लुम्बिनी प्रदेश सभाको बैठक आइतबारका लागि आह्वान



बाँके ।

लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आउँदो आइतबार बस्ने भएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बिहीबार सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका हुन् ।

यसअघि प्रदेश सभाको दोस्रो बैठक पुस १७ गते बसेको थियो । दोस्रो बैठकले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सन्देशसहित फिर्ता पठाएका प्रदेश निजामती कर्मचारीसम्बन्धी प्रदेश निजामती सेवा ऐन,–२०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित गरेको थियो ।

पारित दुवै विधेयक सभामुख तुलाराम घर्तीले प्रमाणित गरेर पुनः पुस १९ गते नै प्रदेश प्रमुखसमक्ष पठाएका थिए । प्रदेश प्रमुख घर्तीले पुस २७ र २८ गते प्रमाणिकरण गरेपछि प्रदेश सभाको तेस्रो बैठक बस्न थालेको हो । दुवै विधेयक पहिलोपटक प्रदेश सभाको चौथो अधिवेशनले २०८१ भदौ २७ र ३१ गते पारित गरेको थियो । प्रदेश प्रमुख घर्तीले सन्देशसहित असोज २२ गते फिर्ता पठाएपछि पुनः प्रदेश सभाको पाँचौँ अधिवेशनको दोस्रो बैठकले हुबहु पारित गरेको थियो ।

प्रदेश सभाको आइतबार तेस्रो बैठकमा प्रदेश सरकारको पुस ६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भई कार्यन्वयनमा रहेको लैङ्गिक समानता नीति–२०८१ को बारेमा जानकारी दिने र दोस्रो बैठकमा छलफलका लागि पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभाका सचिव पुनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रबार