वीरेन्द्रनगरबाट ब्राउनसुगरसहित दुई पक्राउ



सुर्खेत ।

वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पलाता गाउँपालिका–५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर–१०, का २१ वर्षीय चन्द्र सुनार रहेका छन् ।

उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर–१० दीपनगर टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरी निरीक्षक खड्काका अनुसार उनीहरूको साथबाट ५० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र लागूऔषध जस्तो देखिने १५ ट्याब्लेट बरामद गरिएको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार