कैलाली : सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना सेती राजमार्गअन्तर्गत कैलालीको बौनियाँ–टीकापुर सडकखण्डको काम सुरु गरिएको छ । बौनियाँ बजारबाट साढे ४ किलोमिटर दक्षिणतर्फ कङ्क्रिट वाल, सडक नाली तथा सडक भरानको काम शुक्रबारबाट सुरु गरिएको हो ।
६ करोड १५ लाख लागतमा चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने गरी पृथ्वी महानिगलाशैनी र पृथ्वी एचबी जेभीले कामको जिम्मा पाएका छन् । जसअन्तर्गत करिब १ हजार १ सय मिटर पक्की नाला, सडकको दुबैपट्टि करिब २ हजार मिटर कङ्क्रिट वाल र १६ मिटर चौडाइको साढे चार किलोमिटर सडक भरानको काम हुनेछ ।
कामको शुभारम्भ गर्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । ‘सेती राजमार्ग निर्माणको काम उसै पनि ढिला भइरहेको छ । यसलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्माण कम्पनीहरू लाग्नुपर्नेछ,’ उनले भने ।
सेती राजमार्गमा पर्ने पालिका क्षेत्रको एउटा पक्की पुल सम्पन्न भइसकेको बताउँदै उनले अर्को पुल अबको २÷३ महिनामा सम्पन्न हुने जानकारी दिए । ‘यो कामलाई पनि हामीले चाँडो सम्पन्न ग¥यौँ भने हामीलाई नै सहज हुने हो,’ उनले भने, ‘यो सडक बन्नु भनेको सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्नु हो । त्यसैले पनि हामी सबै जना आ–आफ्नो ठाउँबाट लागी परौँ ।’
कामको शुभारम्भ कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी, निर्माण व्यवसायी शिवराज सापकोटा, रवि शाहीलगायत अन्य जनप्रतिनिधिसमेत सहभागी थिए । यही सडक अन्तर्गत दुर्गौली–प्रतापपुर १० किलोमिटर सडकखण्ड कालोपत्रेको काम चलिरहेको छ भने कैलाली खण्डको मोहन्याल गाउँपालिका क्षेत्रमा करिब ३ किलोमिटर सडक मात्रै ट्र्याक खोल्न बाँकी छ । यो ट्र्याक खुलेमा टिकापुर खिमडी (ठूलीगाड)को सीधा यातायात सम्पर्क जोडिनेछ ।









प्रतिक्रिया दिनुहोस्