नन्दराम जैशी । सुर्खेत ।
हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालयले चालू आर्थिक वर्षमा १५ लाखभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । ५ महिनापछि सञ्चालनमा आएको कार्यालयले यस वर्ष १५ लाखभन्दा बढी राजस्व संकलन हुने अनुमान गरेको हो । अत्यधिक चिसोका कारण गत मंसिर २५ गते यता बन्द भएको भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि काम कारबाही तीव्र पारेको छ ।
कार्यालय प्रमुख रामराज जैसीका अनुसार गत वर्ष १४ लाख बढी राजस्व संकलन गरेको भन्सारले यस वर्ष गत मंसिरसम्म ७ लाख बढी राजस्व संकलन गरिसकेको छ । गत वर्ष विभागले ५ लाख मात्रै राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा तेब्बर राजस्व संकलन भएको थियो । तर भन्सार नियमित सञ्चालन हुने हो भने बर्सेनि करोडौँ राजस्व संकलन गर्न सकिने उनले बताए ।
कार्यालय प्रमुख जैसीका अनुसार नेपाल–चीनको सीमा क्षेत्र हिल्साबाट भन्सारको सेवा सुरु भएको हो । गत मंसिरमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो । उनका अनुसार सदरमुकामबाट यारी नाका भन्सार कार्यालय पुग्न नारा लेक काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्णरुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।
नेपाल र चीनको सीमाना हुम्लाको हिल्सामा स्थापना भएको यारी नाका भन्सार वर्षमा ६ महिना मात्रै यो भन्सार खुल्छ । कतिपय समय चीनले आफूखुसी नाका खोल्ने र बन्द गर्ने गरेको कार्यालय प्रमुख जैसी बताउँछन् । उनका अनुसार भन्सार सञ्चालन भएको समयमा बिहान ९ देखि ११ र दिउँसो २ देखि ४ बजेसम्म नाका खुल्छ । नारा लेकसम्म यातायातका साधनमार्फत र त्यसबाट उता हिल्सासम्म पैदल हिँडेरै भएपनि व्यापारीहरु नाका पुग्ने गर्दछन् । उनीहरू चीनको ताक्लाकोटबाट सामान ल्याउँछन् ।
कार्यालय एक जना मात्रै स्थायी कर्मचारीको भरमा सञ्चालित भन्सारका सबै शाखा बर्षाँैदेखि ठप्प छन् भने अन्य सबै दरबन्दी रिक्त छ । कर्मचारीको दरबन्दी कायम गर्न सरकारको ध्यान पुगेको छैन् । प्रदेश र संघीय दुवै तहका सरकारको ध्यान नजाँदा यारी नाका भन्सार उपेक्षामा परेको छ ।
कार्यालय प्रमुख जैसीले अनलाइन सिस्टममा काम गर्नुपर्ने भएपनि भन्सार कार्यालयमा इन्टरनेटसमेत नभएको बताए । यसबारे पटकपटक विभागमा भन्दा सुनुवाइ नभएको उनको भनाइ छ । हिल्सामा २०७५ मा अध्यागमन कार्यालय स्थापना गरी भन्सार सञ्चालन गरिएको थियो । तर प्रदेश र संघीय दुवै तहका सरकारको ध्यान नजाँदा हाल यारी नाका भन्सार ओझेलमा छ । दुवै तहका सरकारले आवश्यक बजेट व्यवस्थापन गरी भन्सार सञ्चालनमा जोड दिन नसक्दा स्थापना भएको भन्सार कार्यालयसमेत बन्द हुने अवस्थामा पुगेको हो ।
यारी भन्सार नियमित सञ्चालन हुनसके हुम्लावासीलाई समान ढुवानीमा निकै सहज हुनेछ । हाल हुम्लामा सामान आयातका लागि यारी नाका एक मात्रै विकल्प पनि हो । तर हुम्ला सदरमुकाम सिमिकोटबाट भन्सार कार्यालयसम्म पुग्न न त सहज सडक छ । न त यातायात सेवा नै ।
भन्सारसम्म पुग्न तथा भन्सार सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा सरकारले जोड दिएको छैन । हालसम्म प्रदेश तथा संघीय सरकारको लगानीमा यारी भन्सार कार्यालयको आफ्नै भवनसमेत निर्माण हुन सकेको छैन । भन्सार कार्यालयसँगै सीमा प्रहरी बलको कार्यालय लगायतका अन्य मातहतका कार्यालय स्थापना गर्न पूर्वाधार विकासमा सरकारको ध्यान गएको छैन । यारी भन्सारमा पूर्वाधार विकासका लागि चीनसँग कुटनीतिक पहल भइरहेको भन्सार विभागले जनाएको छ ।
सीमा पास लिनेको घुँइचो
जिल्ला प्रशासन कार्यालय हुम्लामा सीमा पास लिने सेवाग्राहीको घुँइचो बढेको छ । जिल्लाको नाम्खा गाउँपालिका–५ को नारा लेकमा जमेको हिउँ पग्लिएपछि चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि जिल्लाबाट सीमा पास लिनेको सङ्ख्या बढेको हो ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीकी छिरिङकार्बु तामाङले पास नवीकरण गराउनका लागि लिमीबाट सदरमुकाम सिमकोट आएको बताइन् । पुरानो सीमा पासलाई नवीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा लाइनमा बसेकी उनले काम गर्न ताक्लाकोट जाने समय भइसकेकाले लिमीबाट ३ दिन हिँडेर सदरमुकाम पुगेको बताइन् । सीमा पास बनाएकाले अब सिधै ताक्लाकोट जाने उनको तयारी छ । पास तयार भएकाले अब ६ महिनाका लागि उनी ताक्लाकोट गएर काम गर्ने तयारी छ ।
लिमीमा बस्नेमध्ये ७० प्रतिशतले ताक्लाकोट पुगेर काम गर्ने गरेका छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले रोजगारीका लागि ताक्लाकोट मुख्य भएका कारण लिमीबाट सीमा पास बनाउनका लागि सिमकोट आउनेको सङ्ख्या बढेको बताए । अन्य देशमा जान नसक्ने लिमीका बेरोजगारहरू ताक्लाकोट गएर ६ देखि ८ महिनासम्म काम गरेर कमाउने र त्यसैबाट घरव्यवहार चलाउने गर्छन् ।
जसअनुसार हालसम्म जिल्ला प्रशासन कार्यालयबाट नयाँ सीमा पास लिनेको सङ्ख्या ५०० जना बढि पुगेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए । योे अवधिमा नवीकरण गर्ने सङ्ख्या ३०० बढी छ । मित्रराष्ट्र चीनको ताक्लाकोट जाने समय सुरु भएका कारण सीमा पास लिनेको घुइँचो लाग्ने गरेको हो । चीनले सीमा जोडिएका जिल्लाका स्थायी बासिन्दालाई सीमानाबाट ३० किलोमिटरसम्म सो पासका आधारमा प्रवेश हुन दिने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्