छात्रवृत्तिमा एमबीबीएस पढाउँदै कनकासुन्दरी



जुम्ला ।

कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बताए ।

गत आर्थिक वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन् ।

उनी हाल दोस्रो वर्षमा अध्ययनरत छिन् । एमबीबीएस अध्ययन गर्न रु ४६ लाख लाग्नेमा गाउँपालिकाले २३ लाख रुपैयाँ प्रिन्सालाई छात्रवृत्तिबापत प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।

चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने सर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ । यस्तै कनकासुन्दरी गाउँपालिका–३ की कल्पना बुढालाई पनि एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनस्वरूप १ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।

बुढा किस्ट कलेज ललितपुरमा अध्ययनरत छिन् । कनकासुन्दरी गाउँपालिका–५ बडुवालवाडाका विवेक बडुवाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिटिएस डेन्टल अध्ययन गर्दै छन् । बडुवाललाई पनि गाउँपालिकाले प्रोत्साहनस्वरूप १ लाख रकम सहयोग गरेको गाउँपालिका सूचना अधिकारी खत्रीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार