कैलाली ।
सुदूरपश्चिममा पहिलो पटक कैलालीको गोदावरी नगरपालिमा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गरिएको छ । एशियाली विकास परियोजनाअन्र्तगत निर्माण भएको फोहोरमैला व्यवस्थापनको बिहीबार उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले अब यो ठूलो परियोजना निर्माण सम्पन्न भएको र यसलाई सञ्चालन गर्ने मुख्य जिम्मेवारी गोदावरी नगरपालिकाको रहने बताए ।
उनले ठूलो लगानी भएको अब यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले पूर्वाधार विकास दिर्घकालिन सोचअनुसार उल्लेखनीय कार्य भइरहेको बताए । मन्त्री सिंहले तराई मधेशको विकास गर्न शहरी क्षेत्रमा पूर्वाधार निर्माण भइरहेको जानकारी दिए । उनले भने, ‘सडक, खानेपानी, स्वास्थ्य पूर्वाधारसँगै सामाजिक क्षेत्रको विकास गर्न मन्त्रालयले विभिन्न गतिविधि गरिरहेको छ । अहिले थुप्रै सुधार भइरहेको छ ।’
एडीबी नेपाल कन्ट्री डाइरेक्टर अर्नल्ड काउचोइसले एडीबीले नेपालको आर्थिक, सामाजिक र भौतिक पूर्वाधार निर्माणमा सहयोग गरिरहेको बताएका थिए । उनले फोहोरमैला व्यवस्थापन सबैभन्दा चुनौती रहेकाले अहिले एडीबीले हरेक प्रदेशमा एकिकृत फोहोरमैला व्यवस्थापनका लागि लगानी गरिरहेको जानकारी गराए । उनले प्रदेश सरकारले आयोजना गर्न गइरहेको विकास तथा लगानी सम्मेलनको पुर्वसन्ध्यामा गरिएको प्रि–समिटमा पनि यो विषयले प्राथमिकता पाएको बताउँदै, ‘हरेक जिल्लामा एकिकृत फोहोरमैला व्यवस्थापन आजको आवश्यकता हो तर, स्थानीय तहहरूले त्यसको व्यवस्थापन गर्न नसक्नु अहिलेको चुनौती रहेको छ ।’
गोदावरी नगरपालिकाका नगर प्रमख वीरेन्द्र भट्टले एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र बन्नु राम्रो पक्ष भएपनि त्यसलाई दिर्घकालिन रूपमा सञ्चालनमा ल्याउन चुनौती रहेको बताए । उनका अनुसार गोदावरीमा बनेको एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रलाई दिर्घकालिन रूपमा सञ्चालनमा ल्याउन कृष्णपुर नगरपालिका, गौरिगंगा नगरपालिका र धनगढी उपमहानगरपालिकाको साथ र सहयोग आवश्यक रहेको बताए ।
उनले भने, ‘गोदावरी नगरपालिकामा फोहोर उत्पादन न्यून रहेको छ । अहिले तीन वर्षका लागि निर्माण कम्पनिले सञ्चालन गर्छ । त्यसपछि हामीले निजी कम्पनिलाई ठेक्कामा दिनेछौँ । तर, यहाँ फोहोर उत्पादननै छैन भनेपछि कसरी सञ्चालन गर्ने भन्ने चुनौती रहेको छ । यसका लागि धनगढी, गौरिगंगा र कृष्णपुरमा उत्पादित फोहोरहरू यहाँ व्यवस्थापन हुनुपर्छ ।’ उनले धनगढीमा पनि एडीबीले एकिकृत फोहोरमैला व्यवस्थापन निर्माण गरिरहेकोले सो फोहोरमैला व्यवस्थापनमा चुनौती रहेको बताए ।
शहरी विकास तथा भवन निर्माण महाशाखाका महानिर्देशक मचाकाजी महर्जनले गोदावरीको मुख्य राजमार्गदेखि एक किलोमिटर भित्र रहेको महिला सामुदायिक वनभित्र एकिकृत फोहोरमैला व्यवस्थापन गरिन लागेको बताए । गोदावरी नगरपालिका–३ चौकीडाँडामा बनेको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको बताए । कुल लागत ५१ करोड ६९ लाख ७४ हजार ४ सय ९९ रूपैयाँको परियोजनामा ७५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदान र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानीबाट काम भएको हो ।
सहरी विकास मन्त्रालयका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चीनको सिचुवान प्रोभिन्सियल जिओलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहने छ । उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको छ ।
केन्द्रमा संकलित फोहोर वर्गीकरण गरिने छ । कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरिने छ भने नवीकरण गर्न सकिने फोहोरलाई कवाडीमा बिक्री गरिने जनाइएको छ ।
कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने तर पुनः प्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोत समेत बन्ने छ । यसबाट वातावरणीय प्रदूषण न्यूनीकरण हुने र स्थानीय किसानलाई जैविक मल प्राप्त हुने सहरी विकास मन्त्रालयले जनाएको छ । क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका अनुसार स्थानीय रोजगारी प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको केन्द्रमा ४० भन्दा बढीले रोजगारी पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्