काठमाडौँ ।
उच्च अदालत पाटनले डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का विवादमा सक्कल फाइल झिकाएको छ । न्यायाधीश खडानन्द तिवारी र प्रकाश खरेलको इजलासले ठेक्कासम्बन्धी बोलपत्र मूल्यांकनसम्बन्धी सक्कल फाइल अदालतमा पेस गर्न आदेश दिएको हो ।
मंगलबार जारी आदेशअनुसार उक्त फाइल आगामी शुक्रबार पेसीको दिन देखाइ फिर्ता लैजाने गरी पेस गर्न भनिएको छ । अर्को पेसी जेठ २ गतेका लागि तोकिएको छ । सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले ठेक्का मूल्यांकनमा त्रुटि भएको दाबी गर्दै वैशाख २२ मा रिट दायर गरेका थिए ।
न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले वैशाख २३ मा कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको थियो । रिट निवेदकको दाबीअनुसार जगदुल्ला कम्पनीले उनीहरूको प्राविधिक प्रस्ताव अयोग्य ठहर गर्नु सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६१ र ६२ विपरीत छ । साथै, प्राविधिक मूल्यांकनकै क्रममा आर्थिक प्रस्तावका विवरण सार्वजनिक हुनुले सम्पूर्ण प्रक्रिया औचित्यहीन भएको भन्दै त्यसलाई बदर गर्न अन्तरिम आदेशसमेत माग गरिएको छ ।
ठेक्काको प्रतिस्पर्धामा सामेल कम्पनीहरूमध्ये जियाङ्सी कन्स्ट्रक्सन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीले १३ अर्ब ७३ करोडमा प्रस्ताव दिएको थियो भने सिनो हाइड्रो कर्पोरेसनले १५ अर्ब ७ करोडको कबोल गरेको थियो । जगदुल्ला कम्पनीले सबैभन्दा कम रकम कबोल गर्ने जियाङ्सी–एएनके जेभीलाई ठेक्का दिने तयारी गरेको छ ।
यसअघि माघ ६ मा दोस्रोपटक ठेक्का आह्वान गरिएको थियो । पहिलोपटक जेठ २० मा आह्वान गरिएका ठेक्कामा सहभागी सातै कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत भएपछि पुस २२ मा प्रक्रिया रद्द गरिएको थियो ।
यो आयोजनाको फाइनान्सियल क्लोजर भएको थियो । नबिल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रूपैयाँ लगानी गरेको छ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।
एचआईडीसीएलले ४ अर्ब रूपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रूपैयाँ लगानी गर्नेछन् । यो आयोजना निर्माणका लागि २३ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रूपैयाँ ऋण र ७ अर्ब रूपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो । सिभिल र हाइड्रोमेकानिकल संरचनाका लागि करिब १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो वैशाख २८ गते पीपीए भएको हो । वर्खायाममा ४.८० रूपैयाँ र हिउँदमा ८.४० रूपैयाँमा पीपीए भएको छ । हिउँदको पिकिङको भने १०.५५ रूपैयाँ पाउनेछ । यो आयोजनाले ४ देखि ६ घण्टासम्म पिकिङ क्षमता छ ।
आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ । ९ वटा बेलिवृज गर्नुपर्छ । जसको काम सुरु भइसकेको कम्पनीले जनाएको छ । धेरैजसो पूर्वतयारीका कामहरू अन्तिम चरणमा रहेको बताइएको छ ।
यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्