वीरेन्द्रनगर ।
कर्णालीमा दूध उत्पादन कृषक प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दूध उत्पादनमा कृषकलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
यो कार्यक्रमबाट हरेक वर्ष किसान लाभान्वित हुन थालेका हुन् । प्रदेश सरकारले दूध उत्पादन वृद्धि गर्न किसानलाई आर्थिक वर्ष २०७८-७९ देखि दूध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको छ । प्रदेश सरकारले सिधै किसानको खातामा प्रोत्साहन रकम जम्मा गरिदिन्छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न हिमाली जिल्लामा प्रतिलिटर १० रूपैयाँ र बाँकी जिल्लामा प्रतिलिटर पाँच रूपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।
प्रदेश सरकारले हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटका किसानलाई १० रूपैयाँ र सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रूकुम पश्चिमका किसानलाई प्रतिलिटर पाँच रूपैयाँ अनुदान दिँदै आएको हो । मन्त्रालयका सूचना अधिकारी तारा बराललका अनुसार पछिल्लो समय दूध उत्पादन वृद्धि हुँदै गएको र किसान पनि यस कार्यक्रमबाट लाभान्वित हुँदै गएका छन् ।
उनका अनुसार आर्थिक वर्ष २०७८-७९ मा १ हजार ५०० जना दूध उत्पादक किसान लाभान्वित भएका थिए । २ लाख ८२ हजार ७०० लिटर दूधमा २८ लाख २७ हजार भुक्तानी भएको थियो । यस्तै आर्थिक वर्ष २०७९-०८० मा ३ हजार ५३ जना किसान लाभान्वित भएका छन् । जसमा २३ लाख ५४ हजार ५६८ लिटर दूधमा अनुदान दिएको थियो ।
आर्थिक वर्ष २०८०-०८१ मा ३ हजार ७७६ जना किसान लाभन्वित भएका थिए । उक्त आवमा ३७ लाख ९१ हजार ४२९ दूध उत्पादन भएको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्ष २०८१-०८२ का लागि प्रदेश सरकारले १ करोड ३७ लाख ८ हजार रूपैयाँ विनियोजन गरेको छ ।








प्रतिक्रिया दिनुहोस्