तिम्रो नैतिकता गुम्यो सब गुम्यो सर्वाङ्ग नाङ्गै भयौ
हाम्रा मान लुट्यौ चुट्यौ दिनदिनै आफू त मस्तै रह्यौ
हामी शिक्षक दूरका सडकमा व्यर्थै उतार्यौ किन
छर्थ्यौँ ज्योति सधैँ , जलेर सहसा हाम्रै दुखायौ मन
हामी आज सगर्वले सडकमा बोल्दा सुनेनौ अझै
पीडा शिक्षकका सुनाइरहँदा मन्मा गुनेनौ कतै
बारम्बार यहाँ भुलाइरहने तिम्रो कला देखियो
हस्ती हौँ सिपका हजार लयका गाथा स्वयम् लेखियो
हाम्रा पौरखले विदेश भरियो हाम्रा युवा छन् उहाँ
पौख्यौँ रक्त र स्वेद यो मुलुकमा जाऊँ र हामी कहाँ
हाम्रो न्याय दिलाउने मुलुकका हाम्रै उपज् हौ तिमी
शिक्षा ऐन विधान लेख्न नसके छोडेर जाऊ तिमी
हामी बेगरमा गरेर तिमीले सक्छौ र के सोच्दछौ
हामी चेतनशील हौँ , नकचरा बन्दै कति पेल्दछौ
हाम्रा माग पूरा गरे मुलुकको सर्वस्व के जान्छ र रु
हामीले नगरे परीक्षण कुनै आएर को धान्छ ररु
भोको पेट लिएर सक्छ कसले बाली उमार्न भन
हाँसो छैन त ओठमा गुरुहरू सक्छन् र हाँसो दिन
घुम्ने मेच भयो बसेर त्यसमा चौतर्फ हेर्ने गर
आफैँ योग्य बनेर गर्न नसके छोडेर जाऊ घर









प्रतिक्रिया दिनुहोस्