अधिकारको माग गर्दा कर्तव्य पनि पालना गर्नुपर्नेमा जोड



नेपालगन्ज (बाँके) ।

आफ्नो अधिकारको माग गर्दा कर्तव्य पनि पालना गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालयले आयोगको २५औँ (रजत) वार्षिकोत्सवका अवसरमा मङ्गलबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागिहरूले व्यक्तिले आफ्नो मानवअधिकारको माग गर्दैगर्दा आफूले पालना गर्नुपर्ने कर्तव्यतिर पनि ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मानवअधिकार सबैको बराबर हुने भएकाले आफ्नो अधिकारको माग गरिरहँदा आफूले पालना गर्नुपर्ने कर्तव्यतिर पनि ध्यान दिनुपर्ने बताए । उनले कसैले पनि कसैको मानवअधिकारको हनन गर्न नहुने, उल्लंघन गर्न नहुने भन्दै हनन गर्ने र उल्लंघन गर्नेहरूलाई कानुन अनुसार कारबाही गर्नुपर्नेमा जोड दिए ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर सारुले मानवअधिकार आयोग संवैधानिक रूपमा २०५७ सालमा स्थापना भएको, २०७२ सालको संविधानले पनि निरन्तरता दिएको भन्दै आयोगले खेलेको भूमिका महत्वपूर्ण र सरहानीय रहेको बताए । उनले संविधान र कानुनले नागरिकलाई दिएका अधिकार संरक्षणका लागि सचेतनाका कार्यक्रमहरूसमेत सञ्चालन गर्न जरुरी रहेको बताए । अधिकारका विषयमा धेरै वकालत हुने गरेको भन्दै उनले व्यक्ति तथा नागरिक समाजले आफ्नो कर्तव्यको पालना पनि गर्नुपर्नेमा जोड दिए ।

बाँकेका प्रजिअ धर्मराज जोशीले मानवअधिकारको सम्मान, रक्षा, संरक्षण तथा सम्वर्धन गर्नका लागि सबै पक्षले प्रतिबद्धता जनाउनुपर्ने बताए । उनले पछिल्लो समयमा नागरिकहरूले सरकारी तथा सार्वजनिक पद धारण गरेर बसेका व्यक्तिहरूप्रति हेर्ने नजर नकारात्मक देखिने गरेको भन्दै सबै राष्ट्रसेवक खराब नहुने धारणा राखे ।

‘पछिल्लो समय नागरिकहरूले सरकारी तथा सार्वजनिक पदमा बसेका व्यक्तिहरूप्रति हेर्ने धारणा नकारात्मक देखिएको छ, समाजमा जसरी राम्रा, नराम्रा खालका व्यक्तिहरू हुन्छन्, त्यसैगरी सार्वजनिक पदमा बस्ने राष्ट्रसेवकहरू पनि कोही राम्रा र कोही नराम्रा हुन सक्छन् ।’ उनले भने, ‘ती राष्ट्रसेवक पनि त्यही समाजबाटै आएका हुन्, कोही राष्ट्रसेवक असल हुन्छन्, कोही कमसल त कोही मध्यम, सबैलाई एकैघानमा हेर्नु हुँदैन्, उनीहरूको पनि मानवअधिकार हुन्छ भन्ने बुझेर आफ्नो कर्तव्य पालना गर्नुपर्छ ।’ सबैले मानवअधिकारको पूर्णरूपमा पालना गरेपछि मानवअधिकारको संरक्षण आफै हुने भन्दै उनले आफ्नो अधिकारको माग गर्दा कानुनअनुसार सम्बन्धित निकायमा माग गर्न आग्रह गरे ।

बाँकेका प्रहरी प्रमुख रामप्रसाद घर्तिमगरले जिल्लाको शान्तिसुरक्षा, अमनचयन कायम तथा दण्डहीनताको अन्त्य गर्ने क्रममा तथा प्रहरीले प्रदान गर्ने सेवा प्रवाह गर्दा प्रहरी मानवअधिकारप्रति कटिबद्ध रहँदै आएको बताए । उनले मानवअधिकार सबैको बराबर हो भन्ने मान्यताका साथ यसको संरक्षण तथा सम्वद्र्धनमा प्रहरी सधैँ प्रतिबद्ध रहेको बताए । पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आयोगले कहिलेपनि राजनैतिक तथा अन्य दवाव तथा प्रभावमा परेर काम गर्न नहुने भन्दै पछिल्लो समयमा आयोगले चालेका कदम सकारात्मक भएको बताए । उनले पीडितले अनुभूति हुनेगरी आयोगले आफ्नो उपस्थिति जनाएर काम गर्नुपर्ने उल्लेख गरे ।

महिला अधिकारकर्मी निर्मला सुनारले समाजमा हुने अन्याय र अत्याचारका विरुद्धमा पीडितका पक्षमा स्वतन्त्र रूपले आयोगले आवाज उठाउनुपर्नेमा जोड दिइन् । समाज रुपान्तरणका लागि आयोगको ठूलो जिम्मेवारी रहेको बताइन् ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले आयोग स्थापना सजिलै नभएको भन्दै आयोग स्थापनाको माग गर्दै सडकमा आन्दोलन गरेका दिन स्मरण गरे । उनले स्थापनाका २५ वर्ष पुग्दै गर्दा कसरी आयोग गठन भयो ?, गठनका लागि कति मिहिनेत गर्नुप¥यो ? आजसम्म के कति कामहरू गर्न सकिए आदि विषयहरूमा समीक्षासमेत गरेर आयोग अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

मानवअधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्धारिका अधिकारीले तत्कालीन अवस्थामा निकै अप्ठ्यारो परिस्थितिकाबीच द्वन्द्वग्रस्त अवस्थामा आयोग स्थापना गरिएको स्मरण गरिन् । उनले विगतमा भन्दा अझै सक्रिय भएर आयोगले आगामी दिनहरूमा पीडितका पक्षमा काम गर्ने भन्दै यसका लागि सबै पक्षको साथ, सहयोग र सहकार्य जरुरी रहेको बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार