मनाइयो निजामती सेवा दिवस



नेपालगन्ज ।

२१औँ निजामती सेवा दिवस बाँकेसहित देशभर विभिन्न कार्यक्रमहरू गरेर शनिबार मनाइएको छ । दिवसको अवसरमा प्रभातफेरी, अन्र्तक्रिया, कर्मचारी सम्मान लगायतका कार्यक्रमहरू गरिएका थिए । बाँकेमा दिवसको अवसर पारेर नेपालगन्जमा शनिबार प्रभातफेरी लगायतका कार्यक्रम गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गर्दै भेरी प्राविधिक शिक्षालयको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष गोविन्दप्रसाद पाण्डेले जानकारी दिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा २००७ सालको परिवर्तनपछि २०१३ सालमा तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन तथा नियमावली जारी गरेर व्यवस्थित रूपमा निजामती सेवाको जग राख्ने काम गरेको बताउँदै अहिले आएर आम जनतामा निजामती सेवाको छवी राम्रो बन्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । त्यसैले जनतामा निजामती सेवाको छवी राम्रो बनाउनको लागि सबैले बेलैमा सोच्नुपर्ने उनीहरूले बताए ।

कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायधिश भिष्मराज प्रसाई, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल बाँके जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरू लगायतको उपस्थिती रहेको थियो ।

दिवसको अवसरमा बिहीबार र शुक्रबार कार्यालय हाताको सरसफाई, उत्कृष्ट कर्मचारी पुरस्कृत, फलफूलका वृक्षरोपण, पहिलो सेवाग्राही सम्मान लगायतका कार्यक्रमहरू समेत गरिएको कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष पाण्डेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार