्रै रसुवा पुगेका थिए । उनै चौधरी मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलाबाट आएको बाढीमा बेपत्ता हुनेहरूको सुचीमा छन् । रसुवा जिल्लाको गोसाईँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीमा तिब्बतको ल्हेन्दे खोलाबाट आएको बाढीले वितण्डा नै मच्चाएको थियो ।

उक्त बाढीमा परेर ६ चिनियाँ नागरिकसहित २० जना बेपत्ता भएको मंगलबार रातिसम्म नेपाल प्रहरीले जानकारी दिएको छ । बाढीले बगाएर बेपत्ता हुनेको सुचीमा उनै जीप्पन चौधरीको पनि नाम समावेश छ । उनीसहित बर्दियाका पाँच जना पुरुषपनि बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । तीमध्ये ३ जना बारबर्दिया नगरपालिका–१० का हुन् भने दुई जना बर्दियाकै बढैयाताल गाउँपालिकाका रहेको प्रारम्भिक रूपमा पहिचान भएको छ ।

बारबर्दिया नगरपालिका–१० वडाध्यक्ष रणबहादुर चौधरीले बेपत्ताको सुचीमा रहेका जीप्पन चौधरी आफ्नो वडाकै रहेको पुष्टि गरे । उनका अनुसार चौधरी विगत चार वर्षदेखि उक्त क्षेत्रमा काम गर्दै आएका थिए । पहिले रोजगारीको सिलसिलामा पूर्वतिर गएका थिए । परिवारका सदस्य र आफन्तले उनी रसुवास्थित एक हाइड्रो पावर कम्पनीमा काम गर्दै आएको बताएको वडाध्यक्ष चौधरीले बताए । ‘हाम्रो वडाको लागि दुःखद खबर आएको छ । रोजगारीको सिलसिलामा गएका युवाहरू बाढीमा परेर बेपत्ता भएका छन् । यो निकै दुःखद खबर हो । थप कुरा हामी बुझ्ने प्रयास गर्दैछौँ,’ उनले मिसन टुडेसँग भने ।

बेपत्ता चौधरीका आफन्तसमेत रहेका वडा सदस्य प्रेमप्रसाद चौधरी पछिल्लो पटक उनी जेठ महिनामा कामको लागि घरबाट रसुवा गएको बताउँछन् । वडा सदस्य चौधरीका अनुसार जीप्पन विगत चार÷पाँच वर्षदेखि कम्पनीमा काम गर्दै आएका थिए । ‘उनले काम गर्न थालेको वर्षौँ भयो । १५ दिन, एक महिना बिराएर घर आउने जाने गरिरहन्थे । पछिल्लो पटक जेठ महिनामा उनी त्यहाँ गएका थिए । अहिले यस्तो खबर सुन्नुप¥यो,’ वडा सदस्य प्रेम भन्छन् ।

बाढीमा परेर जीप्पनसँगै बारबर्दिया नगरपालिका–१० ‐सेनपानी) वैदीका २५ वर्षीय बुद्धिराम थारूपनि बेपत्ता भएका छन् । जीप्पन र बुद्धिराम नाताले ‐जेठान र सालो) नाता पर्छन् । जीप्पन बुद्धिरामको जेठान भएको वडा सदस्य चौधरीको भनाइ छ । बुद्धिरामपनि विवाहित हुन् । यसैगरी, बाढीमा परेर वैदीकै ३५ वर्षीय सन्तोष दहितपनि बेपत्ता भएका छन् । जीप्पन र सन्तोषसमेत नातेदार हुन् । सन्तोष जीप्पनका जेठान हुन् । जीप्पनकी श्रीमती अनिता सन्तोषकी सहोदर बहिनी हुन् । विगतदेखि दुवै जनासँगै काम गर्दै आएका थिए । वडा सदस्य चौधरी भन्छन्, ‘हाम्रो वडाको लागि यो नराम्रो खबर हो । अझ आफन्त नै बेपत्ता हुँदा दुःख लागेको छ । उनीहरूको घरमा सन्नाटा छ ।’

इलाका प्रहरी कार्यालय बनियाभारका प्रहरी निरीक्षक झविन्द्र परियारले पनि बाढीमा परेर बेपत्ता भएका जीप्पन, बुद्धिराम र सन्तोष बारबर्दिया– १० कै भएको पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बेपत्ता हुनेमा तीन जना बारबर्दिया वडा नम्बर १० हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले बेपत्ताको सुचीमा रहेका २४ वर्षीय लक्ष्मीनारायण थारू बढैयाताल गाउँपालिका वडा नम्बर ६ भदहीका हुन् ।

वडा अध्यक्ष शुक्रराज सापकोटाका अनुसार बेपत्ता भएका थारू वडा नम्बर ६ कै भएको भन्ने आएको यथार्थ बुझ्ने काम भइरहेको छ । ३० वर्षीय सुरेश थारू बारबर्दिया वडा नम्बर ९ का स्थानीय रहेको प्रहरी निरीक्षक डाँगीले बताए । बाढीमा ६ जना चिनियाँ नागरिकसमेत रहेका छन् । तीन जना प्रहरीसमेत रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार