बाँके ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका फरार व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् ।
दाङ घोराही उपमहानगरपालिका–१९ बस्ने प्रेमबहादुर रानालाई पक्राउ गरेको हो । उनले सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर रानाको हत्या गरेका थिए । घटना २०६७ माघ २४ गते भएको थियो ।
रानालाई जिल्ला अदालत दाङले जन्मकैद (२० वर्ष) को सजाय सुनाएको छ । सूर्यबहादुर राना कतारमा काम गर्थे । उनी कतारमा हुँदा छिमेकी देवर नाता पर्ने प्रेमबहादुर र मृतककी श्रीमती बिन्दु रानाबीच अनैतिक सम्बन्ध थियो ।
दुई वर्ष कतारमा काम गरेर उनी २०६७ माघ १९ गते घर फर्किएका थिए । उनी आएको पाँच दिनपछि प्रेमबहादुर र बिन्दुले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
उनीहरूले सुरूमा जाँडमा धतुरो मिसाइ खुवाएर सूर्यबहादुरलाई बेहोस बनाएका थिए । त्यसपछि घाँटी थिचेर हत्या गरेका थिए । शव व्यवस्थापन गर्न डोकोमा बोकेर जंगलको भिरालो खोल्सामा लगेर फ्याँकेका थिए ।
हत्या भएको भोलिपल्टै शव फेला परेको थियो । त्यसयता फरार रहेका प्रेमबहादुर शनिबार काठमाडौंबाट पक्राउ परेका थिए ।









प्रतिक्रिया दिनुहोस्