वीरेन्द्रनगर ।
सुर्खेतलाई कैलाली र अछाम जिल्लासँग जोड्न कर्णाली नदीमा पक्की पुल बनाउन सुरु गरिएको छ ।
सुर्खेतको चौकुने गाउँपालिका–२ धम्मु र कैलालीको मोहन्याल गाउँपालिका–२ कोल्तडी जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण थालिएको हो । कैलाली र सुर्खेत जोड्ने पुल निर्माणको काम अहिले भइरहेको मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँदले बताए । उनका अनुसार ३ वर्ष अगाडी नै सम्झौता भएको पुल सडक असहजताका कारण निर्माण सुरु हुन सकेको थिएन । पुल निर्माणका लागि ठूला मेशिनरी सामग्री ढुवानीमा कठिनाई हुँदा केही ढिला भएको भन्ने जानकारी पाएको उनले बताए ।
उनका अनुसार पूर्व पश्चिम राजमार्गको कैलालीको जोशीपुर गाउँपालिकास्थित बौनियाबाट सुरु हुने सेती राजमार्गको ट्रयाक खुलेको र सडक चौडा पार्ने काम अन्तिम चरणमा छ । त्यही रुटबाट आवश्यक सामग्री ढुवानी गरेर समयमै काम सक्ने गरी पुल निर्माण व्यवसायीबाट आश्वासन पाएको उनले बताए । अनक कन्ट्रक्शनले निर्माण जिम्मा पाएको पुलको लागत ५५ करोड ४० लाख रहेको सेती राजमार्ग दक्षिण खण्ड टिकापुर–लोडे–चैनपुर सडक योजना साँफेबगर अछामले जनाएको छ । २१ मंसिर २०७९ मा सम्झौता गरिएको पुल निर्माणको अवधि २१ भदौ २०८३ रहेको छ । कर्णाली नदीमा पक्की पुल निर्माण हुन थालेपछि चौकुने गाउँपालिका–२ धम्मु र दानीगौडाका नागरिकहरूलाई वारपार गर्न सहज हुनेछ । यी दुई गाउँमा झण्डै ५० घरधुरी छन् । कक्षा पाँचसम्म धम्मुमा पढाइ हुन्छ भने बाँकी शिक्षा लिन यहाँका विद्यार्थीहरू जोखिमका यात्रा तय गरेर मोहन्याल गाउँपालिका–२ कोल्तडीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन् ।
यता अछाम जिल्लासँग जोड्न जंगलाघाटमा पक्की पुल निर्माणको काम जारी छ । पञ्चपुरी नगरपालिका सुर्खेत र तुर्माखाँद गाउँपालिका अछामको सीमानामा पर्ने जंगलाघाटको कर्णाली नदीमा पक्की पुल निर्माण भइरहेको पुल सेक्टर कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि ८ साउन २०७८ मै सम्झौता गरिएको हो । तर पुलको डिजाइन र निर्माण दुवै निर्माण व्यवसायीले गर्नेगरी सम्झौता गरेकाले निर्माण थालनीमा थोरै ढिलाई भएपनि अहिले काम भइरहेको इन्जिनियर भट्टराई बताउँछन् ।
सम्झौताअनुसार ३६ महिनामा पुल निर्माण गरिसक्नुपर्ने हो । तर पुल निर्माणका लागि आवश्यक ठूला मेशीनरी सामग्री ढुवानी गर्न सुर्खेततर्फको सडक साँघुरो छ । अछामतर्फबाट सामान पुल निर्माण स्थलमा पु¥याएर काम भइरहेको छ । १० कार्तिक २०८३ सम्ममा कर्णाली नदीमा पुक्की पुल निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ ।
१६ करोड ५८ लाख ६४ हजार लागत रहेको यो पुल निर्माणको जिम्मा लामा कन्ट्रक्शन प्रालि काठमाडौँले लिएको छ । निर्माण व्यवसायीले पञ्चपुरी नगरपालिकालाई मेशिन ढुवानी गर्दा मोड साँघुरो भएकाले फराकिलो बनाइदिन अनुरोध गरेपनि नगरपालिकाले वास्ता नगर्दा काममा ढिलाइ भएको निर्माण व्यवसायीको गुनासो छ ।
दोबाटोबाट छाप्रे हुँदै जंगलाघाट पुक्ने अधिकांश मोड साँघुरा रहेको र कटिङ गर्न बजेटको खोजी गर्दा जुटाउन नसक्दा आगामी आर्थिक वर्षमा प्रदेशलाई प्राथमिकतामा राखिदिन अनुरोध गरिएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालबहादुर भण्डारी बताए । जंगलाघाटमा पक्की पुल निर्माणपछि अछाम, बाजुरा लगायतका नागरिकहरू यही सडक भएर कैलाली आउजाउ गर्न सहज हुनेछ । तर यी दुवै पुल तोकिएको समयमा निर्माण हुने सम्भावना न्यून रहेपनि निर्माण कार्य तीव्र गतिमा भइरहेकाले स्थानीय आशावादी रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्