तिलोत्तमामा धार्मिक महामहोत्सव सुरु



रूपन्देही ।

बिहीबारदेखि रूपन्देहीको तिलोत्तमाको श्रृंगेश्वर धाममा धार्मिक महामहोत्सव सुरु भएको छ । श्रीमद् भागवत तथा धार्मिक महोत्सव तथा श्रृंगारिक महाआरती आगमी फागुन २ गतेसम्म चल्नेछ ।

धार्मिक महोत्सव तथा महायज्ञमा प्रमुख कथा वाचक आचार्य ओमप्रकाश सुवेदीले ‘आउआउ भक्त श्रृंगेश्वर धाममा, कोही पनि नछुटौँ यो पुण्य काममा’ भन्दै भक्तजनलाई मानवीय सेवामा सहयोग गर्न आग्रह गरेका छन् ।

श्रृंगेश्वर धाम एवम् ज्येष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमा–४ डिंगनगर, रूपन्देहीमा आयोजित महायज्ञमा बिहीबार शोभा कलश यात्रा निकालिएको थियो । शोभाकलश पछि आयोजित धार्मिक कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक देवीप्रसाद पन्थ र पुनकला बस्यालले ज्येष्ठ नागरिक मिलन केन्द्र वृद्धवृद्धाका लागि खुसियाली दिने स्थल बनेको बताए ।

तिलोत्तमा नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले सरकारले गर्ने काम संस्थाले गरेको भन्दै मानवीय सहयोगमा सबैलाई साथ सहगोग पु¥याउन आग्रह गरिन् ।उनले धाममा सञ्चालित छोरी शिक्षाका कार्यक्रमलाई नगरपालिकाले हरेक वर्ष सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले महायज्ञलाई सफल बनाउनु सबैको साझा दायित्व भएको बताउँदै हरेक दिन प्रातः कालमा योग एवम् ध्यान शिविर, नित्य पूजा एवम् पाठ पारायण, संगीतमय श्रीमद् भागवत कथा प्रवचन, देव लीला दर्शन, सन्त महन्त सम्मान, श्रृंगारिक दिव्य महाआरती एवम् राष्ट्रिय कलाकारद्वारा झाँकी, भजन किर्तन सञ्चालन गरिनेछ ।

धर्मिक कार्यक्रम सुरु भएको पहिलो दिन बिहीबार नै ४ लाख आर्थिक संकलन भएको बताइएको छ । श्रृंगेश्वर धाम एवम् महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार