कागज उद्योगले ग¥यो पब्लिक सेयर आह्वान



कम्पनीले कामदारहरूलाई सेयर दिएर सदस्य बनाएको छ । उद्योगमा जति पनि कामदार छन् ती सबै कम्पनीका मालिक पनि हुन् । उद्योगले स्थानीयहरूलाई मेसिनहरू चलाउने सीप पनि प्रदान गर्दै आएको छ ।

नेपालगन्ज ।

अम्रिसो, उखु, पराल, गहुँको नल, बाबियो, बाँसलगायत स्थानीयस्तरमै उपलब्ध कच्चा पदार्थ र पुराना कागज तथा कपडाबाट कागज तयार गर्ने उद्देश्यले बाँकेको राप्ती सोनारी गाउँपालिका–२, हरिहरपुरमा सञ्चालित कागज उद्योगले सेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको छ ।

सुरुमा प्रालिअन्तर्गत दर्ता भएको एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेडमा परिणत भएसँगै शनिबार नेपालगन्जमा एक कार्यक्रम गर्दै नागरिकहरूलाई पब्लिक सेयर खरिदका लागि आह्वान गरेको हो ।

कम्पनीका अध्यक्ष ज्योतिलाल भण्डारीले स्थानीय स्तरमा रहेका कच्चा पदार्थको सदुपयोग गर्दै रोजगारीको सिर्जना र आयात प्रतिस्थापनमा योगदान दिने उद्देश्यले उद्योग सञ्चालनमा रहेको बताए । उनले तीन सय जनालाई प्रत्यक्ष र एक हजार जनाभन्दा बढीले रोजगारी पाएको जानकारी दिए ।

हाल दैनिक २ टन कागज उत्पादन क्षमता रहेको उद्योगले क्षमताको २५ प्रतिशत उत्पादन गरिरहेको र सबै उत्पादन खपत पनि भइरहेको कम्पनीका निर्देशक राजेन्द्र चौधरीले जानकारी दिए । पूर्ण क्षमतामा उद्योग सञ्चालनका लागि आर्थिक लगानी आवश्यक रहेको र त्यसका लागि पब्लिक सेयर आह्वान गरिएको उनले बताए ।

उद्योगलाई दैनिक ३० टन रिसाइकल गर्ने क्षमतामा पु¥याउने लक्ष्य रहेको पनि कम्पनीले जनाएको छ । यसैगरी, १० टन दैनिक रिसाइकल गर्नसक्ने अटोमेटिक मेसिन जडान गर्ने योजना पनि रहेको निर्देश चौधरीको भनाइ छ । कम्पनीमा हालसम्म जग्गासमेत गरी १२ करोडभन्दा बढी लगानी भइसकेको जनाइएको छ ।

कुल २६ करोड अधिकृत सेयर पुँजी रहेको कप्पनीमा प्रतिकित्ता एक सय रुपैयाँका दरले सेयर खरिद गर्न सकिने जानकारी निर्देशक चौधरीले दिए । ७५ प्रतिशत बाह्य र २५ प्रतिशत स्थानीय नागरिकलाई सेयर बाँडफाँट गरिने प्रावधान रहेको पनि कम्पनीले जनाएको छ ।

उद्योगले हाल पहिलो चरणमा प्याकेजिङ उद्योग र छापाखानाबाट निस्कने पुराना तथा खेर जाने कागज तथा कपडाबाट बोर्ड पेपर र रेकर्ड फाइल बनाउने पेपर उत्पादन गर्दै आएको छ । सेयर आह्वान कार्यक्रममा उत्पादनहरूको प्रदर्शनी पनि गरिएको थियो ।

जसमा कागज तथा कपडाको प्रयोग गरी बनाइएका कागज प्रदर्शनीमा राखिएका थिए । ती कागज उत्पादनमा केमिकलको प्रयोग नगरिएको पनि निर्देशक चौधरीको भनाइ छ । उनले कागजको नमुना देखाउँदै भने, ‘यो कागज चिल्लो छ । यसलाई केमिकलको प्रयोग गरेर पनि चिल्लो बनाइन्छ । तर हामीले केराको प्रयोग गरेर चिल्लो बनाएका छौँ ।’

अर्काेतिर कम्पनीले कामदारहरूलाई सेयर दिएर सदस्य बनाएको जनाएको छ । अध्यक्ष भण्डारी भन्छन्, ‘उद्योगमा जति पनि कामदार छन् सबै कम्पनीका मालिक पनि हुन् ।’ उद्योगले स्थानीयहरूलाई मेसिनहरू चलाउने सीप पनि प्रदान गरेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार