आन्दोलनमा माथिल्लो कक्षाका विद्यार्थीभन्दा धेरै तल्लो कक्षाका साना विद्यार्थी थिए । उनीहरूको हातमा टायर, लठ्ठी र ढुङ्गाहरू रहेका थिए । उनीहरूले कोहलपुर नगरपालिकाको गेट, त्रिभुवन माध्यमिक विद्यालय, केही सवारी साधन तथा निजी घरमा तोडफोड र ढुङ्गामुढा गरेर क्षति पु¥याएका छन् ।

कोहलपुर ।
कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयका साना विद्यार्थीहरूलाई आन्दोलनमा उतारेर विद्यालय, सरकारी र निजी संरचनामा तोडफोड गरिएको छ । सामाजिक सञ्जालमार्फत छात्रामाथि शिक्षकले दुव्र्यवहार गरेको भन्दै बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढा नेतृत्वको एक समूहले केही महिनायता शिक्षकलाई कारबाहीको माग गरिरहेको थियो । सोही समूहले यही विषयमा आन्दोलनका लागि त्रिभुवन माविका केही विद्यार्थीहरूलाई सोमबार सडकमा उतारेको हो ।
सडकमा उत्रिएका विद्यार्थीहरूको नेतृत्व स्ववियु सभापति बुढालगायतका त्रिभुवन माविबाहिरकाले गरेका थिए । साना विद्यार्थीसहितको समूहले सोमबार बिहान १० बजेको समयमा सडकमा आएर नाराबाजी गर्दै चक्काजाम गरेका थिए ।
त्यसको केहीबेरमै साना विद्यार्थीसहितको समूह विद्यालयको पश्चिम भागमा रहेको एक घरतर्फ सोझिएको थियो । उक्त समूहले घरमा लगाइएका ब्यानरहरू फाल्नुका साथै ढुङ्गामुढा गरेको थियो । त्यहाँबाट फर्किएको समूहले नेतृत्व गर्नेहरूसँगै सिधै त्रिभुवन विद्यालयमा पसेर तोडफोड गरेको हो । तोडफोडबाट झ्याल, ढोका, कुुर्सी, टेबुललगायतका संरचनामा क्षति पुगेको विद्यालयले जनाएको छ ।

आन्दोलनमा पुगेका विद्यार्थीहरूलाई सम्बोधन गर्दै बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढा
शिक्षकहरूले प्रयोग गर्ने कुर्सी आन्दोलित समूहले सडकमा ल्याएर फालिदिएको थियो । त्यसबाट प्रदर्शन गर्दै कोहलपुर नगरपालिका जाँदै गरेका उनीहरूले लाइफ ओके फिटनेस जिम क्लबमा ढुङ्गामुढा गरेर तीन लाख रूपैयाँ बढीको क्षति पु¥याएका छन् ।
केहीबेर इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेको साना विद्यार्थीसहितको समूहलाई प्रहरीले हटाएपछि कोहलपुर नगरपालिकातिर गएको थियो । नगरपालिकाको गेटबाट आन्दोलनमा उत्रिएको समूह तोडफोड गर्दै भित्र छिर्न खोजेपछि प्रहरीले उनीहरूलाई हटाएको थियो । उनीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए भने प्रहरीले सामान्य बल प्रयोग गरेर त्यहाँबाट तितरबितर पारेको थियो ।
आन्दोलनमा माथिल्लो कक्षाका विद्यार्थीहरू भन्दा धेरै तल्लो कक्षाका साना विद्यार्थीहरू थिए । उनीहरूको हातमा टायर, लठ्ठी र ढुङ्गाहरू रहेका थिए । उनीहरूले कोहलपुर नगरपालिकाको गेट, त्रिभुवन माध्यमिक विद्यालय, केही सवारी साधन तथा निजी घरमा तोडफोड र ढुङ्गामुढा गरेर क्षति पु¥याएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दोषीलाई कारबाहीका लागि कानुनी उपचारमा जानुपर्नेमा विद्यार्थी संगठन नै साना विद्यार्थीलाई अगाडि सारेर तोडफोडमा उत्रिएको भन्दै चौतर्फी आलोचना भएको छ । ‘बच्चाबच्ची जे सिकायो त्यही गर्छन् । बच्चाबच्चीलाई उचाल्नेलाई मुक्का होइन सजाय दिनुपर्छ, पढाइ बिगारिदिनेलाई ।’ सामाजिक सञ्जालमा भिमाले लेख्छिन् । दिपेन्द्र बुढाथोकीसमेत स्कुलका साना बच्चालाई उठाएर राजनीति नगर्न आग्रह गर्दै बच्चाहरूलाई पढ्न दिन र कोही दोषी छ भने कानुनी कारबाही गर्नुपर्ने बताउँछन् ।
‘आज प्रहरीले धेरै संयमता अपनाएर जे काम गरेको छ ठिक गरेको छ । जनताको स्कुलमा केही उग्र समूहले जुन क्षति पु¥याएको छ र कलिला बालबालिकालाई उक्साहटमा पारेर आन्दोलित बनाएको छ त्यो समूहका सबैलाई कानुनी दायरामा ल्याएर कारबाही होस्,’ सामाजिक सञ्जालमा विष्णुप्रसाद खत्रीले लेखेका छन् ।
आन्दोलनको नेतृत्व गरेका बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढाले कात्तिक पहिलो साता नै विद्यालय र नगरपालिकामा पुगेर शिक्षकलाई कारबाही नभए आगो लगाइने धम्की दिएका थिए । स्ववियु सभापति बुढाले भने सोमबार भएको आन्दोलनको नेतृत्व आफूले नगरेको भन्दै न्यायका लागि विद्यार्थीलाई साथ दिन आएको बताए ।
तर, सडकमा भने उनकै निर्देशनअनुसार साना विद्यार्थीसहितको समूहले गतिविधि गरिरहेको थियो । कोहलपुर नगरपालिकाबाट उनीसहित अन्यलाई प्रहरीले पक्राउ गरेपछि साना विद्यार्थीहरू घरतिर लागेसँगै आन्दोलन साम्य भएको थियो ।
स्ववियु सभापति बुढाले छात्रामाथि दुव्र्यवहार गर्ने शिक्षकविरुद्ध पीडितले उजुरी दिँदा पनि प्रहरीले उजुरी लिन नमानेको भन्दै विद्यार्थीहरू आन्दोलित भएको पक्राउअघि पत्रकारसँग बताएका थिए ।
आन्दोलनमा उत्रिएकाहरूले ‘पीडितलाई न्याय दे’, ‘न्याय मार्न पाइँदैन’, ‘पीडकलाई कारबाही गर’, प्रहरी दमन मुर्दावाद’जस्ता नारा लगाएका थिए । नेपाल सरकारले पूर्वसभामूख दमननाथ ढुंगानाको निधनको शोकमा सार्वजनिक बिदा ढिला घोषणा गर्दा अध्ययनका लागि विद्यालय पुगेका विद्यार्थीहरूसमेत आन्दोलनमा सहभागी भएका थिए ।
त्रिभुवन माविका एक शिक्षकले आफ्नै छात्रालाई सामाजिक सञ्जालमार्फत दुव्र्यवहार गरेको स्क्रिन सर्ट बाहिरिएपछि अनेरास्ववियु र अखिल क्रान्तिकारीले ती शिक्षकमाथि कारबाही गरिनुपर्ने भन्दै आन्दोलन गर्दै आएका थिए । तर पीडितका तर्फबाट कुनै उजुरी नै नपरेको र स्क्रिन सर्टका नाममा बाहिरिएको हल्लाका आधारमा मात्र कारबाही प्रक्रिया अगाडि बढाउन नसकिने भन्दै प्रहरी प्रशासन मौन बस्दै आएको थियो ।
तर पीडितका तर्फबाट उजुरी दिन खोज्दा प्रहरीले लिन नमानेको भन्दै सोमबार पुनः विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । एक साताअघि पीडितका तर्फबाट यौन दुव्र्यहारमा इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गर्न खोजिए पनि प्रहरीले यौन दुव्र्यवहारको मुद्दा आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै पीडितलाई अदातल जान सुझाएको थियो ।
‘करिब एक साताअघि यौन दुव्र्यवहारको उजुरी लिएर उहाँहरू आउनुभएको थियो,’ इप्रका कोहलपुर मुद्दा फाँटका सहायक प्रहरी निरीक्षक खड्गजंग मल्लले भने, ‘तर यौन दुव्र्यवहारको उजुरी हाम्रो कार्यक्षेत्रभित्र पर्दैन । यो अनुसूचि–४ अन्तर्गत अदालतले हेर्ने हो । अनुसूचि–१ अन्तर्गतका उजुरी मात्र हामीले लिने हो । त्यसैले हामीले उहाँहरूलाई सोझै अदालत जान आग्रह गरेका हौँ ।’
उता, सरकारी वकिल कार्यालय बाँके स्रोतले पनि मोबाइलमा कुरा गरेकै भरमा यौन दुव्र्यवहारको मुद्दा बन्न नसक्ने दाबी गरेको छ ।
‘यो कुनै मुद्दाको विषय नै होइन,’ सरकारी वकिल कार्यालय बाँकेका एक अधिकारीले भने, ‘मोबाइलमा च्याटिङ गरेको विषय कसरी यौन दुव्र्यवहारको मुद्दा बन्न सक्छ ?’ कुनै व्यक्ति वा स्वार्थ समूहको तुच्छ स्वार्थका कारण यो विषयलाई उछाल्ने प्रयास भइरहेको हुनसक्ने ती अधिकारीले आशंका व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्