बाँके ।
भारी वर्षापछि आएको बाढीपहिरोका कारण देशभरका १७ जना विद्यार्थीको मृत्यु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार मंगलबार साँझसम्म १७ जना विद्यार्थीको मृत्यु भएको हो ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको विवरण प्राप्त भएको जानकारी दिए । अधिकांश पहिरोमा पुरिएर मृत्यु भएकाहरू रहेका छन् ।
बुटवलको कालिका मानवज्ञान माविका दुई विद्यार्थी झ्याप्लेखोलोको पहिरोमा पुरिएको मृत्यु भएको थियो । बुटवलबाट काठमाडौँ आउँदै गर्दा जुम्ल्याहा दिपेश अधिकारी र दिपिका अधिकारीको मृत्यु भएको हो । कक्षा १० मा अध्ययनरत दुवै जनासँगै आमा सीता भट्टराईको समेत पहिरोमा पुरिएर मृत्यु भएको छ ।
त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बत्सलादेवी माविको छात्रावासमा रहेका ६ जना विद्यार्थीको समेत पहिरोमा पुरिएर मृत्यु भएको थियो । त्यस्तै बनेपाको आशापुरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत एक छात्राको घरमा सुतिरहेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको हो ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत १ जना र सर्वोद्वार माविका २ जना विद्यार्थीको पहिरोमा पुरिएर परिवारसहित मृत्यु भएको मन्त्रालयले जनाएको छ । काभ्रेपलाञ्चोककै पनौती नगरपालिकास्थित श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको समेत पहिरोमा परी मृत्यु भएको थियो ।
त्यस्तै ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित गोठभन्ज्याङ् माविमा अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित जोरपाटी माविका एक विद्यार्थीको पहिरोमा परी आफ्नै घरमा मृत्यु भएको थियो ।
दोलखाको भीमेश्वर नगरपालिकास्थित अल्पाइन स्कुलमा अध्ययनरत एक विद्यार्थीको घर भत्किदा मृत्यु भएको शिक्षा मन्त्रालयले संकलन गरेको क्षतिको विवरणमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्