नेपालगन्ज ।
नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ७९ जना जनशक्ति थपिने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले २१०२ जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । जसमा भेरी अस्पतालमा एक सय ७९ जना जनशक्ति थपिने उल्लेख छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार जनशक्ति नभएको गुनासोलाई सम्बोधन गर्ने गरी अर्थ मन्त्रालयसँगको सहमतिमा स्वास्थ्य जनशक्तिका थप गर्ने प्रक्रिया अघि बढाएका थिए ।
पाँच वर्षसम्म हरेक वर्ष गर्ने गरी तयार पारिएको यस पालिको संगठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा सात सय ७७ जनशक्ति थपिने उल्लेख छ भने राष्ट्रिय ट्रमा सेन्टरमा ९० जनशक्ति थपिने भएका छन् । यसैगरी कान्ति बाल अस्पतालमा ७८ जना, परोपकार प्रसूति अस्पतालमा एक सय ७३ जना, शुक्रराज ट्रक्रिकल तथा सरुवा रोग अस्पतालमा एक सय १७, कोशी अस्पतालमा एक सय ७२, नारायणी अस्पतालमा तीन सय १८ जनशक्ति थप हुनेछन् ।
गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा एक सय ४४ जनशक्ति थपिँदा चितवनको भरतपुर अस्पतालले चार सय ६५ जनशक्ति पाउनेछ । डडेलधुरा अस्पतालमा ५२ तथा औषधी व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी संगठन संरचना गरिएको छ । प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य बिरामीको चापअनुसार जनशक्ति नहुँदा सेवा दिन भइरहेको कठिनाइ केही हदसम्म हल हुने विश्वास व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्