बर्दिया ।
हुलाकी सडक अन्तर्गत ठाकुरबाबा नगरपालिका–३, बगनाहा बजार नजिकै भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य एकजना गम्भीर घाइते भएका छन् । बगनाहाको चुरे क्याम्पस जाने बाटोको कल्भर्ट नजिकै अटो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँले जनाएको छ ।
भुरीगाउँबाट बनकट्टीतर्फ जाने क्रममा भे१२प ११०८ नम्बरको मोटरसाइकल र भे१स ८६३२ नम्बरको अटो आपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका–५, बनकट्टी निवासी ५८ वर्षीय दरवारीया थारूको ज्यान गएको हो । दुर्घटनामा सोही ठाउँका मोटरसाइकल चालक ६० वर्षीय माक्खुराम थारू गम्भीर घाइते भएका छन् ।
स्थानीय र प्रहरीले दुर्घटनालगत्तै उनीहरूलाई उद्दार गरेर ठाकुरबाबा आधारभूत नगर अस्पताल पु¥याएपनि दरवारीयालाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार गम्भीर घाइते मोटरसाइकल चालक माक्खुरामको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ । अटो चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्