कैलाली ।
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको नेता बनाउने निर्देशन केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । ०८१ असार १२ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले प्रदेश इञ्चार्ज गिरीराजमणि पोखरेललाई लिखित निर्देशन दिँदै भट्टलाई दलको नेता बनाउन भनेका थिए । उक्त निर्देशन सात महिनासम्म पनि कार्यान्वयन नभएपछि केन्द्रीय समितिको छैठौँ बैठकले उक्त निर्देशन अनुमोदन गरेको हो ।
‘मिति २०८१–३–१२ चलानी नम्बर २४४ को यस केन्द्रीय कार्यालयबाट सुदूरपश्चिम प्रदेश सभा दल नेता सम्बन्धी जारी गरिएको निर्देशनलाई केन्द्रीय समितिको छैठौँ पूर्ण बैठक (पुस २१–२३) ले अनुमोदन गरेको हुँदा उक्त निर्णयाई यथाशीघ्र कार्यान्वयन गर्न-गराउन निर्देशन गरिएको छ,’ मंगलबार अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले सुदूरपश्चिम इञ्चार्ज पोखरेललाई पठाएको सर्कुलरमा भनिएको छ ।
यता माओवादी केन्द्र सुदूरपश्चिमका इञ्चार्ज पोखरेलले खगराजलाई दल नेता बनाउने सर्कुलर प्रक्रियागत ढंगबाट संसदीय दलबाटै कार्यान्वयन हुने अपेक्षा गरेको बताए । ‘पार्टीको सोच खगराजलाई दल नेता बनाउने देखिएको छ,’ उनले भने, ‘यसअघि स्थायी कमिटीले पनि सो निर्णय गरेको थियो । अहिले केन्द्रीय समितिमा पनि कुरा उठेपछि खगराजलाई दल नेता बनाउने निर्णय अनुमोदन गरिएको छ । अब त कार्यान्वयन हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’
नेकपा माओवादी (केन्द्र) सुदूरपश्चिम संसदीय दलमा एक वर्षदेखि विवाद छ । १२ माघ २०८० मा संसदीय दलको नेताबाट खगराजलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरिएपछि माओवादी भित्रको विवाद सतहमा आएको थियो । भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, प्रदेश सभा सदस्य मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।
त्यो समयमा खगराज समूहमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउँद मात्रै देखिए । तर अहिले ओली भट्ट समूहमा छन् । जसकारण अहिले भट्ट र धामी पक्षमा पाँच–पाँच जना सांसद छन् ।









प्रतिक्रिया दिनुहोस्