खजुरा ।
बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारीका दृष्टिविहीन जयबहादुर विकले नयाँ घर पाएका छन् । पत्रकार खगेन्द्र दाहालको अगुवाइमा दृष्टिविहीनको परिवारका लागि नयाँ घर निर्माण गरेर मंगलबार हस्तान्तरण गरिएको हो ।
वर्षातको पानीले घर भत्काइदिएपछि बेघर बनेका विकका लागि सहयोग स्वरूप निर्माण सामग्री र रकम जुटाएर घर निर्माण गरिएको थियो । नयाँ निर्माण गरिएको घरको समाजसेवी लीलबहादुर थापाले उद्घाटन गरेका थिए ।
घर हस्तान्तरण कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीलगायतको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष तुफानले सञ्चारकर्मसँगै सामाजिक कार्यस्वरूप घर नै बनाइदिने अभियान सम्पन्न गर्न सफल बनेकोमा बधाईसहित धन्यवाद दिएका थिए ।
‘पालिकाले पनि घरै नहुने र छाना नहुनेलाई प्राथमिकताको आधारमा सहयोग गर्ने गरेको छ,’ उनले भने, ‘सहयोग गर्ने सबैलाई मानव हुनुको धर्म निभाउनुभएकोले धन्यवाद दिन चाहन्छु ।’
गाउँपालिकाका उपाध्यक्ष मल्लले सबैको स–सानो सहयोगले यति राम्रो घर बनाउन सक्नु नै अभियानको सफलता रहेको बताइन् । घर र शौचालय हस्तान्तरणका कार्यक्रममा नै समाजसेवी थापाले ६ महिनालाई पुग्ने खाद्यान्न सामग्रीसमेत प्रदान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्