आठौँ कोहलपुर मेयर कप सम्पन्न : कृष्ण मावि बन्यो च्याम्पियन, आवितर्फ ग्रीनपिस प्रथम



कोहलपुर : आठौँ कोहलपुर मेयरकप तथा सत्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगिता–२०८१ समापन भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा ‘आठौँ अन्तर आवि÷मावि मेयर कप रनिङ शिल्ड तथा १७औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद् छनौट प्रतियोगिता–२०८१ आइतबार समापन भएको हो ।गत बुधबारदेखि कोहलपुर नगरपालिका वडा नम्बर १ स्थित कृष्ण माध्यमिक विद्यालयको प्रांगणमा सुरु भएको खेलकुद् प्रतियोगितामा सर्वाधिक पदक बटुल्दै कृष्ण माध्यमिक विद्यालय च्याम्पियन बनेको छ । कृष्ण माविले १५ स्वर्ण, १० रजत र ५ कास्य पदकसहित प्रथम स्थान हासिल गरेर च्याम्पियन बनेको हो ।


खेलकुद् सचिवालयका अनुसार विद्यालयले एथलेटिक्स छात्रतर्फ ३, एथलेटिक्स छात्रातर्फ ८, तेक्वान्दो छात्रतर्फ १ र छात्रातर्फ ३ गरी कुल १५ स्वर्ण पदक जितेको हो । त्यसैगरी विभिन्न खेलमा १० रजत र ५ कास्य पदक हासिल गर्दै उक्त विद्यालय यसवर्षको खेलकुद् प्रतियोगितमा च्याम्पियन बन्न सफल भएको हो ।
त्यसैगरी ८ स्वर्ण, ७ रजत र ८ कास्यसहित गोरखा युनाइटेड माविले द्धितीय स्थान हासिल गरेको छ । गोरखाले एथलेटिक्स छात्रतर्फ ५, एथलेटिक्स छात्रातर्फ १, भलिवल छात्रातर्फ १ र तेक्वान्दो छात्रातर्फ १ गरी ८ स्वर्ण पदक हासिल गरेको हो ।त्यसैगरी त्रिभुवन माविले ७ स्वर्ण, ५ रजत र ८ कास्य पदक हासिल गरी तृतीय स्थान हासिल गरेको हुन्छ । त्रिभुवनले एथलेटिक्स छात्रातर्फ २, कराँते छात्रतर्फ २ र कराँते छात्रातर्फ ३ गरी कूल ७ स्वर्ण पदक हासिल गरेको थियो ।

माध्यमिकतहतर्फ प्रतियोगितामा २७ विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका विद्यालयहरुले क्रमशः ७५ हजार, ६५ हजार र ५५ हजार रुपैयाँसहित प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन् ।

समापन कार्यक्रममा विजयी भएका विद्यालयहरुलाई कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पुरस्कार, प्रमाणपत्र र शिल्ड प्रदान गरेका थिए । नगरप्रमुख आचार्यले मेयर कप कोहलपुर नगरपालिकाको आधिकारिक प्रतियोगिता भएको बताए । स्थानीय सरकारले सञ्चालन गर्ने नियमित प्रतियोगिताको रुपमा रहेको मेयर कप विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने एक शसक्त माध्मम भएको पनि उनले बताए ।

नगरपालिकाले खेलकुद् क्षेत्रमा लगानी गरिरहेको भन्दै उनले भने, ‘कोहलपुर नगरपालिकाले खेलकुद् क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ, राम्रा खेलाडी उत्पादन गर्ने थलोका रुपमा पनि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने गरेका छन, यसपटक माध्यमकि मात्रै नभएर आधारभूत विद्यालयलाई पनि प्रतियोगितामा सहभागी गराइएको छ, यस्ले सानैदेखि विद्यार्थीहरुलाई खेल क्षेत्रमा लाग्न प्रोत्साहन गर्छ र भविष्यमा राम्रा खेलाडीहरु उत्पादन गर्न यो नगरपालिका सक्षम हुनेछ ।’

‘खेलकुद्मा हामीले गरेको लगानीको प्रतिफल विस्तारै देखिँदै गएको छ, फलस्वरुप गतवर्ष हामी जिल्लामै च्याम्पियन बन्न सफल भएका थियौँ ।’ नगरप्रमुख आचार्यले भने, खेलकुद्ले शारीरिक स्वस्थता मात्रै नभएर विद्यार्थीहरुको मानसिक तथा नेतृत्व क्षमतालाई पनि वृद्धि गर्नुका साथै बहुआयामिक विकास र सिकाइको समेत उपलब्धि हुन्छ ।’

पहिलोपटक आधारभूत तहका विद्यार्थीहरुलाई पनि केही खेलहरुमा सहभागी बनाएको भन्दै उनले आगमी वर्षबाट सम्पूर्ण खेलहरुमा सहभागी बनाइने बताए । व्यक्तिको सर्वांगीण विकासका लागि विद्यार्थीहरुले पाठ्यक्रम र पाठ्यपुस्तकले मात्रै नहुने भन्दै उनले विद्यार्थीको सम्पूर्ण पक्षको विकासका लागि खेलकुद, गीतसंगीत, साहित्यिक गतिविधिका साथै अन्य अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताए । उनले हरेक विद्यालयले पढाइका अलावा अतिरिक्त क्रियाकलापका लागि क्यालेण्डर बनाएर कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।

सुवेरा मल्ल बनिन् सर्वोत्कृष्ट खेलाडी
कृष्ण माध्यमिक विद्यालयमै अध्ययनरत छात्रा सुवेरा मल्ल यसवर्षको मेयर कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी छिन् । उनी एथलेटिक्स खेलबाट सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी हुन् । मल्लले सर्वोत्कृष्ट खेलाडी भएवापत ५१ हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र शिल्ड हासिल गरेकी हुन् ।मल्लले १०० मिटर दौडमा १, रिले ४ ह १०० मा १, रिले ४ ह ४०० मा १ र सर्टकर्टमा १ गरी कूल ४ स्वर्ण पदक हासिल गरेकी हुन् । त्यसैगरी २०० मिटर दौडमा एक रजत पदक हासिल गरेको सचिवालयले जनाएको छ ।
आधारभूततर्फको खेलकुद् प्रतियोगिता शनिबारनै सम्पन्न भइसकेको थियो । आधारभूततर्फ २ स्वर्ण र ४ रजतसहित ग्रीन पिस सेकेण्डरी स्कूल प्रथम भएको थियो । यस्तै २ स्वर्णसहित साइनिङ स्टार मावि द्धितीय र १ स्वर्ण, १ कास्य र १ रजत पदकसहित जनज्योति पब्लिक स्कूलले तृतीय स्थान हासिल गरेका थिए ।
उनीहरुले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र शिल्ड प्राप्त गरेका थिए ।
आठौँ अन्तर आवि÷मावि मेयर कप रनिङ शिल्ड तथा १७ औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद् छनौट प्रतियोगिता कूल ५३ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल कबड्डी र मार्सल आर्ट्सगरी चार विधामा खेल सञ्चालन भएका थिए । अतिरिक्त विधाका रुपमा चेसलाई समावेश गरिएको थियो । प्रतियोगितामा कूल २ हजार १ सय ६७ खेलाडी सहभागिता जनाएका थिए ।

शिक्षकलाई खसी उपहार
खेलकुद् प्रतियोगितालाई थप मनोरञ्जन प्रदान गर्नका लागि (प्रतियोगितामा समावेश नगरिएको) शिक्षकबीचमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता समेत आयोजना भएको थियो । गोरखा युनाइटेड पब्लिक स्कूल कोहलपुरका संस्थापक केशरबहादुर आलेले आफ्नो व्यक्तिगत लगानीमा शिक्षकहरुबीचमा मैत्रीपूर्ण भलिवल प्रतियोगिताको आयोजना गरी विजयी भएको टीमलाई खसी उपहार प्रदान गरेका थिए । संस्थागत विद्यालयका शिक्षक र सामुदायिक विद्यालयका शिक्षकहरुबीच उक्त मैत्रीपूर्ण भलिवल प्रतियोगिताको आयोजना गरिएको संस्थापक आलेले बताए ।

‘विशुद्ध मनोरञ्जन प्रदान गर्न र संस्थागत विद्यालयका शिक्षक र सामुदायिक विद्यालयका शिक्षकबीच हार्दिकता पनि होस् भन्ने उद्देश्य हो ।’ उनले भने, ‘यस्ता मैत्रीपूर्ण खेलहरुले आपसमा मित्रता पनि बढ्छ भने शारीरिक र मानसिक रुपमा पनि केही समय फ्रेस हुन सकिन्छ ।’संस्थागत विद्यालयका संचालक र प्रिन्सिपल तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले भाग लिएर खेलेको उक्त मैत्रीपूर्ण भलिवल प्रतियोगितामा संस्थागततर्फका शिक्षकहरु विजयी बनेका थिए । विजयी भएका शिक्षकको टीमलाई गोरखा स्कूलका संस्थापक तथा मैत्रीपूृर्ण भलिवल प्रतियोगिताका आयोजक आलेले ठूलो खसी उपहारस्वरुप प्रदान गरेका थिए ।

 

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार