डडेल्धुरा ।
विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरू घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो ।
विसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन् । विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित करुणाकर अवस्थी बताउँछन् ।
चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ । पाटन नगरपालिका–१० का सीता भट्टले लगभग तीन घण्टा हिँडेर कमेरो र रातोमाटो ल्याइ घर लिपेको बताए । पछिल्लो समयमा घर निर्माणमा सिमेन्टको प्रयोग बढ्न थालेपछि कमेरो र रातोमाटोको प्रयोग पनि घट्दै गएको उनको भनाइ छ ।
नयाँ वर्ष तथा विसु पर्वमा भारत गएकाहरू घर फर्किन चलन छ । उनीहरूको आगमनले गाउँमा चहलपहल पनि बढेको उनले बताइन् । विसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ । विसु तिहारकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) खाने चलन छ ।
विसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कन्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने प्रचलन पनि छ ।
चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको पाटन–८ का लक्ष्मी भट्टले बताइन् । ‘बरु बडादसँैका बेलामा खासै लिपपोत गर्दैनौँ, तर चैतमा त जसरी नी लिप्नुपर्छ । कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने चलन छ’ उनले भनिन्, ‘अब यो चलन कम होला जस्तो छ, धेरैजसोले पुराना घरमा लगाएको माटो उप्काएर सिमेन्ट लगाएका छन् ।’









प्रतिक्रिया दिनुहोस्