प्रहरीमा चाडबाडको बेला बिदा अधिकारको रूपमा नभई सहुलियतको रूपमा पाइन्छ । नजिक घर भएकाहरू समय मिलाएर टीकाजमरा लगाइमाग्न घर पुग्न सक्छन् । तर, आवश्यक परेको बेला तुरुन्त कार्यक्षेत्रमा उपस्थित हुनुपर्ने हुन्छ ।
नेपालगन्ज ।
दाङ घर भई हाल बाँकेमा कार्यरत नेपाल प्रहरीका असई सुशील न्यौपानेलाई दसैँमा सबैभन्दा बढी सम्झना आउने साथीसंगीहरू हुन् । तर, यसपटक उनलाई ससुराली जान आतुरी छ । केही महिनापहिले बिहे भएका उनले बिहेपछि ससुरालीमा जान नपाएकाले यसपटकको दसैँमा ससुराली जाने योजना बनाएको बताए ।
तर, बिदाका लागि कुरा भइरहेकाले घर जान पाइने नपाइनेमा उनी अन्योलमा छन् । ‘बिहेपछि पहिलोपटक श्रीमतिसँग ससुराली जाने योजना बनाएको हो । ससुरालीको अनुभव नै नभएकाले कस्तो हुन्छ होला भन्ने खुलदुली छ । तर बिदा पो पाइने हो कि होइन भन्ने छ,’ न्यौपानेले भने ।
प्रहरीको जागिरमा फेरि चाडबाडकै बेला बढी खटिनुपर्ने हुन्छ ।
अवाञ्छित क्रियाकलाप गर्ने र आपराधिक मनस्थिति भएकाहरूले चाडबाडकै बेला अशान्ति पैदा गर्न सक्ने भएकाले प्रहरीलाई यस समयमा थप सावधान अवस्थामा राखिन्छ । प्रहरी सडकमा खटिएपछि नै नागरिकले चाडबाड सुरक्षित तवरले मनाउन पाउने हो । त्यसैले प्रहरीमा चाडबाडको बेला बिदा अधिकारको रूपमा नभई सहुलियतको रूपमा पाइन्छ । नजिक घर भएकाहरू समय मिलाएर टीकाजमरा लगाइमाग्न घर पुग्न सक्छन् । तर, आवश्यक परेको बेला तुरुन्त कार्यक्षेत्रमा उपस्थित हुनुपर्ने हुन्छ । यसरी अरू पेसा व्यवसायमा जस्तो प्रहरी र सेनालाई चाडबाडमा बिदाको आनन्द उठाउन पाउँदैनन् ।
बुटवल घर भएका प्रहरी जवान रन्जित अर्यालले प्रहरी सेवामा प्रवेश गरेको ६ वर्ष भयो । यसबीचमा उनी दसैँमा एकपटक मात्रै बिदामा जान पाएका छन् । यसपटक पनि उनी बिदामा जान पाउने अवस्था छैन । यस्तो बेला उनलाई घरको याद खूब आउँछ । साथीसंगीको सम्झना आउँछ । ‘दसैँमा साथीहरू मिलेर सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू गथ्र्यौं । नाटकहरू देखाउँथ्र्यौं । साथीहरू बसेर खानपिन हुन्थ्यो । यस्तै कुरा मिस हुँदो रहेछ,’ अर्यालले भने ।
बर्दिया घर भएका प्रहरीका असई युवराज खड्कालाई पनि दसैँमा गाउँघरमा हुने रमाइलो र साथीसंगीहरूको सम्झना आउँछ । तर, बिदा नपाइएको अवस्थामा कार्यक्षेत्रमै हुँदा पनि नियास्रो लाग्ने अवस्था भने नहुने गरेको उनले बताए । प्रहरी कार्यालयमा पनि पूजाआजा गर्ने र उत्सव मनाउने व्यवस्था गरिएको हुने उनले बताए । सिनियर प्रहरी अधिकारीबाट टीका जमरा लगाएर भए पनि दसैँको रौनक हुने गरेको उनको भनाइ छ ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की भन्छन्, ‘प्रहरी भनेको पनि आम मानिसजस्तै हो । उसलाई पनि घरपरिवारको न्यास्रो हुन्छ । त्यसलाई मेटाउन हामीले पनि व्यवस्था गरेका हुन्छौँ ।’ उनका अनुसार दसैँको बेला मासु, भात र चिउराको व्यवस्था गरिएको हुन्छ भने पिङ पनि हालिएको हुन्छ । बाँके प्रहरी कार्यालयको बाहिरपट्टि हालिएको पिङमा सर्वसाधारणसँगै प्रहरीले पनि आनन्द लिने गरेका छन् ।
यसैगरी विजया दशमीको दिनमा टीकाजमरा लगाउने व्यवस्था गरिएको पनि उनले बताए । उनले भने, ‘धेरै जनामा ठूलो त केही व्यवस्था गर्न सकिन्न । तर, प्रहरी कार्यालय पनि हाम्रो घरजस्तै हो भन्ने भावना जागृत गराउने प्रयत्न गरेका छौँ ।’
उनले बिदामा पनि अघिल्लो वर्ष जान नपाएका, तिहारमा बिदा लिन नपर्ने खालका कर्मचारीहरूलाई प्राथमिकता दिएर व्यवहारिकता अनुसार मिलाइएको एसपी कार्कीले बताए । ‘तर परेका बेला तुरुन्त उपस्थित हुनसक्ने गरी बिदामा जाने हो । हामीलाई ठ्याक्कै बिदाकै सहुलियत भने हुँदैन,’ उनले भने ।
परदेशीको दसैँ ?
कैलालीका शेरबहादुर साउँद जापानमा छन् । पढाइ र कामसँगै अघि बढाइरहेका साउँद भन्छन्, ‘स्वदेशमा दसैँ–तिहारको बिदा नै हुन्छ ! वर्षभरिको पीडा बिर्सने, आफन्त भेटघाट गर्ने मौका मिल्छ । तर परदेशमा दसैँको दिनमा पनि आफ्नो ड्यूटी र जिम्मेवारीको चिन्ता हुन्छ । काममा जानैपर्छ ।’ उनले दसैँको बेला मनमा खुसी र उमंग हुने भए पनि स्वदेशमा रहनेहरूको जस्तो परदेशमा रहनेहरूको दसैँ नहुने उनले बताए ।
कसै कसैले कम्पनीमा अनुरोध गर्दा छुट्टी पाए भने साथीभाइ मिलेर दसैँ मनाउने गरेको उनको भनाइ छ । छुट्टी नपाउनेलाई दसैँ आए नआएको महसुस नै नहुने गरेको उनको भनाइ छ । उनले भने, ‘दसैँको दिन पनि काम गरिरहेकै हुन्छन् । के गर्ने परदेशमा चित्त बुझाउनैप¥यो ।’
परदेशमा पनि नेपालीहरूले बिदा मिलेसम्म सामूहिक रूपमा खानपिन गरेर र भेटघाट गरेर दसैँ मनाउने गरेको त्यहाँ रहेका नेपालीहरू बताउँछन् । अमेरिकामा पनि रहेका नेपालीहरूले सामूहिक रूपमा भेटघाटका कार्यक्रमहरू आयोजना गर्ने गरेका छन् । अछामका हिमाल जैसी अध्ययनका क्रममा अमेरिकामा छन् ।
दसैँको अवसरमा उनको विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ रहेका नेपाली विद्यार्थीहरूले दौरा सुरुवालसहित आफ्नो मौलिक पोसाकमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्