भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार जिल्लामै पहिलोपटक शनिबार कोहलपुर नगरपालिका वडा नम्बर १ का ११४ जना भूमिहीन सुकुम्वासी र भूमिहीन दलितले लालपुर्जा प्राप्त गरेका छन् । उनीहरूले ३ सय ४० वर्गमिटर अर्थात करिब १ कठ्ठा जमिनको जग्गाधनी पूर्जा पाएका हुन् ।
शुभाकर विश्वकर्मा/गणेश रावत । कोहलपुर (बाँके) ।
ब्यानरमा लेखिएको छ– ‘भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण कार्यक्रम’ अगाडीको मञ्चमा लहरै बसेका छन्, संघीय सरकारका मन्त्री, भूमि आयोग अध्यक्ष, संघीय र प्रदेश सांसददेखि जनप्रतिनिधिसम्म । शुभकामना सत्रको उत्तरार्धतिर आइपुग्दा कार्यक्रम सञ्चालक प्रियास्मृति ढकाल भन्छन्, ‘हाम्रो लामो समयको प्रतिक्षा घडी समाप्त भएको छ । अब हामी लालपुर्जा वितरणको कार्यक्रम सुरु गर्न गइरहेका छौँ ।’
अब जग्गाधनी प्रमाणपत्र ‐लालपुर्जा) वितरणका लागि आजका यस कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी ज्यूलाई अनुरोध गर्दछु । लालपुर्जा लिनका लागि खड्के दमाईलाई मञ्चतिर आउन अनुरोध गर्दछु । दर्शकदीर्घामा बसेका दमाई नाम सुन्ने बित्तिकै जुरुक्क उठ्छन्, शिरमा ढाका टोपी, सेती फूलेको कपाल, सेतो कमिज र कालो रङको इस्टकोट लगाएका उनी खुसी हुँदै मञ्चतर्फ लम्किन्छन् । अगाडि उभिएका मन्त्री अधिकारीले पहिला माला लगाइदिन्छन्, त्यसपछि हातमा थमाउँछन् लालपुर्जा । मन्त्रीको हातबाट लालपुर्जा पाउँदा उनी खुसी देखिन्थे । वर्षौँपछि उनको मुहारमा हर्ष छाएको प्रष्टै देखिन्थ्यो । जीवनमा पहिलोपटक उनले ठूला मान्छेसँग खुसी हुँदै फोटो खिचाए । त्यो अवसरमा जुराएको थियो, लालपुर्जाले ।
उनी मञ्चबाट बाहिर निस्कन पाएका थिएनन्, दमाईलाई मिडियाले समेत पछ्यायो । उनलाई सोधियो । लालपुर्जा प्राप्त गर्नुभयो ? कस्तो अनुभूति भइरहेको छ ? उनले सटिक उत्तर दिँदै भने, ‘एकदमै खुसी लागेको छ ।’ सायद उनले पहिलोपटक मिडिया फेस गरेका थिए । एकपछि अर्को प्रश्न गर्दा डरको भावमा उनी सानो स्वरमा उत्तर दिइरहेका थिए । दमाई ८० वर्षका भए । उनको पुख्र्यौली पेसा हो, सिलाइकटाइ । जिन्दगीको आधाभन्दा बढी समय उनले सिलाइ मेसिनसँग बिताए । त्यतिगरी बितेको थियो, उनको जीवन, लालपुर्जा बिना । उनको परिवार ठूलो छ । छोराछोरी कोही विदेशतिर छन्, कोही कालापहाड गएका छन्, बुढेसकालकी साहारा श्रीमती छिन् । सरकारले लालपुर्जा दिने भनेपछि उनले श्रीमतीलाई पनि सँगै लिएर आएका थिए । दुवै दम्पतिले सँगै भने, ‘सरकारले लालपुर्जा दिएको छ । अब मर्दापनि सुखले स्वास जाने भयो ।’ रुकुममा जन्मिएका दमाई ३६ वर्षदेखि लालपुर्जाविहीन थिए । आँखामा आँसु टिलपिल गर्दै उनले भने, ‘जीवनमा पहिलोपटक धेरै खुसी लागेको छ, लालापुर्जा पाउँदा ।’
शनिबार कोहलपुर–१ कै लक्ष्मीकुमारी दमाईलेसमेत जग्गाधनी प्रमाणपत्र प्राप्त गरिन् । लालपुर्जा प्राप्त गरेपछि उनले भनिन्, ‘वर्षौँदेखिको सपना पूरा भएको छ । सरकारले लालपुर्जा दिएको छ । मनैदेखि खुसी छु । अब मेरो सन्तानले दुःख नपाउने भए ।’ लक्ष्मीले भनेझैँ उनको जीवन दुःखैदुःखले भरिएको छ । एकल महिलासमेत रहेकी लक्ष्मी कालापहाड गएर मजदुरी गरेर सन्तानको पालनपोषण गर्दै आएकी छन् । उनको आमाबुवा दैलेखबाट २०४० सालतिर कोहलपुर झरेका थिए ।
उनी भने कोहलपुरमै जन्मिइन । कोहलपुरमै हुर्किइन्, बढिन् । यतै दिलबहादुर सार्कीसँग उनको विवाह भयो । तर, युवा अवस्थामै उनको सिउँदो पुछियो । उनका श्रीमानको पाँच वर्षअघि नै निधन भइसकेको छ । घरको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेकी लक्ष्मी भन्छिन्, ‘भारतमा कमाउन जान्छु । अहिलेसम्म हामीसँग जग्गा थिएन । सन्तानलाई हुर्काउन पढाउन समस्या थियो । अब सरकारले लालपुर्जा दिएको छ । आफ्नै नाममा जमिन हुने भएको छ । खुसी छु म ।’
कोहलपुर–११ स्थित भेरी शीत भण्डारमा लालपुर्जा प्राप्त गर्नेहरूको भीडमा फरक पहिरनमा उपस्थित भएकी थिइन्, चन्द्रकला नेपाली । एक महिना अघिको कुरा हो, उनले आफ्नो श्रीमान गुमाइन् । श्रीमान गुमाउनुको पीडा उनलाई बाहेक अरुलाई के थाहा होला । श्रीमानको अभाव, मनभित्रको दुःख उनको मुहारमा प्रष्टै झल्किन्थ्यो । सैतै पहिरनमा लालपुर्जा देखाउँदै उनले भनिन्, ‘लालपुर्जा पाउँदा खुसी लाग्यो । राम्रो लाग्यो ।’
एकातिर श्रीमान गुमाउँदाको पीडा अर्कातिर लालपुर्जा पाउँदाको खुसी । उनी मुस्कुराउँदा दाँत भित्रको फाटो दुरी प्रष्टै देखिन्थ्यो । उनका श्रीमान बितेको ३५ दिनपनि पुगेको छैन । छोरा विदेशमा छन् । उनले श्रीमानसँगको विगत र छोराको भविष्य लालपुर्जासँगै संगालेकी छन् ।
सरकारबाट लालपुर्जा पाउँदा कोहलपुर–१ का दलबहादुर दमाईपनि कम्ता खुसी देखिन्थेनन् । उनी त्यहाँ विगत दश वर्षदेखि बसोबास गर्दै आएका छन् । लालपुर्जा पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताए । दमाईका अनुसार स्थानीय सरकारले वर्षौँदेखि भूमिहीन अवस्थामा रहेका दलितहरूको घरमा खुसीको बहार ल्याइदिएको छ । उनले आफूहरूलाई लालपुर्जा उपलब्ध गराएकोमा सरकारलाई धन्यावाद प्रकट गरे ।
यतिमात्रै होइन, भुपेन्द्र दमाई र कमला दमाईपनि जग्गााको धनी भएका छन् । उनीहरू श्रीमान श्रीमती हुन् । अब ३४० वर्गमीटर जग्गाका श्रीमान श्रीमती दुवैको संयुक्त हक हुनेछ । अहिलेको सरकारले दमाई दम्पतिलाई अभूतपूर्व खुसी दिएको छ । उनीहरू भन्छन्, ‘यति खुसी त हामी विवाह गर्दासमेत भएका थिएनौँ । अहिलेसम्म भूमिहीन अवस्थामा थियौँ । अबभने जग्गाको धनी भएका छौँ । हाम्रो लागि यो निकै खुसीको कुरा हो । सरकारले दलितको पक्षमा काम गरेको अनुभूति भएको छ ।’
लालपुर्जा प्राप्त गर्नेहरूको सुचीमा छन्, लक्ष्मीबहादुर महत र कमलादेवी महत । उनीहरूले भूमिहीन सुकुम्वासीको रूपमा लालपुर्जा प्राप्त गरे । लालपुर्जा प्राप्त गरेपछि गहभरी आँसु पार्दै मिसन टुडेसँग भनिन्, ‘आज सरकारले लालपुर्जा दियो । धेरै खुसी लागेको छ । दुःखीका पनि दिन आउँछन्, भन्थे हो रैछ । सरकारले हाम्रो वर्षौँदेखिको माग पूरा गरेको छ ।’
माथि उल्लेखित त प्रतिनिधि पात्र मात्रै हुन् । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार जिल्लामै पहिलोपटक शनिबार कोहलपुर नगरपालिका वडा नम्बर १ का ११४ जना भूमिहीन सुकुम्वासी र भूमिहीन दलितले लालपुर्जा प्राप्त गरेका छन् । उनीहरूले ३ सय ४० वर्गमिटर अर्थात करिब १ कठ्ठा जमिनको जग्गाधनी पूर्जा पाएका हुन् ।
लालपुर्जा प्रदान गर्ने लुम्बिनीमै पहिलो बन्यो कोहलपुर
वर्तमान सरकार गठनपछि बनेको भूमि समस्या समाधान आयोगमार्फत लुम्बिनी प्रदेशमै पहिलोपटक बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ मा लालपुर्जा वितरण गरिएको छ । समग्र देशभरकै हिसाबमा बाँके चौथो जिल्ला हो । प्रदेशअन्तर्गत लुम्बिनी प्रदेशमा पहिलो जिल्ला बाँके र बाँके जिल्लामै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने पहिलो स्थानीय तह बनेको छ कोहलपुर ।
संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका अनुसार वर्तमान सरकार गठन भएपछि बनेको शक्तिशाली आयोगद्वारा यसअघि तीन जिल्लामा लालपुर्जा वितरण सुरु भइसकेको छ । उनले बाँकेको कोहलपुरभन्दा पहिला चितवन, मकवानपुर र सुनसरीमा लालपुर्जा वितरण गरिएको बताए । ‘यो सरकारले जनताको पक्षमा काम गरिरहेको छ । सरकारको मुख्य उद्देश्य नै भूमिहीन नागरिकलाई जग्गाधनी पुर्जा वितरण गर्नु हो । सोही अनुसार मन्त्रालय र आयोग लागिपरेका छन् । आजको कार्यक्रम त्यसैको उपज हो ।’ मन्त्री अधिकारीले भनेका थिए ।
भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालका अनुसार लुम्बिनी प्रदेशमा भूमिसम्बन्धी सबैभन्दा धेरै समस्या भएका चार स्थानीय तहमध्ये कोहलपुर र जिल्लागत रूपमा बाँकेपनि छ । तुल्सीपुर, घोराही र बुटवलपछि कोहलपुरमा समस्या रहेपनि यहाँका सरोकारवाला, स्थानीय सरकार, जिल्लाको आयोग र राजनीतिक दलको समन्वय र सहकार्यका कारण लुम्बिनी प्रदेशमै पहिलोपटक कोहलपुरमा लालपुर्जा वितरण गर्न सम्भव भएको उनको भनाइ छ । ‘यो राष्ट्रिय गौरवको अभियान हो । सोही अनुसार आयोगले देशभर लालपुर्जा वितरण सुरु गरेको छ । हाम्रै पालामा भूमि समस्या समाधान गर्नेगरी हामी खटिएका छौँ,’ अध्यक्ष रिजालले भने ।
भूमि समस्या समाधान आयोगका केन्द्रीय सदस्य अनिल कृष्ण पछाई आयोगले देशभरका १४ लाख जनालाई पुर्जा वितरण गर्ने लक्ष्य लिएको बताएका थिए । प्रतिनिधि सभा सदस्य सूर्य ढकालले लालपुर्जा वितरण सुरु गर्नु सकारात्मक सन्देश भएको उल्लेख गरे । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले अहिलेपनि विभिन्न जटिलता रहेकोले सरकारले तत्काल समाधान गर्नुपर्ने धारणा राखेका थिए ।
स्थानीय सरकारको सक्रियतामा जनपक्षीय कामको सुरुवात भएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको भनाइ थियो । उनले भने, ‘जनपक्षीय कामको सुरूवात भएको छ । यो केवल शुभारम्भ हो । अन्त्य होइन ।’ सिंगो कोहलपुर नगरपालिकाबाट लालपुर्जाका लागि १७ हजार ६१५ जनाले आवेदन फारम दर्ता गराएका छन् । भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण कार्यक्रम भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिका बाँकेको व्यवस्थापनमा सम्पन्न भएको हो ।









प्रतिक्रिया दिनुहोस्