चट्याङले मरे ७१ भन्दा बढी भेडा



जुम्ला ।

शनिबार राति परेको चट्याङ लागेर जुम्लाका विभिन्न स्थानमा ७१ वटाभन्दा बढी भेडाहरू मरेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चट्याङले लागेर ७१ वटाभन्दा बढी भेडा मरेको खबर आएको जनाएको छ ।

पातारासी गाउँपालिका चेप्टे पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् भने तातोपानी गाउँपालिका–४ लामाचौरका ६ जना किसानका १५ वटा भेडाहरू चट्याङले गर्दा मरेको जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) छेदीलाल कमातीले जानकारी दिए ।

शनिबार दिउँसो करिब पौने चार बजेतिर फुलचाउल्या पाटनमा परेको चट्याङबाट ६ जना किसानका भेडा मरेको प्रारम्भिक तथ्यांक प्राप्त भएको वडाध्यक्ष अमर रोकायाले बताए । उनका अनुसार चट्याङबाट मानवीय क्षति भने भएको छैन ।

यस्तै, पातरासी गाउँपालिका–२ तल्फिका किसानका भेडा चेप्टे पाटनमा शनिबार दिउँसो ४ बजेतिर चट्याङ पर्दा ५६ वटा भेडा मरेको अस्थायी प्रहरी चौकी तल्फीका इन्चार्ज पृथ्वीबहादुर बुढाले जानकारी दिए ।

चट्याङ लागेर भेडाहरू मरेको जानकारी आएपछि बुझ्न प्रहरी घटनास्थलतर्फ पठाइएको डिएसपी कमातीले बताए ।

पाटनमा मोबाइल नेटवर्कले काम नगर्ने भएको हुँदा सम्पर्क गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरी टोली घटनास्थलमा पुगेपछि थप विवरण आउने डिएसपी कामतीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार