पर्सी रूकुम पश्चिम आउँदै प्रचण्ड



रूकुम पश्चिम ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पर्सी मंगलबार रूकुम पश्चिम आउने भएका छन् ।

‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ अन्तर्गतको कार्यक्रम अनुसार मंगलबार प्रचण्डसहितका माओवादी नेताहरू चौरजहारी आउने तय भएको नेकपा (माओवादी केन्द्र) रूकुम पश्चिमका संयोजक सचिन रोकाले जानकारी दिए ।

उनका अनुसार प्रचण्डले चौरजहारीमा हुने विशाल जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा आम जनसमुदायलाई सहभागी गराइने र प्रत्यक्ष रूपमा पूर्वप्रधानमन्त्री प्रचण्डसँग सहभागीले आफ्ना जिज्ञासा राख्ने संयोजक रोकाले बताए ।

नेकपा (माओवादी केन्द्र) रूकुम पश्चिमका इन्चार्ज वसन्त शर्मा (कुशल)ले अध्यक्ष प्रचण्डको कार्यक्रम ठाउँठाउँमा भएको हुँदा रूकुममा जनभेटघाटमा समेत व्यस्त रहने बताए । केन्द्रबाट नै अध्यक्ष प्रचण्डको कार्यक्रमको समय तालिका निर्धारित भएर आए अनुसार सोही अनुसारको कार्यक्रम आयोजना गरिएको इन्चार्ज शर्माले जानकारी दिए ।

‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’को तयारी तीव्र पारिएको नेकपा (माओवादी केन्द्र) रूकुम पश्चिमले जनाएको छ । चौरजहारीमा हुने विशाल आमसभामा हजारौँ मानिसहरूको उपस्थिती गराउनेगरी तयारी गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार