रुकुमपश्चिम, जिल्लाको आठबिसकोट नगरपालिकाको लेखा शाखामा तोडफोड भएको छ । सोमबार बिहान नगरपालिकाको आर्थिक प्रशासन शाखामा तोडफोड हुनका साथै कर्मचारीमाथि अभद्र व्यवहार भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै घटनाबारे विरोध जनाएका छन् । लेखा शाखामा तोडफोडसँगै आफुहरूमाथि अभद्र व्यवहार र गालीगलौज भएको भन्दै कर्मचारीले सेवा प्रवाह समेत स्थगत गरेका थिए ।
आर्थिक प्रशासन शाखामा केहि जनप्रतिनिधि तथा निर्माण व्यवसायी र उपभोक्ता समितिका प्रतिनिधिहरू प्रवेश गरेर अभद्र व्यवहार तथा गाली गलौज गर्नका साथै शाखाका रहेका सामाग्रीहरू तोडफोड गरेको कर्मचारीले जनाएका छन् ।
तोडफोड कार्यले शाखाका महत्वपूर्ण अभिलेख, श्रेष्ता तथा कागजातमा क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस विषयमा आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले पनि नगरपालिकाभित्रका विभिन्न सडक मर्मतका योजनाहरूको भुक्तानीको बिषयमा असन्तुष्ट व्यक्तिहरूले लेखा शाखा तोडफोड गरेको बताए ।
अनुगमन समितिले तयार पारेको प्रतिवेदनको टिप्पणीलाई लिएर भुक्तानीको प्रक्रियामा रहेको कामलाई प्रभाव पार्ने, दबाब दिने जस्ता गलत कार्य भएको उनले उल्लेख गरे । तोडफोडबाट शाखाको टेबल, दराजका साथै केही कागजातमा समेत क्षति पुगेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको सेवा प्रवाहमा केही समस्या भएमा वार्ता, गुनासो, कानुनी प्रक्रियामार्फत समाधन गर्नुको साटो कार्यालय नै तोडफोड गर्नु अराजक हर्कत भएकाले संलग्न व्यक्ति उपर विज्ञप्तिमार्फत कारवाहिको माग गरिएको छ ।
कर्मचारीले विज्ञप्ति प्रकाशन गरेर कार्यालयमा काम गर्न सुरक्षित वातावरणको माग गरेका छन् । उनीहरूले सुरक्षित रूपमा काम गर्ने वातावरण नभएको भन्दै सोमबार नगरपालिका मातहतका सम्पूर्ण शाखा, फाँट, एकाई, वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा स्थगित गरेका थिए । आगामी दिनमा पनि यस्तो हर्कत भए सबै ठेवा ठप्प पार्ने कर्मचारीको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्