कर्णालीमा फैलिँदै संगठित अपराधको जाल



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशमा पछिल्लो समय अपराधिक घटना बढ्दै गएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार अपराधिक घटना बढ्दै गएपछि शान्ति सुरक्षामा समेत असर पर्न थालेको छ । विगत ४ वर्षमा मात्रै कर्णालीमा ६ हजार ३८० अपराधका घटना प्रहरीसम्म आइपुगेका छन् । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८-०७९ मा कर्णालीभर १ हजार ५४० अपराधिक घटना घटेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा १ हजार ७५७ अपराधका घटना प्रहरीमा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०८०-०८१ मा २ हजार २० घटना घट्दा चालू आर्थिक वर्षमा ११ सय बढि अपराधका घटना घटेको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरीको तथ्यांक अनुसार आत्महत्या सम्बन्धी अपराधका घटना धेरै हुने गरेको पाइएको छ । पछिल्लो ४ वर्षको अवधीमा कर्णाली प्रदेशका १० जिल्लामा १ हजार १९२ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्या सम्बन्धी अपराधका घटना सबैभन्दा धेरै सुर्खेतमा ३९३ र सबैभन्दा कम डोल्पामा ५ घटना भएका छन् ।

यस्तै दैलेखमा २६४, रूकुमपश्चिममा १०४, सल्यानमा १७१, जाजरकोटमा ८०, जुम्लामा ३३, हुम्लामा १४, मुगुमा ७६ र कालिकोटमा ५२ वटा आत्महत्याको घटना भएका छन् । आत्महत्या अन्तर्गत विष सेवन, आगो लगाएर, झुण्डिएर, ऐसिड सेवन, हातहतियार औजारबाट र पानीमा हाम फालेर वा डुबेर आत्महत्याका घटना भएका छन् । सबैभन्दा धेरै झुण्डिएर ९०४ वटा आत्महत्याका घटना भएको छ । कर्णालीमा सामाजिक अपराधका घटना हुनेक्रम पनि बढ्दो क्रममा छ ।
पछिल्लो समय कर्णाली प्रदेशमा सामाजिक अपराधका घटना पनि बढ्दो क्रममा छन् । तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा पछिल्लो ४ वर्षको अवधीमा ८०३ वटा सामाजिक अपराधका घटनाहरू भएका छन् । पछिल्लो आर्थिक वर्ष २०८१-०८२ को माघ महिनासम्ममा १२३ वटा सामाजिक अपराधका घटनाहरू भएका छन् ।

यस्तै आर्थिक वर्ष २०८०-०८१ मा २६६ वटा, आर्थिक वर्ष २०७९-०८० मा १९१ र २०७८-०७९ मा २२६ वटा सामाजिक अपराधका घटनाहरू भएका थिए । ४ वर्षमा सामाजिक अपराधका घटनाहरू सबैभन्दा धेरै सुर्खेतमा ३३३ र सबैभन्दा कम हुम्लामा ९ वटा भएका छन् । सामाजिक अपराध अन्तर्गत धर्म परिवर्तन, राज्य विरुद्वको अपराध, जातीय भेदभाव तथा छुवाछुत, आवश्यक वस्तु संरक्षण ऐन, कुटपिट अंगभंग, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर लगायत छन् ।

संगठित अपराधका घटना बढ्दै

कर्णालीमा संगठित तथा आर्थिक अपराधका घटना पनि बढ्दै गएका छन् । प्रदेशभर ४ वर्षमा ६१३ वटा संगठित तथा आर्थिक अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७८-०७९ मा १४४ वटा संगठित तथा आर्थिक अपराधका घटना भएका थिए । यस्तै २०७९-०८० मा १७१ वटा, आर्थिक वर्ष ०८०-०८१ मा १६६ वटा संगठित तथा आर्थिक अपराध भएका थिए । आर्थिक वर्ष २०८१-०८२ को माघ महिनासम्म १३२ वटा संगठित तथा आर्थिक अपराध भएका छन् । प्रहरीमा उपलब्ध तथ्यांकलाई हेर्दा संगठित तथा आर्थिक अपराधमा लागूऔषध कारोबारका घटना सबैभन्दा धेरै देखिन्छ ।

कर्णाली प्रदेश प्रहरीका अनुसार आत्महत्या, लागूऔषध ओसार प्रसार, जवरजस्ती करणी, बैंकिङ कसुरका घटना बढी हुने गरेका छन् । पैसा छिटो कमाउने उद्देश्यले जानेर वा नजानेर अपराधका घटनामा संलग्नता बढेको देखिन्छ । पछिल्लो ४ वर्षमा ३९१ जना लागूऔषध कारोबारको आरोपमा संलग्न भएको पाइएको छ ।

आर्थिक वर्ष २०८१-०८२ मा ७६ जना, आर्थिक वर्ष २०८०-०८१ मा १०२, आर्थिक वर्ष २०७९-०८० मा ११३ र आर्थिक वर्ष २०७८-०७९ मा ९५ जना लागूऔषध कारोबारको आरोपमा संलग्न भएका थिए । जुवा खेल्न वा सट्टाबाजी, मुद्रा सम्बन्धी कसुर, ठगी, लागूऔषध, कालो बजार, चन्दा संकलन, सरकारी छाप दस्तखत किर्ते, अपहरण वा शरीर बन्धक सम्बन्धी कसुर, हातहतियार खरखजना सम्बन्धी मुद्दालाई प्रहरीले संगठित तथा आर्थिक अपराध उल्लेख गरेको छ ।

कर्णालीमा साधारण र नकबाजी चोरीका घटना पनि बढ्दै गएका छन् । पछिल्ला ४ वर्षको अवधिमा २६४ चोरीका घटना भएको प्रहरीको तथ्यांक छ । जसमा १६२ साधारण चोरी, ५३ डाँका चोरी, ३७ नकबजनी चोरी, ९ सवारी चोरी, १ पुरातात्विक चोरी र २ चौपाया चोरीका घटना प्रहरीमा दर्ता भएका छन् ।

यस्तै मानव बेचविखन ओसारप्रसारका १७, बहुविवाह २४४, बालविवाह ३२, जवरजस्ती करणी ६५७, जवरजस्ती करणी उद्योग १४७, अप्राकृतिक मैथुन ४, बालयौन दुराचार २९, यौन दुव्र्यवहार ९, बोक्सीको आरोप ४ र बालहिंसाका घटना ३ वटा प्रहरी समक्ष आइपुगेका छन् । ४ वर्षको अवधीमा ६०५ वटा बैंकिङ कसुर सम्बन्धीका मुद्दा दर्ता भएका छन् । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका ३५६ उजुरी परेको प्रहरी तथ्यांकमा उल्लेख छ । कर्णालीमा सवारी दुर्घटनाका घटना पनि बढेको छ । ४ वर्षमा प्रदेशभर २३७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । भने सवारी दुर्घटनाबाट ११६ जना अंगभंग भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २४ गते आइतबार