भूमिकास्थानले ल्यायो ८३ करोड ९४ लाखको बजेट



गोपालप्रसाद भट्टराई । अर्घाखाँची ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि ८३ करोड ९४ लाख ७४ हजार रूपैयाँको बजेट ल्याएको छ । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्धनलाई प्राथमिकता दिएको यो बजेटले भूमिकास्थानको सर्वाङ्गीण विकासमा जोड दिएको छ ।
१७औँ नगर सभामा उपप्रमुख बालकृष्ण बन्जाडेले बुधबार बजेट प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

कूल विनियोजित रकममध्ये चालू खर्चतर्फ ५४ करोड १६ लाख ८९ हजार र पुँजीगत खर्चतर्फ २९ करोड ७७ लाख ८५ हजार छुट्याइएको छ ।
बजेटका मुख्य स्रोतहरूमा संघीय सरकारबाट ७६ करोड ९३ लाख ७४ हजार, प्रदेश सरकारबाट ४ करोड ६९ लाख, नगरपालिकाको आन्तरिक स्रोत ८२ लाख र गत वर्षको अल्या गरी २ करोड ३२ लाख रूपैयाँ समेटिएको छ ।

नागरिकको घरदैलोमा स्थानीय सरकार रहेको प्रत्याभूति हुनेगरी बजेट र कार्यक्रम ल्याइएको भूमिकास्थानका नगर प्रमुख झविलाल थापाले बताए । प्रत्येक नागरिकलाई उत्पादनसँग जोडेर स्वरोजगर र आत्मनिर्भर बनाउने लक्ष्य रहेको उनको भनाइ छ । नगरपालिकाका सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, शिक्षाको गुणस्तर सुधारमा विशेष कार्यक्रम, स्वास्थ्य सेवालाई सहज बनाउन शिविर सञ्चालन, विद्यालय नर्स कार्यक्रम सञ्चालन, गरिब, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरू, बालबालिका लगायतका वर्गलाई विशेष प्राथमिकता जस्ता कार्यहरू अगाडि बढाउने नगर प्रमुख थापाको भनाइ छ ।

कृषि तथा पशुपालनतर्फ कृषकको उत्पादनलाई नगरपालिकाले सकंलन गरी बिक्री वितरण गर्ने, रैथाने बालीअन्तर्गत कोदो, जौ, फापर, भटमास, मास लगायतको संरक्षण र प्रवद्र्धन गर्नेगरी बजेट तथा कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपालीले जानकारी दिए । भौतिक पूर्वाधारतर्फ आउने वर्ष भूमिकास्थानको प्रशासनिक भवन निर्माण गर्नेगरी बजेट विनियोजन भएको उनको भनाइ छ ।

बालमैत्री स्थानीय शासन अवलम्बन, वडा तहदेखि अन्तरपालिका तथा अन्तरजिल्ला जोड्ने सडकमार्गको स्तरवृद्धिसँगै महिला, बालबालिका, अपाङ्गता भएका नागरिकहरूमा विशेष कार्यक्रम, मनसुनजन्य विपद् व्यवस्थापन र विपद्बाट घरबासविहीन परिवारलाई राहत, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, न्यायमा सरल, सहज पहुँच पुग्ने कार्यक्रम भूमिकास्थानले ल्याएको भूमिकास्थानका योजना अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र भुसालले बताए ।

दलित तथा जनजाति समुदायको ज्ञान, सीप, पेसालाई आधुनिकीकरणसँगै उद्योगको रूपमा विकास तथा प्रोत्साहन गर्ने, ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण तथा ज्ेष्ठनागरिक सम्मान, स्थानीय स्तरका सांस्कृतिक क्षेत्र र खेलकुदलाई प्रोत्साहन, बाँझो जमिनमा कर्मशील जनशक्ति परिचालनमार्फत सामूहिक खेतीको विकास, मकैको पोष्कर र थाकलको पातबाट झोला एवं् टोपी तथा बाँसका सामाग्री निर्माण गरी बिक्री, पर्यटकीय स्थलको विकास र पर्यटक आगमनका कार्यहरू, पारदर्शी र सुशासनमैत्री सेवा प्रवाह, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण लगायतका कार्य गर्नेगरी बजेट र कार्यक्रममा समेटिएको नगरपालिकाले जनाएको छ ।

यो बजेटले भूमिकास्थानको चौतर्फी विकास र नगरवासीको हितमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको नगर उपप्रमुख बालकृष्ण बन्जाडेको भनाइ छ । स्रोत सीमित भएपनि सहभागितामूलक र आवश्यकतामा आधारित बजेट निर्माण गरिएको नगर प्रमुख थापाको तर्क छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार