नेपाली बजारमा लीपमोटर टी–०३ लन्च, नेपालगन्जबाट समेत बिक्रीको तयारी



काठमाडौँ ।

नेपाली बजारमा लीपमोटर टी–०३ बिक्री सुरू भएको छ । मंगलबार काठमाडौँमा एक विशेष समारोहका बीच लिपमोटर टि–०३ को आधिकारिक रूपमा लन्च गरिएको थियो । मंगलबारदेखि नै साँग्रिला मोटर्सले लीपमोटरको टी–०३ ह्याचव्याकको मूल्य २८ लाख ९९ हजार रूपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

कार्यक्रममा साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे । ‘हामी लिपमोटर टि–०३ नेपालमा प्रस्तुत गर्न उत्साहित छौँ, दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ’ उनले भने ।

लीपमोटर टी–०३ मा ३७ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ । यसले एक पटकको फुलचार्जमा करिब २७० किलोमिटरसम्म रेन्ज दिन्छ । लीपमोटर टी–०३ मा ‘आईफ्लाई टेक ३.० भोइस इन्टरएक्सन सिस्टम’ दिइएको छ । उक्त भोइस एसिस्टेन्सको सहयोगले फोनकल, नेभिगेसन, मिडिया र अन्य केही फिचर ह्याड्स फ्रीमै कन्ट्रोल गर्न सकिन्छ । क्लासिक डिजाइनमा उपलब्ध टी–०३ लीपमोटरको ‘प्रोपाइटरी इलेक्ट्री फिकेसन च्यासिस टेक्नोलोजी’मा आधारित छ । यसमा ९३ प्रतिशत हाइ इफिसीयन्सी मोटर रहेको कम्पनीको दावी छ ।

‘फोर इन वान इन्ट्रीग्रेटेड इलेक्ट्रीक कन्ट्रोल सिस्टम’ रहेको टी–०३ मा कम भेहिकल तौलमा नै इन्टेरियर स्पेश पाउन सकिन्छ । लीपमोटरले यसलाई इको, स्ट्याण्डर्ड र स्पोट्स गरी तीन ड्राइभिङ मोड दिएर तयार पारेको हो ।

यस्तै नेपालगन्ज क्षेत्रको लागि लीपमोटरको आधिकारिक बिक्रेता स्वस्तिका अटो गनापुरले केही दिनमै लीपमोटर टी–०३ बिक्री सुरु गर्ने जनाएको छ । स्वस्तिका अटोका एक अधिकारीले मिसन टुडेसँग मंगलबार कुराकानी गर्दै सार्वजनिक भएको लीपमोटर टी–०३ नेपालगन्जमा केही समयमै लन्च गरेर बिक्री सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । लीपमोटरका अन्य सवारीहरू हाल यस क्षेत्रमा स्वस्तिका अटो गनापुर बिक्री गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार