वीरेन्द्रनगर ।
कर्णाली प्रदेश सरकारले सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा बेसार उद्योग स्थापनामा लगानी गरेको १८ लाख रूपैयाँ डुबेको छ । आर्थिक वर्ष २०७६–०७७ मा प्रदेश सरकारले बेसार उद्योग स्थापनाका लागि भन्दै कृषि निर्देशनालयमार्फत् १८ लाख रूपैयाँ लगानी गरेको थियो । उक्त उद्योग स्थापनाका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो । तर उद्योग चलाउनका लागि भन्दै कम्पनीले १८ लाख भुक्तानी लिइसकेको छ । १८ लाख लगानी गरेको प्रदेश सरकारले त्यतिबेला बेसार उद्योगबाट स्थानीय नागरिकले रोजगारी पाउने अपेक्षा गरेको थियो ।
उद्योग स्थापनाका लागि नीजि क्षेत्र र सरकारी क्षेत्रले संयुक्त रूपमा लगानी गरेका थिए । तर हाल उद्योगका लागि भवन मात्रै बनेको छ । भेरीगंगामा बनेको उद्योग सञ्चालन हुने वा नहुने अन्योल छ । स्थानीय गोकुल रानाले उक्त कम्पनीमा सेयर लगानीमार्फत् भन्दै ३ लाख रूपैयाँ लगानी गरेका छन् । उनीसहित ८ जनाले कम्पनीमा झण्डै १२ लाख रूपैयाँ लगानी गरेको थिए । तर लगानी डुुबेको छ ।
२०७२ सालमा उद्योग स्थापनाका लागि स्थानीयबासी तथा जग्गाधनी रत्न रानाले ६ रोपनी जग्गा दिएका थिए । यो जग्गामा भवन बनेको लामो समय भइसकेको छ । तर उद्योग सञ्चालनको कुनै टुुंगो छैन । यो भवनमा अहिले कुनैपनि सामान नरहेको उनले बताए । न सेयर वापतको रकम फिर्ता भएको छ, न त कम्पनी सञ्चालक नै यहाँ आएका छन् ।
कम्पनीका सञ्चालक भक्तबहादुर शाहले अब आफूले कम्पनी सञ्चालन गर्न नसक्ने बताए । उतिबेला हाई भ्यालुले भवन निर्माणका लागि भनेर ३० लाख रूपैयाँ दिने भनेपनि समयमा प्राविधिक रिपोर्ट नदिएका कारण एक रूपैयाँ नपाएको उनको भनाइ छ । प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने भनेपनि १८ लाख मात्रै भुक्तानी दिएको उनले बताए ।
‘सेयर खरिदकर्ताले पनि पैसा नदिएका कारण उद्योग सञ्चालन गर्न सकिएन । अब उद्योग सञ्चालन गर्ने जिम्मा प्रमुख साझेदार चार्टड एण्ड इन्भेष्टमेन्ट प्रालि काठमाडौँलाई दिइने छ,’ उनले भने, ‘उद्योग सञ्चालन गर्न अब म असमर्थ छु । सरकारले लगानी गर्ने भनेका कारण मैले पनि लगानी गरेँ । तर सरकार पक्षबाटै सहयोग भएन ।’
शाह जाजरकोटबाट तत्कालीन माओवादीबाट निर्वाचित संविधान सभा सदस्य समेत हुन् । उनी हाल डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति)मा आबद्ध छन् । उनको कम्पनी कुशे मिनरल साइन हर्बल प्रालि जाजरकोटले भेरीगंगामा बेसार उद्योग खोल्ने भनेर प्रदेश सरकारसँग सम्झौता गरेर १८ लाख भुक्तानी लिएको थियो ।
हाल उद्योगका लागि भनेर बनाइएको भवन जीर्ण बनेको छ । भने उद्योगको गेटमा ताला झुण्डिएको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले यो वर्ष त्यस्ता उद्योगमा लगानी गर्न कुनै कार्यक्रम नभएको बताए । यो वर्ष लगानी गर्न नसकिने भन्दै यस विषयमा आफूले थप बुझ्ने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्