श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु



कैलाली ।

कैलालीको धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ सुरु भएको छ । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको आफ्नै भवन निर्माण गर्ने उद्देश्यसहित बुधबारदेखि सुरु भएको महायज्ञको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन् ।

महायज्ञको उद्घाटन अघि बाजागाजा, सांस्कृतिक झाँकी र कलशयात्राः गरिएको थियो । पहिलो लहरमा सडक आश्रित मानवहरूको परिदृश्य झल्काउने कलाकारहरूको टोलीसहित भुवा, हुड्केली, हलिया, पुतला, गौरा, सखिया, होली, देउडा, लाखेनाचलगायतका सांस्कृतिक झाँकीसहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा गरिएको थियो ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित महोत्सवस्थलमा मानवसेवा आश्रमका अभियन्ता, अभिभावक, कर्मचारी र सबै शाखाबाट आएका अभिभावक तथा अभियन्ता तीन साता अघिदेखि महायज्ञ स्थल तयारीमा जुटेका थिए ।
संयोजक कुँवरका अनुसार महायज्ञस्थलमा १ हजारभन्दा बढी भक्तजन अटाउने पण्डालको व्यवस्था गरिएको छ । त्यस्तै गुरु प्रवचन तथा झाँकी प्रस्तुति मञ्च, उत्तर र दक्षिण मोहडाबाट महायज्ञ स्थल प्रवेशद्वारको व्यवस्था, सूचना सम्प्रेषणका लागि मिडिया हेल्प डेस्क सेन्टर व्यवस्था गरिएको छ ।

महायज्ञमा हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योग पीठका केन्द्रीय प्रभारी, लवदेव मिश्रलगायतबाट योग शिविर सञ्चालन हुनेछ । विद्यार्थी माझ सकारात्मक सोच, मानवता प्रवद्र्धन एवम् व्यावहारिक शैक्षिक ज्ञान कार्यक्रमहरू २ सेसनमा बिहान साढे ७ बजेदेखि साढे ९ बजेसम्म र बेलुकी १० बजेदेखि ११ बजेसम्म हुने छन् ।

महायज्ञमा २४ गतेबाट ३० गतेसम्म हरेक दिन भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट बिहान साढे ११ बजेदेखि साढे ४ बजेसम्म संगीतमय श्रीमद् भागवत कथा वाचन हुनेछ । साँझ साढे ४ बजेपछि दिव्य आरती तथा प्रसाद वितरण हुने मूल आयोजक समितिले जनाएको छ ।

हरेक दिन साँझ ६ः०० बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य प्रस्तुत गरिनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू आयोजना हुनेछन् । हरेक दिन महायज्ञमा पाञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप, पाठ पारायण आदि हुनेछन् । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेशस्तरीय मानवीय मन्दिर (भवन) धनगढी उपमहानगर १५ उर्मीमा २ बिघा जग्गामा निर्माण सुरु भइसकेको जनाइएको छ ।

करिब ३७ करोड रूपैयाँको गुरु योजनासहित निर्माण सुरु गरेको उक्त जग्गामा आश्रमको भवनमात्र नभई मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोमञ्जन केन्द्रको स्थापनासहित गुरु योजना तयार भएको छ । सो भवन निर्माण भएपछि सुदूरपश्चिमका २ सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवम् सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ ।

मानवसेवा आश्रम गते सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखा २०७५ साल मंसिर १ गते धनगढी–५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ भएको हो । यस शाखाले हालसम्म ३ सय ८८ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको सुदूरपश्चिम प्रदेशभित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २४ गते बिहीबार