कैलालीका नदीमा देखिन थाले डल्फिन



घोडाघोडी (कैलाली) ।

पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् । डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिए ।

‘मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ । नदीमा जलस्तर बढेपछि सोमबारदेखि यहाँ डल्फिन देखापर्न थालेका हुन्,’ उनले भने । उनका अनुसार गत वर्ष असार पहिलो साता डल्फिन आएकामा यस वर्ष ढिलो पानी परेकाले केही ढिलो डल्फिन देखिएका छन् ।
डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने गर्दछन् ।

उनले भने, ‘भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्दछन् । यसरी तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन् ।’ यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका श्रेष्ठले बताए । स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने उनको भनाइ छ ।

‘यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ,’ उनले भने । हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताए । ‘भर्खरै डल्फिन देखिन थालेका छन् । अबको केही दिनमा पर्यटकहरू अवलोकनका लागि दैनिकी जसो यहाँ पुग्ने गर्दछन्,’ उनले भने ।

पर्या–पर्यटनका दृष्टिकोणले महत्वपूर्ण मानिएको डल्फिन संरक्षणका लागि यस क्षेत्रमा संरक्षण र प्रवद्र्धनका लागि विभिन्न काम भइरहेका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), तराई भूपरिधि कार्यक्रम, विश्व संरक्षण संघ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका हुन् ।

साथै टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि संरक्षणका क्षेत्रमा काम गरिरहेका छन् । यहाँ चारपटक डल्फिन महोत्सवको आयोजनासमेत गरिएको थियो । कर्णालीमा विसं २०५४ मा पहिलो पटक डल्फिन देखिएको थियो । स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे)ले पहिलोपटक डल्फिन देखेपछि उनले यसको प्रचारप्रसार गरेका थिए ।

आफूले यहाँ पहिलोपटक डल्फिन देखेपछि प्रचारप्रसार तथा संरक्षणका लागि जुटेको उनले बताए । ‘सुरूमा डल्फिन देखिएपछि प्रचारप्रसार र संरक्षणका लागि पहल गरेको थिएँ,’ उनले भने, ‘चुनौती धेरै थिए तर बिस्तारै यसको महत्वका बारेमा जानकारी दिँदै गएपछि स्थानीय सरकार, अभियानकर्मी, सरकोकार भएका निकायलगायत संरक्षण अभियानमा जुटेका छन् ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार