‘खोज पत्रकारिताले नीति निर्माणमा सघाउ पुग्छ’



सुर्खेत ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खोज पत्रकारिताले राज्यको नीति निर्माणमा सघाउ पुग्ने बताए । शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ३ दिने खोज पत्रकारिता तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘समाजका हरेक समस्या उजागर गर्न खोज पत्रकारिता आवश्यक छ । तथ्यमा रहेर गरिने अध्ययन पश्चात आउने नतिजाले राज्यलाई नीति निर्माणमा सघाउ पुग्छ’ उनले भने, ‘राज्यको चौथो अङ्ग मानिने पत्रकारिताले समाजलाई सही मार्गमा ल्याउन वास्तविक समस्या उजागरमा जिम्मेवार बन्नुपर्ने देखिन्छ ।’

पछिल्लो समय आमनागरिकमा देशमा केही पनि भएन भन्ने भाष्य परेको उल्लेख गर्दै मन्त्री भण्डारीले यसलाई चिर्न पत्रकार जगतले विशेष भूमिका खेल्नुपर्ने तर्क गरे । सरकारले अपेक्षा गरे अनुसार काम गर्न नसकेपनि कामै गरेको छैन भन्ने गलत भाष्यले समाज निराशाको दिशातर्फ धकेलिने उनको भनाइ छ ।

खोज पत्रकारिता गर्दा आउने चुनौतीबाट पत्रकार विचलित हुन नहुने भन्दै मन्त्री भण्डारीले तालिम लिएर मात्रै नहुुने भएकाले यसका लागि भित्रैदेखि रुचि हुनुपर्ने उल्लेख गरे । सम्बन्ध नेपालको आयोजनामा शुक्रबारदेखि सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।

उक्त तालिममा कर्णाली प्रदेशका २४ जना पत्रकारहरूको सहभागिता रहेको छ । तालिममा कर्णालीमा खोज पत्रकारिताको अभ्यास र अवसरबारे छलफल गरिनेछ । यस्तै खोज समाचारका स्रोत र संरचना, खोज समाचारमा भाषा, खोज समाचारको तयारी, खोज पत्रकारमा हुनुपर्ने गुण र ध्यान दिनुपर्ने विषय, सूचनाको हक र सूचना माग्ने प्रक्रियाबारे पत्रकारहरूलाई अभिमुखीकरण गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार