उपमेयर सुबेदीलाई कोहलपुरको कार्यबाहक मेयरको जिम्मेवारी



कोहलपुर ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुबदीले कार्यबाहक नगर प्रमुखको जिम्मेवारी पाएकी छन् । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य अस्ट्रेलिया भ्रमणमा गएकाले उपप्रमुख सुबेदीले लामो समयका लागि कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी हुन् । नगर प्रमुख आचार्यले उपप्रमुख सुबेदीलाई कार्यबाहकको जिम्मेवारी सुम्पिएका छन् ।

उनी अस्टे«लियामा आयोजना हुने दिगो विकास तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रममा सहभागी हुन आज अस्ट्रेलियातर्फ जाँदै छन् । नेपालका स्थानीय सरकार प्रमुखहरूसँग अन्तक्र्रिया गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पहिलो चरणअन्तर्गत कोहलपुरसहित अन्य ३–४ वटा पालिकाहरूको प्रतिनिधित्व हुन लागेको नगर प्रमुख आचार्यले मिसन टुडेलाई जानकारी दिए ।

‘कार्यक्रममा सहभागिताका लागि १३ पालिकाहरूले एप्रोच गरेका थिए,’ नगर प्रमुख आचार्यले भने, ‘जसमा पहिलो चरणअन्तर्गत आज हामी ३/४ पालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत त्यसतर्फ जाँदै छौँ ।’

उनले ४/५ दिनको औपचारिक कार्यक्रमपछि केही दिन घुमफिर गरेर १२/१५ दिनमा नेपाल फर्किने मिसन टुडेलाई जानकारी दिए ।

नगर प्रमुख आचार्य विदेश भ्रमणमा निस्किएपछि उपप्रमुख सुबेदीले सम्भवतः सबैभन्दा लामो समयका लागि कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । यसअघि दुई चार दिनका लागि मात्र उपप्रमुखले कार्यबाहक प्रमुखको जिम्मेवारी पाउने गरेकी थिइन् ।

कोहलपुर नगरपालिकाले अस्टे«लियाको मेलबर्न नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास पनि गरिरहेको छ । यसै सन्दर्भमा केही समयअघि मेलबर्नका प्रतिनिधिहरूले कोहलपुर नगरपालिकाको भ्रमण पनि सम्पन्न गरिसकेका छन् । तर उताबाट थप कुनै जानकारी नआएकाले सो सम्बन्ध प्रक्रियामै रहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार