बागेश्वरीमा उदाएकी ‘रक स्टार’



विद्यालयको स्टेजबाट सुरु भएको गायन यात्रा अहिले विभिन्न रियालिटी शो र प्रदेशस्तरीय खुला गायन प्रतियोगिताहरूसम्म पुगेको छ । कोहलपुर प्रथम आइडललगायतका प्रतियोगितामा समेत उनले प्रथम स्थान हासिल गरिसकेकी छन् । गायन सँगसँगै पढाइलाई पनि अघि बढाइरहेको उनले बताइन् । सुरुवाती दिनहरूमा उनी अंग्रेजी गीत गाउने गर्थिन् । विस्तारै उनले नेपालीलगायतका सबै गीतहरू गाउने गरेको बताइन् ।
गणेश रावत । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–२ की ग्रेस पहाडी बालगायिका हुन् । उनी अहिले १३ वर्षकी भइन् । सानै उमेरदेखि उनी गीत गुनगुनाउने गर्थिन् । पाँच वर्षको उमेरदेखि नै आफूले गीत गाउने गरेको पहाडी बताउँछिन् । घरमा आमाको पनि संगीतमा उत्तिकै लगाव रहेकाले सुर र लय हाल्न सिकाउने गरेको उनको भनाइ छ । ‘आमाले संगीतमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ,’ ग्रेसले भनिन्, ‘पारिवारिक वातावरण संगीतमय भएकाले पनि सानैदेखि गीत गाउन र सिक्न सहज भएको छ ।’

गायन सँगसँगै पढाइलाई पनि अघि बढाइरहेको उनले बताइन् । उनी अहिले कोहलपुर बागेश्वरी ईमी स्कुल कक्षा–९ मा अध्ययन गर्छिन् । सुरुवाती दिनहरूमा उनी अंग्रेजी गीत गाउने गर्थिन् । विस्तारै उनले नेपालीलगायतका सबै गीतहरू गाउने गरेको बताइन् ।

विद्यालयमा हुने विभिन्न कार्यक्रममा पहाडी गीतहरू गाउने गर्थिन् । उनको गायन यात्रा विद्यालयमा हुने अतिरिक्त क्रियाकलापबाटै सुरु भएकोे हो । विद्यालयमा सबैको साथ र आमाको निर्देशनबाट उनको गायन यात्रा अघि बढिरहेको छ । उनको गायन यात्राले अहिले दिनप्रतिदिन फड्को मार्दै गएको छ ।

विद्यालयको स्टेजबाट सुरु भएको गायन यात्रा अहिले विभिन्न रियालिटी शो र प्रदेशस्तरीय खुला गायन प्रतियोगिताहरूसम्म पुगेको छ । कोहलपुर प्रथम आइडललगायतका प्रतियोगितामा समेत उनले प्रथम स्थान हासिल गरिसकेकी छन् ।

गत शनिबार उनले थप एउटा सफलता हात पारेकी छन् । नेशनल प्याब्सन बाँकेको स्थापना दिवसका अवसरमा आयोगित खुला गायनतर्फ उनले प्रथम स्थान हासिल गरिन् । बाँके जिल्लामा नेशनल प्याब्सनमा आबद्ध विद्यालयलाई पछि पार्दै उनले ट्रफी उचालेकी हुन् । उनको स्वर अर्थात गायनले सबैको मन लोभ्याएको थियो ।

‘चौबन्दीमा पटुकी’ बोलको गीत उनले गाएकी थिइन् । लोकप्रिय गायिका आस्था राउतको स्वरमा रहेको उक्त गीत गाउँदा जजहरूले नै उठेर उनको प्रस्तुतिको प्रशंसा गरेका थिए । सो प्रतियोगितामा उनी प्रथम हुन सफलसमेत भइन् ।

प्रतियोगितामा प्रथम रहेकाले अब उनी जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछिन् । जिल्लाको प्रतिनिधित्व गरेर जिल्लाको नाम उचो राख्ने गरेर सक्दो आफ्नो कला प्रस्तुत गर्ने उनको भनाइ छ । ‘म पहिलादेखि नै गीत गाउने गर्थें,’ उनले भनिन्, ‘यस्ता प्रतियोगिता प्रायः सहभागी भएर प्रथम हुँदा थप आत्मबल र खुसी मिल्ने गर्छ ।’

विद्यालय र आमाको सहयोगले गाउन अझ सहज भएको उनको भनाइ छ । छोरी प्रथम हुँदा आफू नै प्रथम भएको जस्तो महसुस भएको उनकी आमा बन्धना पहाडीले प्रतिक्रिया दिइन् । ‘मेरो सपना पनि गायिका बन्ने थियो । बन्नलाई प्रयास पनि गरेँ । संगीतमै स्नातक गरेँ । तर, पारिवारिक असहयोग र त्यतिबेलाको समाजकै कारण बन्न सकिनँ,’ उनले भनिन्, ‘अब छोरीलाई ‘रक स्टार’ बनाउने मेरो सपना छ ।’

आमाको गायिका बन्ने सपना छोरीले पुरा गर्दिनेमा उनी विश्वस्त छन् । उनी अहिले कोहलपुर बागेश्वरी ईमी स्कुलको प्राइमरी इन्चार्जका रूपमा कार्यरत छन् ।

विद्यालयमा पनि अतिरिक्त क्रियाकलाप र गायनमा रुचि भएका बालबालिकालाई उनले सिकाउने गर्छिन् । आफू गायिका बन्न नसके पनि बालबालिकालाई जतिसक्दो सिकाउने कोसिस गर्ने गरेको उनको भनाइ छ ।

‘सुरुका दिनमा छोरालाई गायक बनाउने मेरो ठूलो सोच थियो,’ उनले भनिन्, ‘तर, छोराले गायनभन्दा पडाइमा ध्यान दिन थालेपछि छोरीमा त्यो सपना बुन्न थालेँ । जुन बिस्तारै पूरा हुँदै छ ।’ छोरीले पनि गायनमा राम्रो गरेर प्रगति गरेको देख्दा आफ्नै सपना पूरा हुँदै गएको उनलाई अनुभूति हुने गरेको छ ।

ग्रेस गायन मात्र नभई पढाइमा पनि उत्तिकै अब्बल छन् । ग्रेस गायनमा मात्र होइन, पढाइमा पनि राम्रो रहेको विद्यालयका प्रधानाध्यापक कलाधार चापागाईंले बताए ।

ग्रेसले पढाइ सँगसँगै गायनबाट समेत विद्यालयको नाम राख्न सफल भएकोमा अत्यन्तै खुसी लागेको उनले जानकारी दिए । विद्यालयबाट प्रदेशस्तरीय प्रतियोगितामा समेत जिल्लाको प्रतिनिधित्व आफ्नै विद्यार्थीले गर्दा थप खुसी मिल्ने गरेको उनले बताए ।

विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर उनलाई बधाई ज्ञापनसमेत गरेकोे थियो । विद्यालयको नाम राख्न सफल भएको भन्दै उनलाई बधाई तथा सम्मान गरिएको हो । जुन कुराले विद्यार्थीहरूको आत्मबल बढ्ने प्रधानाध्यापक चापागाईको विश्वास छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रबार