यातायात कार्यालयबारे गलत बुझाइ : आरोप प्रत्यारोपमा नेपालगन्ज र कोहलपुरबासी



लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका उपसचिव रमेश गौतम अहिले कोहलपुरमा यातायातको सेवा कार्यालयमात्रै स्थापना गर्नेगरी प्रक्रिया अघि बढेको बताउँछन् । नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय अन्यन्त्र सार्ने विषय छलफलमा आएको नै आफूले थाहा नपाएको भन्दै उनले कार्यालय नै सार्न सम्भव पनि नहुने बताए । तर, गलत बुझाइका कारण कोहलपुर र नेपालगन्जबासी भने सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा नेपालगन्ज नगर कमिटीका अध्यक्षहरूले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई संयुक्तरूपमा ध्यानाकर्षणपत्र बुझाए । उक्त ध्यानाकर्षणपत्रको मुख्य आशय थियो, ‘नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गरिन लागेकोले उक्त कार्यालय नसार्न ध्यानाकर्षण ।’ तर यो ध्यानाकर्षण अपुष्ट खबरकै आधारमा थियो भन्ने कुरा सोही ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यसैगरी, नेपालगन्ज उद्योग वाणिज्य संघको टोलीले पनि प्रमुख जिल्ला अधिकारीलाई नै सोमबार सोही आशयको ध्यानाकर्षणपत्र बुझाएको थियो । यति मात्रै होइन नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जलाई कोहलपुर सार्न लागिएको हल्लाका पछि लागेर नेपालगन्ज र कोहलपुरबासीहरूबीच सामाजिक सञ्जालमा तर्क वितर्क नै चल्न थालेको छ । नेपालगन्जबासीहरू नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय कोहलपुर सार्न लागिएको भन्दै त्यसो गरेमा विरोध गरिने बताइरहेका छन् । उता, कोहलपुरबासीहरू कोहलपुरमा सकारात्मक काम हुँदा नेपालगन्जबासीहरूले डाह गर्ने गरेको आरोप लगाइरहेका छन् ।

तर, वास्तविकता भने कोहलपुरमा यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्ज अन्तर्गत रहनेगरी यातायात सेवा कार्यालय मात्र स्थापना गर्ने तयारी गरिएको हो । हाल नेपालगन्जमा रहेको कार्यालयमा अफिसियल कामहरू हुने तर ट्रायलका लागि कोहलपुर जानुपर्ने अवस्था छ । यसलाई सहजीकरण गर्न कोहलपुरमा लिखित तथा प्रयोगात्मक परीक्षाका कामहरू गर्नेगरी सेवा कार्यालय स्थापना गर्नुपर्ने माग पहिलेदेखि नै उठ्दै आएको थियो ।

यस विषयमा लुम्बिनी प्रदेश सरकारले पहिलादेखि नै आवश्यक तयारी गरिरहेको थियो । पछिल्लोपटक कात्तिक ७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कोहलपुरमा आएका थिए । एक कार्यक्रममा सहभागी भएका बेला कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुबेदीले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाइन् । मुख्यमन्त्री आचार्यले पनि उक्त कार्यक्रममै कोहलपुरमा तत्काल यातायात सेवा कार्यालय स्थापना गरिने आश्वासन दिए ।

त्यसपछि यस विषयमा चर्चा हुँदै जाँदा कार्यालय नै सार्न लागिएको हल्ला चल्यो । सोही हल्लाका पछि लागेर दुवै छिमेकी सहरबासीहरू तीतो पोखिरहेका छन् । तर, लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका उपसचिव रमेश गौतम अहिले कोहलपुरमा यातायातको सेवा कार्यालयमात्रै स्थापना गर्नेगरी प्रक्रिया अघि बढेको बताउँछन् । उनले नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय अन्यन्त्र सार्ने विषय छलफलमा आएको नै आफूले थाहा नपाएको बताए ।

उनले भने, ‘अहिले कोहलपुरमै प्रयोगात्मक परीक्षा (ट्रायल) हुन्छ । त्यसलाई सहजीकरण गर्नका लागि मात्रै सेवा कार्यालय स्थापना गर्ने भन्ने भएको छ । कार्यालय नै अहिले सार्न सम्भव पनि छैन,’ उनले भने । उपसचिव गौतमले बरू नेपालगन्जमै सरकारी भवन वा जमिन स्थानीय तहले व्यवस्था गर्न आवश्यक रहेको बताए । ‘अहिले कार्यालय भाडामा बसिरहेको छ । कुनै खाली सरकारी भवन छ वा जमिन उपलब्ध गराउन सकेमा कार्यालय सार्नुपर्ने आवश्यकता नै छैन,’ उनले भने ।

नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय भेरीका निमित्त प्रमुख वरिष्ठ अधिकृत रविन्द्र केसी पनि आफूहरूकहाँ कार्यालय सार्ने विषयमा कुनै जानकारी नआएको बताउँछन् । कोलपुर नगरपालिकाले पुरानो कोहलपुर बसपार्कको खाली रहेको भवनमा यातायात सेवा कार्यालय राख्नेगरी व्यवस्था मिलाइसकेको जनाएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाटले नेपालगन्जमा रहेका अधिकांश सरकारी कार्यालय प्रदेश संरचनापछि सुर्खेत र बुटवल स्थानान्तरण भएको र बाँकी रहेका कार्यालय पनि अन्यत्र स्थानान्तरण गर्ने कार्य तत्काल रोक्न माग गर्दै प्रदेश मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको बताए ।

‘केहि कार्यालय सुर्खेत डेरा जमाए । केहि कार्यालय बुटवल डेरा जमाए । नेपालगन्ज रित्ताउने यस्तो षड्यन्त्र रोक्न चिन्ता जाहेर गर्दै संघले ज्ञापनपत्र बुझाएको छ । आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ ।’ उनले भने ।

राजनीतिक दलका नेपालगन्ज अध्यक्षहरूले बुझाएको ध्यानाकर्षण पत्रमा पनि यसभन्दा अघि कार्यालयहरू सारिएको अवस्था स्मरण गराउँदै भनिएको छ, ‘नेपालगन्जबाट सम्पूर्ण महत्वपूर्ण सरकारी कार्यालय सरेर गई उक्त कार्यालय रहेका भवनहरू खण्डहरमा परिणत भइरहेका छन् । कुनै बखत सेवाग्राहीहरूको चापले भरिने नेपालगन्ज नगरीले क्रमिकरूपमा सरकारी कार्यालयहरू गुमाउँदै जाँदा यस शहरको भविष्य समेत अन्धकारतर्फ धकेलिँदै गएको छ ।’

जमिन र भवनविहीन नेपालगन्जमा यातायात 

लुम्बिनी प्रदेशका बाँके, बर्दियासहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सेवाग्राहीले समेत सेवा लिने कार्यालय हो यातायात व्यवस्था कार्यालय भेरी । दैनिक कम्तीमा एक हजार सेवाग्राही सेवा लिन उक्त कार्यालयमा पुग्छन् । तर, कार्यालयसँग अहिले न आफ्नो जमिन छ न आफ्नै भवन । मासिक करसमेत गरेर एक लाख १५ हजार रुपैयाँ भाडा तिरेर कार्यालय चलाइएको छ ।

सवारी साधन सम्बन्धि नै काम गर्ने कार्यालयमा सवारी साधन पार्किङ गर्ने स्थान नै छैन । हाल बाँके गाउँस्थित एक नीजि घरमा सञ्चालित कार्यालयमा पुग्ने सवारी साधनहरू व्यक्तिगत जग्गामा पार्क गर्नुपर्छ । जहाँ पार्क गरेको मोटरसाइकलले २० रुपैयाँ, अटो रिक्साले ३०, कार जीपले ४० र ठूला सवारी साधनले एक सय रुपैयाँ प्रतिपटक तिर्नुपर्छ ।

‘यति धेरै सेवाग्राही रहेको र यत्रो ठूलो राजस्व उठ्ने कार्यालयको आफ्नै जमिन र भवन नहुनु दुःखद हो,’ कार्यालयमा भेटिएका कालिकोटका उपेन्द्र शाहीले भने, ‘पहिला आउँदा कारकाँदोमा थियो । अहिले यता सरेको रहेछ । हामीलाई त खोज्न पनि समय लाग्यो ।’ दुई वर्षअघि उक्त कार्यालय कारकाँदोमा सुर्खेत रोड किनारमा भाडाकै घरमा थियो । उक्त घरमा हुँदा सवारी साधन पार्किङ गर्नसमेत ठाउँ नहुने अवस्था थियो । सोही कारण देखाउँदै कार्यालय रामलिला मैदान नजिकै सारियो, भाडाकै घरमा ।

घरको तीन वर्षको सम्झौता रहेकोमा दुई वर्ष पूरा भइसकेको छ । ‘अब एक वर्षमा नयाँ सम्झौता गर्ने वा अर्काे कुनै उपयुक्त भवनको स्थानीय र प्रदेश सरकार मिलेर व्यवस्था गरेका त्यहाँ सर्नुपर्ने हुन्छ,’ निमित्त कार्यालय प्रमुख केसीले मंगलबार मिसन टुडेसँग भने । कार्यालयका लागि जग्गाको व्यवस्था गर्ने काममा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने मन्त्रालयका उपसचिव रमेश गौतम बताउँछन् ।

यता नेपालगन्ज उपमहानगरपालिकालाई कार्यालयका लागि जग्गाको व्यवस्था गर्न नसकेको आरोप लाग्दै आएको छ । उपमहानगरका प्रमुख प्रशान्त विष्ट आफूहरू कार्यालयका लागि जग्गा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँछन् ।

‘हामी कार्यालयका लागि आवश्यक भवनहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ । भवन नपाइएकैै बाहनामा कार्यालय सार्नेकुरा मान्य हुँदैन,’ उनले भने । उपमहानगरपालिकाले पनि मंगलबार एक विज्ञप्ति जारी हाल चीन भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री फर्केलगत्तै सरोकारवालाहरूसँग छलफल गरी जग्गा र भवनको विषयलाई टुंगोमा पु¥याउने जनाएको छ ।

‘अन्य पालिकाको उन्नयनमा नेपालगन्जको इश्र्याभाव देखिन्छ’

पूर्णप्रसाद आचार्य
नगर प्रमुख, कोहलपुर न.पा.

बाँकेको नेपालगन्ज किन कमजोर हुँदै गैरहेको छ ? के नेपालगन्जको कमजोरी र रुग्नतामा बाँकेका अन्य पालिकाहरूले आफूलाई बलशाली र भाग्यशाली मान्ने अवस्था हो ? यो हुँदै हैन्, हुनुपनि हुँदैन किनभने नेपालगन्ज एउटा ऐतिहासिक शहर हो । यसको आफ्नै गरिमा र महत्व छ, रहिरहनेछ तर नेपालगन्जबासी केही आदरणीय महानुभावहरूमा कहि कतै अन्य पालिकाको उन्नयनमा बेलाबेला इश्र्याभाव देखिन्छ, यो हामी सबै बाँकेबासिका लागि दुर्भाग्यपूर्ण छ र यहि नियती दोहोरिँदै गए दुर्भाग्य भै रहनेछ ।

खासमा अहिलेको हाम्रो नेपाली समाजकै मुख्य समस्या भनेकै कुनैपनि विषयवस्तुमा गहिरो अध्यन नगर्ने/गर्न नचाहने अझै भनौँ सतही अध्ययनबाट तत्काल धारणा बनाउने र सामाजिक सञ्जालबाट हतारमा सार्वजनिक गर्ने र समाजलाई थप अन्यौल र द्वन्द्वतर्फ लैजाने । यो हाम्रो अहिलेको अफापको नियती हो र यो नियतीले हामी सबैलाई पोलिराखेको छ र यसको निरन्तरता कहिलेसम्म हुन्छ यसै भन्न सक्ने अवस्था छैन् ।

मेरा आफ्नै केही स्मृतिहरू ताजै छन् । म विद्यार्थी संगठनमा काम गर्दा जिल्लाको नेतृत्वको दाबी गर्दा सहजै अयोग्य प्रमाणित गर्ने भरपुर प्रयास हुन्थे, किन कि म नेपालगन्जको स्थानीय थिइन् यो नियती धेरैजनाले भोग्नु पथ्र्याे तथापी धेरै नेतृत्वहरू नेपालगन्ज बाहिरकै हुन्थे । के स्थानीय भावनाले मान्छेको व्यक्तित्व-नेतृत्व विकास स्वतह सम्भव छ ? अहिले कोहलपुरमा मालपोत, नापी, इलाका प्रशासन आदि कार्यालयले सेवा सुचारु गरिसकेपछि अब यातायातको ट्रायल सेन्टर भएकै ठाउँबाट बाँकी सेवा लिन पाउनु कोहलपुरबासीको अधिकार नै हो ।

बरू यो कोहलपुर, बैजनाथ र राप्ती सोनारीका नागरिकको अधिकार स्थापित गरिदिने कुरामा वकालत गरिदिन नेपालगन्जबासीमा बिनम्र अनुरोध छ । ‘किन चाउरिस्, मरिछ आफ्नै राग’ले भने जस्तै नेपालगन्ज किन आफैँमा संकुचनको सिकार भै रहेको छ यो नेपालगन्जबासीले नै गम्भीर समिक्षा गर्नु पर्छ किन भने मस्तिष्कमा बाँके भनेकै नेपालगन्ज हो भन्ने सोच राख्ने व्यवहारमा हृदय ठूलो बनाएर सिङ्गो बाँके जिल्लाको अभिभावकत्व निर्वाह गर्न सक्ने चौडा छाती बनाउन नसक्ने ? हो यहि कारण हो नेपालगन्ज दिन प्रतिदिन रुग्न बन्दै गैरहेको जसको कारण हामी कोहलपुरबासीले पनि थुप्रै नकारात्मक प्रभावहरूको सामना गरिरहेका छौँ । त्यसैले हामी चाहान्छौँ नेपालगन्जले आफ्नो विगतको पुनरागमन गराउन सकोस् शुभकामना छ ।

‘अब अहिलेको प्रसङ्गतर्फ जाउँ’यातायात कार्यालय तु का तु छामापार शैलीमा कोहलपुर स्थानान्तरण हँुदैछ, त्यसैले नेपालगन्जले कोहलपुरसँग गुरिल्ला युद्धको तयारी गर्नुपर्छ । यस्तै यस्तै भावका अझै क्रान्तिकारी अभिव्यक्ति भन्ने कि रोइलो भन्ने सामाजिक सञ्जालमा छरप्रस्ट छन् र सामाजिक सञ्जालमा वादप्रतिवाद चलिरहेका छन् अब वादप्रतिवाद हैन् संवादको जरूरी देख्छु म । नेपालगन्जको यातायात कार्यालय कोहलपुर सारिदैँ छैन् नेपालगन्जबाट सेवा लिने सेवाग्राही कोहलपुर, बैजनाथ, राप्ती सोनारी लगायतका नागरिकहरूको सेवाको लागि एउटा युनिट कोहलपुरमा सुचारु गर्न खोजिएको मात्रै हो ।

नेपालगन्जबासीले १६ किलोमिटर टाढा सेवा प्राप्त गर्न जानु पर्ने छैन ढुक्क हुनुहोस् । समय परिवर्तनशिल छ, जनताका आवश्यकता असिमित छन् । जनतालाई सरल र सहज सेवा प्रवाह आजको वैज्ञानिक आवश्यकता हो । यो तथ्य बुझ्नु पर्छ र बुझाउनुपर्छ । समयको गति अनुसार आफू रूपान्तरित हुनु पर्छ त्यो रूपान्तरणको पथमा नेपालगन्ज जाओस् ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार