विद्युत् अनियमित हुँदा नागरिक आक्रान्त



गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।

बाँकेमा पछिल्ला केही दिनदेखि बढेको गर्मीका कारण यहाँका नागरिकको जीवन कष्टकर बन्दै गएको छ । देशकै अत्यधिक गर्मी हुने मध्येको एक ठाउँ बाँकेको सदरमुकाम नेपालगन्जमा दैनिक विद्युत् आपूर्ति अनियमितता हुँदै आएको छ । दैनिकरूपमा विद्युत् अनियमितता हुँदा यहाँका सर्वसाधारण नागरिकहरू आक्रान्त बनेका छन् । नेपालगन्जमा बढ्दै गइरहेको गर्मीमा विद्युत् सेवासमेत अनियमितता हुँदा नागरिकहरू आक्रान्त बनेका हुन् ।

विगत केही दिनदेखि ४० डिग्री सेल्सियस आसपासको चर्को गर्मी खेपिरहेका नागरिकले विद्युत् कार्यालयले नियमितरूपमा विद्युत् आपूर्ति नगर्दा र झ्यापझ्याप बत्ती काट्ने समस्या झेलिरहेका छन् । नेपालगन्जका स्थानीयले विद्युत् कार्यालयले चर्को गर्मीमा पनि विद्युत् नियमित आपूर्ति नगरेको भन्दै सामाजिक सञ्जालमार्फत् चर्को विरोध जनाइरहेका छन् । अत्यधिक गर्मीका साथै उम्सोबाट पीडित बनेका नेपालगन्जवासीहरूले विद्युत् कार्यालयले नियमितरूपमा विद्युत् आपूर्ति गर्नुपर्ने माग राखेका छन् ।

नेपालगन्जका युवा हरित अभियन्ता हेमन्तराज काफ्लेले विद्युत् कार्यालयले अतिनै दुःख दिने गरेको बताए । उनले यस्तो चर्को गर्मीमा पनि नियमित विद्युत् आपूर्ति नगरेर जनतालाई अत्यन्तै पीडा दिएको र तत्काल विद्युत् समस्या समाधान गरी नियमित आपूर्ति गर्न आग्रह गरे । ‘त्यसैपनि यस्तो गर्मीमा हामी नागरिकहरू पीडामै छौँ, त्यसमाथि विद्युत्ले आफ्नो मनलाग्दी बत्ती काटेर हैरान पारेको छ, रातिमा सुत्नै नसक्ने अवस्था छ, रातिमा ढिलासम्म सुत्न नपाउँदा बिहान अबेरसम्म सुत्नुपर्दा दैनिक कामकाजमा पनि असर पुगेको छ ।’ उनले भने, ‘हाकिम सा’बहरूलाई फोन ग¥यो उठ्दैन, एकजना हाकिमले त साँझ पर्ने बित्तिकै अफिसियल नम्बर सिस्टममा हाल्नुहुन्छ, एक रिङ घण्टी जान्छ त्यसपछि बिजी छ भनेर भन्छ, जवाफदेही हुनुहुन्न, जनता प्याकप्याक भएका छन्, उहाँहरू भने फोनसमेत उठाएर जानकारी गराउनुहुन्न ।’

अर्का स्थानीय ललित रौनियारले फेसबुकमार्फत् लेख्छन्, ‘नेपालगन्ज विद्युत्ले के खोजेको हो ? यदि लोडसेडिङ हो भने घोषण गर, यो १-१ मिनेटमा आउने जाने कारणले उपभोक्ताको घरायसी विद्युतीय उपकरणहरू जलिरहेका छन् । भोल्टेज पनि छैन् । समस्या के हो स्पष्टरूपमा जानकारी दिनुप¥यो । आन्दोलन र तोडफोड गर्न बाध्य नबनाउ नागरिकहरूलाई ।’

नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले विद्युत्का कर्मचारीहरू अतिनै गैरजिम्मेवार भएको बताए । ‘हरेक दिन लो भोल्टेज र अघोषित लोडसेडिङका कारण सर्वसाधारण आहत भएका छन्, यो हरेक वर्षको समस्या हो, पूर्वतयारी छैन्, नागरिकलाई कतिखेर बत्ती जान्छ आउँछ जानकारी छैन्, आफ्नो मनलाग्दी भएको छ, विद्युत् कर्मचारीहरू गैरजिम्मेवार बनेका छन् ।’ उनले भने, ‘पहिलाका वर्षहरूमा पनि सडक आन्दोलननै गर्नुपरेको थियो, जनताको धैर्यताको बाँध टुटिसकेको छ, जनता फेरीपनि सडकमा आएर विद्युत् कार्यालय घेराउ गर्ने तथा आक्रामक ढंगले आन्दोलन नगर्लान भन्न सकिन्न् ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरञ्जीवी वलीले दैनिक घण्टौँसम्म अघोषितरूपमा लोडसेडिङ गरेर बिहानदेखि रातिसम्म पटक पटक लाइन काटिँदा उद्योगी, व्यवसायी तथा सर्वसाधारणले सास्ती खेपिरहनुपरेको बताए ।
‘बिना जानकारी हरेक एक आधा घण्टामा लाइन काटेको छ, उद्योगीले नियमितरूपमा मेसिन चलाउन पाएका छैनन्, कच्चा पदार्थ वेस्टेज गइरहेको छ, कतिपयले त उद्योग चलाएकै छैनन्, कच्चा पदार्थ वेस्टेज जाने मात्रै नभएर मेसिनसमेत बिग्रने गरेका छन्, ।’ उनले भने, ‘कार्यालय प्रमुखको रेस्पोन्स छैन्, फोन उठ्दैन्, बाहिर सडकमा हिँड्न सक्ने अवस्था छैन्, घरभित्र बत्तीबिना बस्न सकिँदैन्, उद्योगी व्यवसायी मात्र होइन सबैको जनजीवन नै अस्तव्यस्त बनेको छ ।’
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक प्रबन्धक ई.जगन्नाथ लामिछानेले केही दिनदेखि नेपालगन्जको तापक्रम उच्च भएका कारण विद्युत् आपूर्ति व्यवस्थापनमा समस्या आएको बताए ।

‘हामीसँग तत्काल समस्या समाधानका लागि वैकल्पिक उपाय छैन्, राष्ट्रिय प्रसारणको लाइन हरेक दिन बेलुका २-३ पटकसम्म जाने गर्छ, एकपटक गएको लाइन आउन कम्तीमा ४५ मिनेट लाग्छ, बत्ती आउँदा सबै डिमाण्ड एकैचोटी बढ्छ, चेन इफेक्ट हुन्छ, जताततै डिस्टर्व हुन्छ, ओभरलोड हुँदा ट्रान्सफर्मर जल्ने, तार जल्ने चुँडिने, जम्पर जल्ने लगायतका समस्या आउँछ ।’ उनले भने, ‘त्यो मर्मत गर्नका लागि बत्ती काट्नुपर्छ, समय लाग्छ, हामीसँग मर्मत सम्भारका लागि जम्मा दुईवटा टोली छ, स्रोतसाधनको कमी छ, दुई वटै टोली फिल्डमा पठाउँदा पनि बिग्र्रेका सबै ठाउँमा पुग्न केही समय लाग्ने गर्दछ ।’

उनले राष्ट्रिय प्रसारणबाट आउने विद्युत् भोल्टेज १३२ केभी हुनुपर्नेमा ११८ केभी भोल्टेजसम्म भएको जानकारी दिए । भोल्टेज घटेपछि विद्युतीय उपकरणले बढी करेन्ट तान्ने र ओभरलोड हुन गई उपकरण तथा वितरण गरिएका तारमा समेत क्षति हुने गरेको उनको भनाइ छ । फोन नउठाउने, बिजी राख्ने, जवाफदेही नहुने भन्ने नागरिकले लगाएको आरोप खण्डन गर्दै उनले भने, ‘कार्यालयमा दुई वटा हटलाइन फोन छ, मर्मतका लागि कर्मचारी फिल्डमा पठाउनुपर्ने हुँदा दुई वटै फोनमा एकजना कर्मचारी बस्नुहुन्छ । सबैले एकैपटक फोन गर्दा बिजी हुन्छ, एउटा फोनमा कुरा हुँदा अर्को फोन उठ्दैन, हामी जसरी हुन्छ सेवा प्रवाह गर्नतर्फ सचेत छौँ ।’

‘अफिसको फोन उठेन भन्दै ग्राहकले रातबिरात हामीलाई फोन गर्नुहुन्छ, दिउँसोमा जसोतसो मिलाउँछौँ, रातिमा धेरै समस्या हुन्छ, ग्राहकको गुनासो समस्या सहन गर्न सकिन्न, रातदिन भनेर लाग्दापनि ग्राहकलाई पूर्ण सन्तुष्टि दिन सकिन्न, दुःख लाग्छ, नो लाइट र मर्मत टिम मरेर लाग्छ, तर व्यवस्थापनले हाम्रो कामको मूल्याङ्कन गर्दैन ।’ नाम नबताउने शर्तमा फिल्डमा खटिने कर्मचारीहरू भन्छन्, ‘ग्राहकको कम्प्लेन, निवेदन, फोन एउटा होइन दैनिक हजारौँको प्रश्नको जवाफ हामीले नै दिनुपर्छ, ओभरटाइम र सेवासुविधामा हामी माथिनै विभेद हुन्छ, तरपनि जनताको सेवाका लागि २४सै घण्टा हामी फिल्डका कर्मचारी खटिएका छौँ ।’ ‘कर्मचारीहरू बढी राजनीति गर्छन्, हाजिर गर्ने टाप ठोक्ने (हाटा) वाला छन्, अधिकांश कर्मचारी काम गर्दैनन्, हामी थोरै कर्मचारी फिल्डमा खटिँदा भनेको समयमा सेवा प्रवाह गर्न सक्दैनौँ ।’ उनीहरूले भने ।

रातिको समयमा अधिकांश नेपालगन्जवासीको कामनै फेसबुक लगायतका सामाजिक सञ्जालमा बत्ती नभएकै बारेमा स्टाटस लेख्दै बित्ने गरेको छ । कसैले ‘बत्ती कतिखेर आउँछ ?’ कसैले ‘बत्ती त छ, तर लो भोल्टेज छ’ कतिपयले ‘कहाँ के भएको होला, जानकारी पाउँन’ लगायतका स्टाटस लेखेर बसिरहेका हुन्छन् ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मिना सीवाकोटीका अनुसार बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम ३९ दशमलव ५ डिग्री र न्यूनतम तापक्रम ३० दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । उनका अनुसार मंगलबार यहाँको अधिक्तम तापक्रम ४१ डिग्री सेल्सियस रहेको थियो भने न्यूनतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको थियो । त्यसैगरी बुधबार अधिक्तम तापक्रम ३८ दशमलव २ डिग्री र न्यूनतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । अत्यधिक गर्मीका कारण नेपालगन्जलगायत बाँकेका केही स्थानीय तहले विद्यालयहरूलाई सार्वजनिक बिदासमेत दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार