५२ परिवारलाई नयाँ घर बनाइदिँदै राप्ती सोनारी



दुई करोड ८० लाखको लागतमा ५२ वटा घरहरू निर्माण गरिनेछ । एउटा घरको लागत पाँच लाख ३७ हजार पाँच सय ५५ रुपैयाँ रहेको छ । त्यसमा ब्रण्डा, दुई वटा पक्की कोठा र जस्ता पाताको छानो हुनेछ । शौचालय पनि त्यसैबाट निर्माण गरिनेछ । तर शौचालयको सेफ्टी ट्यांकी भने घरधनीले बनाउनुपर्नेछ ।

नेपालगन्ज ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ धरमोतीकी गंगा विकको परिवार कोठा भाडामा लिएर बस्दै आएको छ । अब उनले टिनको छानोसहितको दुई कोठे पक्की घर पाउने भएकी छन् । उनको घर राप्ती सोनारी गाउँपालिकाले बनाइदिन लागेको हो । शुक्रबार उनको घरको शिलान्यास भइरहँदा उनको अनुहारमा खुसी झल्किरहेको थियो ।

‘सम्पत्तीको नाममा १२ धुर जग्गा छ । सासु आमा क्यान्सर पीडित हुनुहुन्छ । श्रीमान्को मजदुरीले साँझ बिहानको जोहो टार्न ठिक्क छ । कोठा भाडा, बिजुली बत्ती गरेर महिनाको दुई हजार पर्छ । अब आफ्नै घरमा बस्ने सपना पुरा हुनलाग्दा खुसी छु,’ विकले भनिन् । अब गंगा जस्तै राप्ती सोनारी गाउँपालिकाका ५२ परिवारका लागि गाउँपालिकाले नै घर बनाइदिने भएको छ ।

गंगा विकको घरको शिलान्यास गरिसकेपछि गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले घर नभएर अरूको घरमा बस्नु पर्ने बाध्यता भएका परिवार र साँघुरो, होचो, फुसको छानो अनि बाँस तथा झिंगटीको बार भएको घरमा बस्दै आएका परिवारका लागि घर बनाइदिन थालेको जानकारी दिए । उनले गाउँपालिकाले उक्त योजनालाई विपन्न आवास कार्यक्रम नाम दिएर सुरु गरेको बताए ।

विशेष अनुदान अन्तर्गत राप्ती सोनारी गाउँपालिकाले विपन्न आवास कार्यक्रममार्फत् लक्षित समुदायको छनौट गरी उनीहरूलाई नयाँ घर बनाइदिन सुरु गरेको गाउँपालिका अध्यक्ष पौडेलको भनाइ छ । आर्थिकरूपले विपन्न समुदायका मानिसहरूलाई नयाँ घर बनाइदिएर जेठ मसान्तभित्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । गाउँपालिका अध्यक्ष पौडेलले सुरक्षित आवास पाउनुपर्ने नागरिकको संविधानप्रदत्त हकलाई पालिकाले कार्यान्वयन गरेको बताएका छन् ।

गाउँपालिकाका असिस्टेन्ट प्राविधिक दुर्गा केसीका अनुसार विशेष अनुदानको दुई करोड ८० लाखको लागतमा ५२ वटा घरहरू निर्माण गरिनेछ । एउटा घरको लागत पाँच लाख ३७ हजार पाँच सय ५५ रुपैयाँ रहेको उनले बताए । त्यसमा ब्रण्डा, दुई वटा पक्की कोठा र जस्ता पाताको छानो हुनेछ । शौचालय पनि त्यसैबाट निर्माण गरिनेछ । तर शौचालयको सेफ्टी ट्यांकी भने घरधनीले बनाउनुपर्ने उनले बताए ।

घर निर्माणको काम आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी भवरभवानी निर्माण सेवा र सौगात कन्ट्रक्सन ठाकुरबाबा बर्दियाले घर निर्माणको ठेक्का पाएका छन् । भवरभवानीले २१ वटा र सौगातले ३१ वटा घर बनाउनेछन् । सौगातले वडा नम्बर ३, ४, ५, ६ र ७ मा ३१ वटा र भवरभवानीले वडा नम्बर १, २, ८ र ९ मा २१ वटा घर बनाउने सम्झौता गरिएको छ । भवरभवानी निर्माण सेवाका सञ्चालक सुरेन्द्र पौडेलले सम्झौता अवधिमै घरहरू निर्माण गरेर हस्तान्तरण गरिने प्रतिवद्धता जनाए ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ८ गते शनिबार