‘ट्यांकी निर्माण खर्चिलो छ, तर सरकारबाट कम बजेट आउने हुँदा सिधै बोरिङबाट पानी वितरण गर्नुपरेको हो,’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विधान अर्यालले भने । ४ लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गर्न करिब ढाई करोड खर्च हुने उनले बताए । ‘सरकारले १३ करोड विनियोजन गरेको छ,’ उनले भने, ‘यस हिसाबले एउटा योजनामा १४ लाख रूपैयाँ भाग पर्छ । जबकि एउटै योजना सम्पन्न गर्न ७ देखि ८ करोड खर्च हुन्छ ।’
निशु जोशी । नेपालगन्ज ।
२०७१ सालमा आएको बाढीले बाँके राप्ती सोनारी– २ खल्ला राजपुरको गाउँ नै तहसनहस बनायो । बाढीपछि स्थानीयहरू झण्डै १ किलोमिटर टाढा विस्थापित हुन बाध्य भए । खानेपानीको कुनै सुविधा नभएको ठाउँमा बस्नुपरेपछि पानी लिन दैनिक १ किलोमिटर टाढा आउजाउ गर्नुपर्ने बाध्यता रहेकोमा डेढ वर्षयता उनीहरूको घरमै पाइपलाइन प्रणालीको सरकारी खानेपानीको धारा पुगेको राजपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव शेरबहादुर वलीले बताए ।
‘बाढीपीडितहरू १ किलोमिटर टाढा गएर पानी ल्याउन बाध्य थिए । त्यसमाथि हातेपम्पको पानी रातो थियो । पानीले भाँडाकुँडा पनि बिगारेको थियो,’ वलीले भने । जमिनमुनि २५ फुटबाटै निकालिएको पानीको रंग रातो र खान अयोग्य छ । आफूले पनि ५ वर्षबढी जारको पानी किनेर खाएपछि अहिले धाराको पानी खान पाएको वलीले अनुभव सुनाए । उनको गाउँमा जारको पानी कोहलपुरबाट पुग्ने गथ्र्यो ।
घरनजिकै सरकारी पाइप प्रणालीको धारा पुगेपनि राजपुरवासीका लागि प्रयाप्त नभएको उनी बताउँछन् । २ सय ५५ घरधुरी रहेको राजपुरमा हालसम्म १ सय ६० घरधुरीमा मात्र पाइप प्रणालीको खानेपानी पुगेको उनले जानकारी दिए । ‘बिहान र साँझ एक–एक घण्टा पानी आउँछ, तर अरु स्थानीयहरू हातेपम्पको असुरक्षित पानी पिउन बाध्य छन्,’ वली भन्छन् । २०७८ मा आयोजना निर्माण सुरु भएपनि २०८० फागुनदेखि पानी वितरण सुरु भएको हो ।
बाढीपीडितहरूको बस्तीमा पानी नभएका कारण उपभोक्ता समितिले उनीहरूलाई प्राथमिकतामा राखेर पानी वितरण गरेको हो । राप्ती सोनारी– ८ बालापुरको अवस्थापनि राजपुरको जस्तै छ । बस्तीमा पाइप प्रणालीको खानेपानीले केही राहत त पुगेको छ, तर समाधान भने अझै टाढा छ । २०८१ माघदेखि बालापुरमा पनि ३ सय १७ मध्ये १ सय घरधुरीले मात्र पाइप प्रणालीबाट खानेपानी पाएको पदलापुर बालापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भागिराम खड्काले जानकारी दिए ।
उनका अनुसार त्यहाँको हातेपम्पबाट पनि रातो पानी आउने गर्छ । बालापुर र राजपुरमा ट्यांकी निर्माण नगरेरै बोरिङमार्फत पानी वितरण भइरहेको हो । तत्काल खानेपानी समस्या समाधान गर्न खानेपानी आयोजना र उपोभोक्ता समितिबीच सहमति भएपछि बोरिङमार्फत पानी वितरण सुरु गरिएको अध्यक्ष खड्काले बताए । उनका अनुसार सबै घरधुरीमा खानेपानीको धारा पुराउनका लागि ट्यांकी निर्माण गर्न आवश्यक छ । तर बजेटको अभाव छ ।
सबै घरधुरीमा पाइप प्रणालीको खानेपानी नपुगेपछि स्थानीयहरू हातेपम्पकै पानी पिउन बाध्य छन् । स्थानीयहरूले ट्यांकी निर्माणको माग गरिरहेपनि सरकारले पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन । ६० लाख रूपैयाँ बजेट आएपनि पाइप र भवन निर्माणमा सकिएको खड्काले बताए । ‘ट्यांकी निर्माण खर्चिलो छ, तर सरकारबाट कम बजेट आउने हुँदा सिधै बोरिङबाट पानी वितरण गर्नुपरेको हो,’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विधान अर्यालले भने ।
४ लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गर्न करिब ढाई करोड खर्च हुने उनले बताए । ‘सरकारले १३ करोड विनियोजन गरेको छ,’ उनले भने, ‘यस हिसाबले एउटा योजनामा १४ लाख रूपैयाँ भाग पर्छ । जबकि एउटै योजना सम्पन्न गर्न ७ देखि ८ करोड खर्च हुन्छ ।’
कार्यालयबाट हाल ९० वटा आयोेजना सञ्चालनमा रहेका छन् । जसमध्ये ५२ वटा योजना प्रदेश सरकारबाट सञ्चालित छन् ।
हालसम्म ९० मध्ये ३० वटा आयोजना पूरा भइसकेका छन् भने अब राधापुर, नौवस्ता, बनकटुवा र रझेना खानेपानी आयोजना सम्पन्न हुने तयारीमा छन् । ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिरहेको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि बाँकेका ४ वटा खानेपानी योजनाका लागि केवल १–१ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । राप्ती सोनारी ३ मा रहेको नवलपुर खानेपानी आयोजना र खैरहनी, नेपालगन्ज १३ को उदरपुरलालापुर्वा, बैजनाथ ४ को बैजनाथ खानेपानी आयोजनालाई १ हजारका दरले रकम विनियोजन भएको हो ।
बाँकेमा हालसम्म खानेपानीको पहुँच हालसम्म १५.०७ प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र खत्रीले जानकारी दिए । बाँकेमा १ लाख २९ हजार २ सय ३४ घरधुरीमा खानेपानीको पहुँच भएकोमा पाइप प्रणालीमार्फत १९ हजार ४ सय ८३ घरधुरीमा पानीको पहुँच पुगेको उनले बताए । यो कूल जनसङ्ख्याको १५.०७ प्रतिशत हो ।
यस्तै जिल्लामा निजी धारा (जमिनमुनिको पानी हातेपम्म, मोटरमार्फत निकालिएको) ९४ हजार ५ सय ४७ घरधुरी अर्थात् ७३.१६ प्रतिशतले प्रयोग गरिरहेका छन् । अझैपनि इनार खोलामार्फत जिल्लामा ५ हजार ८ सय ४६ घरधुरी अर्थात् ४.५ प्रतिशतले असुरक्षित पानी पिइरहेका खत्रीले बताए । स्थानीय तहको बजेटमार्फत, निजी श्रोत, संघसंस्थामार्फत गरी ९ हजार ३ सय ९५ घरधुरी अर्थात् ७.२५ प्रतिशतले पानीको प्रयोग गरिरहेका छन् ।
यसवर्ष ७ सय ५० घरधुरी खानेपानीको पहुँचमा जोडिए
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जबाट यसवर्ष बाँकेमा १० वटा खानेपानी आयोेजना सञ्चालनमा आएका छन् । कार्यालय प्रमुख विधान अर्यालले जिल्लाको राप्ती सोनारी, कोहलपुर र खजुरामा गरी ३ पालिकामा १० योजना सञ्चालनमा आएको बताउँदै यहाँका ७ सय ५० घरधुरी शुद्ध खानेपानीको पहुँचमा जोडिएको जानकारी दिए । उनका अनुसार, राप्ती सोनारी गाउँपालिकाको वडा नं २ मा राखि गौशाला, राजपुर र हरिहरपुर खानेपानी आयोजना सञ्चालनमा आएको छ । यस्तै वडा नं ५ मा चिलरिया, विनौना र वडा नं. ८ बालापुरमा बालापुर खानेपानी आयोजना सञ्चालन गरिएको छ ।
यस्तै जिल्लाको कोहलपुर नगरपालिकाको वडा नं. ३ मा रझेना, बैजनाथ गाँउपालिकाको वडा नं. ६ मा बनकटुवा, नौवस्ता खानेपानी आयोजना र खजुराको वडा नं. ४ मा राधापुर खानेपानी योजना थपिएका छन् । यी योजना सम्पन्न हुन भने बाँकी छ । बाँके जिल्लामा नरैनापुर गाउँपालिका, डुडुवा गाँउपालिका र जानकी गाँउपालिकामा अहिलेसम्म यो कार्यालयबाट कुनैपनि खानेपानीका आयोजना सुरु भएका छैनन् । स्थानीयको श्रमदान १० प्रतिशत हुनुपर्ने भएपनि स्थानीयहरूले चासो नदेखाएपछि र बजेट कम भएका कारण आयोजना सुरु हुन नसकेको कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्