‘पाँच वर्षमा खजुराको सर्वांगीण स्तरोन्नति हुन्छ’



खजुरा गाउँपालिका अध्यक्षका रुपमा यहाँको पहिलो वर्ष कस्तो रह्यो ?
यो पहिलो वर्ष विशेषगरी अनुभवको वर्ष रह्यो । धेरै कुराहरुको विषयमा काम गर्दा धेरै कुरा सिकाइ भएको छ । साथै केही चुनौतीहरु पनि हामीले पार ग¥यौँ । यी सबैका अतिरिक्त हामीले केही उपलब्धिहरु पनि प्राप्त गरेका छौँ ।

ती उपलब्धिहरु के–के हुन् ?
विशेषगरी हाम्रो जोड शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार र सुशासनमा छ । शिक्षामा हामाले विभिन्न प्रभावकारी कार्यक्रमहरु अघि सा¥यौँ । तीमध्ये हामीले शिक्षकको दरबन्दी मिलानका लागि काम गरेका छौँ । तहअनुसारको एउटा पनि दरबन्दी नभएका १४ वटा विद्यालयमा हामीले दरबन्दीअनुसारका शिक्षकहरुलाई मिलान गराएका छौँ ।

या काम गर्दा ठूलो विरोध पनि भयो । यद्दपि हामीले यो काम गरेरै छोड्यौँ । यसलाई हामी आवश्यकताअनुसार निरन्तरता दिँदै जानेछौँ । यसैगरी शिक्षकहरुले दिने गुणस्तरीय शिक्षाका आधारमा पुरस्कृत गर्ने र तालिमको आवश्यकता भएका शिक्षकहरुलाई तालिमको व्यवस्था गर्ने योजनामा हामी अघि बढेका छौँ । शिक्षक र विद्यार्थी सुधारका कार्यक्रम पनि चलाउँदै छौँ ।

स्वास्थ्यका कुरा गर्दा स्वास्थ्य संस्थाबाट नागरिकहरुले तोकिएका सेवा सहजरुपमा पाउने व्यवस्था हामीले गरेका छौँ । यसका साथै मैले एकदमै जोड दिएको कार्यक्रम हो, अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम । यो किनभने घरदैलोमै गएर ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिने कार्यक्रम हो । चारवटा वडामा कर्मचारी नै खटाएर हामीले ज्येष्ठ नागरिकलाई सेवा दिने गरेका छौँ । यो कार्यक्रमले हाम्रो सरकार छ भन्ने अनुभूति नागरिकहरुलाई दिलाएको छ । अब सबै वडामा जनशक्ति खटाएर यो कार्यक्रम अघि बढाउने योजना छ ।

कृषिमा हामीले सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गरिरहेका छौँ । केही समूहले खेती पनि सुरु गरिसकेका छन् । बीउ अनुदान कार्यक्रम चलाएका छौँ । अनि पशु सुत्केरी भत्ता कार्यक्रम चलाएका छौँ । जुन एकदमै लोकप्रिय भएका छन् । यसको लाभ पनि किसानहरुले लिएका छन् । उत्पादनमा सहयोग भएको छ उनीहरुलाई ।
भौतिक पूर्वाधारतर्फ पुराना योजनाको कार्यान्वयनमा हामीले विशेष जोड दिएका छौँ । यस वर्षका २६ वटा योजनामध्ये ६० प्रतिशत योजनाहरु सम्पन्न भइसकेका छन् ।
पुराना योजनाहरु किन अझै पूरा नभएका ?
पुराना योजनाहरु पनि केही यही वर्ष पूरा हुने अवस्थामा छन् । जस्तै सभागृह र शितभण्डार यही आर्थिक वर्षमा सम्पन्न हुने देखिएको छ । अरु योजनाहरु भने पूरा भएनन् । पुराना योजनाहरु समयमै पूरा नहुनका धेरै कारण भन्न सकिएला ।

कोरोना महामारीलाई दोष दिन सकिएला । तर मुख्य कुरा अघिल्लो कार्यकालमा योजनाको कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्नेभन्दा पनि प्रचारमा मात्रै जोड दिइयो । अथवा भनौँ पूर्ण क्षमता ती योजनामा देखिएका समस्या समाधानमा दिइएन ।

अहिले हामीले यही कुरालाई ध्यानमा राखेर निर्माण व्यवसायीहरुलाई देखिएका समस्याहरु समाधानमा सकेसम्म सहजीकरण गरिरहेका छौँ । आशा छ अब यी योजनाहरु छिट्टै पूरा हुनेछन् ।

                                               डम्बरबहादुर विक
                                      अध्यक्ष, खजुरा गाउँपालिका

पुराना योजनाको भारीले नयाँ योजना सञ्चालन गर्न चुनौती छैन ?
एकदमै धेरै नि । अगाडिबाट ल्याएका योजनाकै लागि अहिले पनि आठ करोड बढी बजेट छुट्याउनुपर्ने अवस्था छ । यदि ती योजना समयमै पूरा भइदिएको भए हामी अहिले गज्जबले नयाँ योजनाहरु सञ्चालन गर्न सक्थ्यौँ ।

योजना कार्यान्वयन प्रक्रियाको पारदर्शीताका लागि कस्तो नीति छ ?
हामीले अहिले कोटेशनलाई लगभग हटाइसकेका छौँ । जस्तो सुकै खरिद पनि हामीले खुला प्रतिस्पर्धा गराएर गर्ने गरेका छौँ । यसरी नअनलाइन प्रतिस्पर्धा गराउँदा कतिपयलाई अप्ठ्यारो परेको पनि हुनसक्छ ।

यो उपभोक्ता समितिमार्फत हुने काममा भने केही समस्या र गुनासाहरु आएका छन् । वास्तवमा नेपाल सरकारको यो नीति जनसहभागिताका लागि तय गरिएको हो । तर, यसको काम गर्ने प्रक्रियामै ३५ प्रतिशत त समितिले कर तिर्ने र सञ्चालन खर्च कटाउँदैमा जान्छ ।

कतिपय ठाउँमा नियम उल्लंघन गरेर समितिहरु गठन गरिएका कुराहरु आएका छन् । अब यसलाई कम गर्न हामीले स्थानीयहरुलाई अभिमुखिकरण र तालिम दिनेलगायतका कार्यक्रमहरु गरिरहेका छौँ । सकेसम्म टोल विकास संस्थाबाटै काम गराउनेगरी अघि बढेका छौँ ।

आन्तरिक स्रोत बढाउन के गरिरहनुभएको छ ?
आन्तरिक स्रोतको लागि सबैभन्दा प्रमुख स्रोत भनेकै उद्योग व्यवसाय र सेवाग्राही हुन् । अब हामीले यसको बढोत्तरीका लागि काम गर्नुपर्नेछ । विशेषगरी घरेलु उद्यमलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने काम गरिरहेका छौँ ।

कृषिलाई व्यावसायिक बनाउनेतिर हाम्रा कार्यक्रमहरु लक्षित छन् । विशेषगरी उद्यम र कृषिको व्यावसायीकरण हुन सक्यो भने गाउँपालिकाको स्रोत पनि बढ्छ । अर्काे हामीले करका दरहरु बढाउनेभन्दा पनि करको दायरा बढाउनेतिर नीति तय गरेका छौँ ।

यहाँको कार्यकाल सकिँदा खजुराले के–के पाउँछ ?
हाम्रो कार्यकाल सकिँदा धेरै उपलब्धि खजुराले पाइसकेको हुन्छ । मूल सडक फोर लेनमा विस्तार हुन थालिसकेको छ । विद्युत् शवस्टेशन बन्दै छ । खानेपानी सबैको घरघरमा पुगिसकेको हुनेछ । कृषिमा व्यावसायीकरण भइसकेको हुनेछ ।

बसपार्क, सहिद पार्क, फोहोर व्यवस्थापन, विश्वविद्यालय र क्यान्सर अस्पतालका कारण स्वास्थ्य उपचारको केन्द्र पनि भइसकेको हुन्छ । साथै भूमिहिनको सुकुम्बासीको समस्या पनि समाधान हुन्छ । समग्रहमा खजुराको सर्वांगीण स्तरोन्नति भइसक्ने छ ।

गाउँपालिकावासीलाई यहाँको सन्देश ?
गाउँपालिकावासीलाई उहाँहरुले दिनुभएको साथका लागि धन्यवाद । निर्माण व्यवसायीहरुलाई पनि धन्यवाद । केही व्यक्तिहरुले समयसमयमा स्थानीय सरकारका विरुद्ध सुनियोजित ढंगले फैलाउने अफवाहलाई नपत्याउनुहोला । यहाँहरुको मार्गनिर्देशन र सल्लाहसुझावका लागि पनि आग्रह छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ४ गते बिहीबार