
नेपालगन्ज ।
चलचित्र ‘पूर्णबहादुरको सारंगी’को कलाकार समूह चलचित्रको प्रचारका क्रममा नेपालगन्ज आइपुगेको छ । कात्तिक १५ गते लक्ष्मी पूजाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारका क्रममा पश्चिम नेपालको भ्रमणका क्रममा कलाकारहरू नेपालगन्ज पुगेका हुन् ।
विजय बराल, मुकुन ढकाल, अन्जना बराइली र गायक प्रशान्त शिवाकोटीलगायतका कलाकारहरूले चलचित्रको प्रचारका क्रममा नेपालगन्जमा रोड सो पनि गरेका थिए । यसैगरी, बिहीबार नै उनीहरूले पत्रकारहरूसँग साक्षात्कार पनि गरेका छन् ।
चलचित्र पत्रकार संघ बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कलाकार बरालले गन्धर्व समुदायका एक पिताले आफ्नो छोराको प्रगतिका लागि गरेको संघर्षको कथा चलचित्रमा रहेको जानकारी दिए । उक्त कथाले एक नेपाली बुवाले आफ्ना सन्तानका लागि गरेको संघर्षले सबै दर्शकहरूलाई छुने दाबी गरे ।
यसअघि कबड्डी सिक्वेलमा सहायक भूमिकामा अभिनय गरेका बरालले पूर्णबहादुरको सारंगीमा मुख्य भूमिका निभाएका छन् । उनले उक्त भूमिका आफ्ना लागि अवसरको रूपमा रहेको बताए ।
यद्यपि आफूले अभिनयलाई एक कर्मका रूपमा सम्यक दृष्टिले हेर्ने गरेको दाबी गरे । विनोद पौडेल र प्रतीक सुवेदी निर्माता रहेको चलचित्रको निर्देशन सरोज पौडेलले गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्