‘भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बन्दैछ’



दैलेख ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बन्दै गएको बताएका छन् । माओवादी केन्द्रले थालेको अभियान अन्तर्गत भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनेको उनको भनाइ छ । मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान अन्तर्गत आइतबार दैलेखको राकम कर्णाली पुुगेका उनले यस्तो बताएका हुन् । माओवादी केन्द्रले जनतासँगको सम्बन्ध सुदृढ गर्न भन्दै मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरेको छ ।

राकममा आयोजित जनसंवाद कार्यक्रममा उनले भने, ‘संघीयतालाई संरक्षण र प्रवद्र्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी पनि माओवादी केन्द्र नै हो । सुशासन प्रवद्र्धन गर्न र आवश्यकता परे भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान केन्द्रित छ ।’ मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको उनले दाबी गरे । मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल मात्रै नभई यो अभियान सामाजिक रूपान्तरणको अभियानसँग जोडिएको उनको तर्क छ ।

‘सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको थियो । अहिलेको अभियान त्यही राजनीतिक संघर्षको निरन्तरता हो,’ उनले थपे, ‘यो अभियानमा जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको हो । गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपाङ्ग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको छ ।’

कृषकहरूको मल र बीउको समस्या कसरी समाधान गर्ने, स्थानीय तहबाट समाजवाद निर्माणको पहल कसरी लिने र स्थानीय अर्थतन्त्र कसरी मजबुत बनाउने भन्ने विषयमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारहरूलाई नीतिगत रूपमा काम गर्न उनको निर्देशन छ ।

यसअघि पनि निर्देशन दिइसकेको उल्लेख गर्दै उक्त स्थानीय तहले आगामी बजेटमा यस्ता कार्यक्रमलाई सम्बोधन गर्ने उनले जानकारी दिए । यसैबीच उनले दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा रहेको पेट्रोलियम पदार्थको उत्खनन स्थलको समेत निरीक्षण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार