
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज वडा नम्बर १२ का ५७ वर्षीय राजु नाउको पुख्र्याैली पेसा थियो कपाल काट्ने । करिब १० वर्ष पहिले उनले कपाल काट्न थापेको घुम्ती पसल सडकमा राखेको भन्दै उपमहानगरपालिकाले उठाइदियो ।
उनलाई त्यो पसल फिर्ता ल्याउने उपाय थाहा थिएन । त्यसपछि मामाको घरमा गएको बेला उनले त्यहाँ रहेका एकजना मोचीबाट जुत्ता सिलाउने सीप सिके । ‘सुरुमा कपाल काट्ने जातको मान्छे कहाँ मोचीको काम गर्न लागेको भनेर मामाले गाली गरे । म यता आएर काम सुरु गरिहालेँ,’ राजुले हाँस्दै भने ।
अहिले उनी नेपालगन्जको धम्बोझी चोक खजुरा रोडको किनारामा एउटा सानो काठको बाकसमा जुत्ता सिलाउने पसल थापेर बसेका छन् । उक्त पसल पनि उनले ठाउँठाउँ सार्दै अहिले त्यहाँ पुगेका हुन् । उनी एकाबिहानै चोकमा आएर चोरी नहोस् भनेर नालीमाथि रहेको एक फ्लेकमा मोटरसाइकलको चेनले बाँधेर राखेको आफ्नो पसल खोल्छन् ।
उठाएर सडक छेउमा ल्याउँछन् । अनि सुरु हुन्छ सियो र धागोको खेल । मानिसहरु चप्पलको तुना चुटेकोदेखि छाताको मर्मतका समस्या लिएर आउँछन् । उनी समाधान गरिदिन्छन् । मानिसहरु त्यही कामको ज्यालमा पनि बार्गेनिङ गर्छन । ती सबैकुरा झेलेर उनले एक दिनमा कम्तिमा पनि पाँच सय कमाउँछन् ।
अहिलेसम्म राजुको परिवारमा कमाउने व्यक्ति उनी नै हुन् । दुईजना छोरा कमाउनतिर लागेका त छन् तर, पक्का काम पाएका छैनन् । उनले जुत्ता चप्पल सिलाएरै सातजना छोराछोरीलाई अक्षर चिन्ने बनाएका छन् । तर, उच्च शिक्षासम्म पढाउन सकेनन् । छोरीहरुको विवाह पनि गराइसकेका छन् । उनले जुत्ता सिलाउने काम सुरु गर्दा नेपालगन्जमा थोरै मात्रै उक्त पेसामा थिए । आम्दानी पनि राम्रो थियो ।
अहिले धम्बोझी चोकमै दर्जनभन्दा बढीले उनले जस्तै काम गरिरहेका छन् । सीमावर्ती क्षेत्रका भारतीयहरु पनि नेपालगन्ज आएर त्यही काम गरिरहेका छन् । ‘अहिले हामीहरुभन्दा त बढी इन्डियन नै भइगए यहाँ,’ राजुले गुनासो गरे ।
राजुलाई अहिले नेपालगन्जका मेयर को छन् भन्ने थाहा छैन । ‘भोट कसलाई हाल्नूभो ?’ भन्दा उनले भने, ‘जसले जितेको छ उसैलाई ।’ पछि उनले खुलाए रुख चिन्हमा भोट हालेका रहेछन् । तर, उनले आफैँले भोट हालेका व्यक्तिलाई चिनेका रहेनछन् । ‘धवलशमशेर हुनुहुन्थ्यो । उहाँ नै त होला । कि कमरुद्दीन हुन् ?’ उनले जिज्ञासा व्यक्त गरे ।
कोरोनाको लकडाउनका बेला उनले अत्यन्त कठिन समय झेले । अहिले महँगीले सताइरहेको छ । तर, पनि जेनतेन उनले परिवार चलाइरहेका छन् । राजुले घामपानी छेक्न ठड्याएको छाता ठाउँठाउँमा प्वाँल परिसकेको छ ।
उपमहानगरपालिकाले आफूहरुलाई घामपानी छेक्ने ठूलो खालको छाता दिएको भए धेरै सजिलो हुने उनले बताए । उनी अहिलेसम्म उपमहानगरपालिकाको भवनभित्र पनि छिरेका रहेनछन् । मिसन संवाददातासँगको कुराकानीपछि उनले समय मिलाएर उपमहानगरपालिका पुग्ने बताए ।
…
नेपालगन्ज वडा नम्बर ८ का गुड्डु राई कवडियाको पुख्र्यौली पेसा टांगा चलाउने हो । तर समयसँगै टांगाको ‘भ्यालु’ घट्न थाल्यो । उनले नेपालगन्जको सडकमै लोहारी काम गर्ने एक शिल्पीसँग लोहारी काम सिके । त्यसपछि उनले सुर्खेत रोड छेउमै आफ्नै आरन खोले । आरन खुब चल्यो । त्यसैबाट केही जमिन जोडे । घर बनाए । छोराछोरीलाई अक्षर चिनाए । छोरीहरुको विवाह पनि गराए ।
तर जब सुर्खेत रोड विस्तार भयो । उनको आरन विस्थापित भयो । उनले उठाएर भित्रपट्टिको गल्लीछेउको खाली जमिनमा सारे । उक्त ठाउँमा हुँदासम्म पनि उनको आरन ठिकै चलेको थियो । जब उक्त जमिनका मालिकले पनि संरचना बनाउने भनेर उनलाई ठाउँ छाड्ने भने त्यसपछि उनको व्यापार ओरालो लाग्यो । अझै भित्र सारे । उनकोमा मानिसहरु आउन छोडे । केही महिना उनी डिप्रेसनमा गए (उनका शब्दमा कसैले कालाजादु गरिदियो) ।
अहिले उनी आरन सुरु भएपछिको चौथो ठाउँमा पुगेका छन् । उक्त ठाउँमा मानिसहरु एकदमै कम मात्र आइरहेका छन् । ‘एक त म नभएको बेला गुड्डुको आरन बन्द भयो भनेर हल्ला फैलाइदिएछन् अरु आरनहरुले । अर्काे भित्रपट्टि भयो । अब बिस्तारै मानिसहरु आउन थालेका छन् । फेरि राम्रो हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।
उनले आरन सुरु गरेको करिब दुई दशक अवधिमा करिब चारजनालाई रोजगारी दिए । दुईजनालाई त सुरुदेखि नै सीप सिकाए । एकजनाको आरन अहिले राम्रो चलेको छ । अहिले पनि उनीसँग एकजना सहयोगी छन् । गुड्डु र उनका सहयोगीलाई अहिले महँगीले साह्रै पिरोलेको छ । गुड्डुले आफ्नो सहयोगीलाई इंगित गर्दै भने, ‘उसले घरमा काम गर्न जान्छु भनेर आउँछ । हर चिज महँगो भएको छ । यहाँ कहिलेकाहिँ त एक सुको पनि कमाइ हुँदैन । खाली घर जाँदा उसका जहान परिवारलाई कस्तो हुन्छ होला, सोच्नूस् न,’ फरासिला स्वभावका गुड्डुले पीडा पोखे ।
गुड्डुलाई अहिले पनि आरन पेसाको आवश्यकता रहेको विश्वास छ । ‘यो काम कहिल्यै मर्दैन,’ उनी भन्छन्, ‘हरसमय यसको काम परिरहन्छ । फलाम पिट्न त अरुले सक्दैनन् । त्यसको लागि त हामी नै चाहिन्छ ।’ उनलाई उपमहानगरपालिकाले आफूहरुको सीपलाई अझ राम्रो बनाउने तालिम, मेसिन र काम गर्ने उपयुक्त ठाउँको व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ । तर अपेक्षा भने नगरेको उनी बताउँछन् ।
…
खजुरा घर भएकी तारादेवी बुढाक्षेत्रीको परिवारले करिब चार÷पाँच वर्ष भारतको गुजरातमा चाइनिज नास्ताको पसल चलाए । अहिले उनको नेपालगन्जको चारबाहिनी चोकमा घुम्तीमा ‘शान्ति खाजा घर’ सञ्चालनमा छ । यससँगै जिल्ला अदालत सामुन्ने पनि नास्ताको पसल सञ्चालनमा छ । उनले घुम्तीमा भेज खाजाको ‘शान्ति खाजा घर’ चलाउँछिन् । छोराहरुले ननभेज नास्ताको पसल चलाउँछन् ।
तारादेवीले बनाएका चाइनिज नास्ताका परिकाहरु त्यस आसपासका प्रायः कार्यालय र पसलमा पुग्छ । चारबाहिनी चोक हुलाक अघिको सडक छेउमा रहेका घुम्तीहरुमध्ये उनको पसलमा ग्राहकहरुको घुइँचो लाग्छ । उनले सफा र गुणस्तरीय नास्ता खुवाउने सीप भारतमै सिकेकी हुन् । कमाइ र सन्तुष्टिका सन्दर्भमा आफ्नो देशमा जस्तो अन्त नहुने उनको बुझाइ छ । ‘आफ्नो देश जस्तो त अर्काको देशमा कहाँ हुन्छ । पुलिसले डण्डा हान्दै भगाएको सम्झिँदा कति दुःख लाग्छ,’ उनले चाउमिन भुट्दै भनिन् ।
तारादेवीलाई पनि पछिल्लो समय महँगीले पिरोलेको छ । ‘सबै चिजको मूल्य बढ्यो भनेर हामीले पनि एक महिनाअघि मूल्य बढाएका छौँ । महँगीले कसलाई कसर नगरेको होला र ?’ उनले भनिन् । तारादेवीको घुम्ती उपमहानगरपालिकामा दर्ता छ । तर उनको आसपासमा भएका सबैजसो घुम्तीहरु दर्ता छैनन् ।
आफूले आल्मुनियम फोइलमा नास्ता दिइरहँदा अरुले पत्रिका र कापी किताबका पन्नामा नास्ता दिने गरेको देखेर तारादेवीलाई राम्रो लाग्दैन । उपमहानगरपालिका आएर अहिलेसम्म उनीहरुलाई दर्ता गर्न भनेको पनि छैन । न दर्ता गरेकाहरुलाई तालिमलगायतका अवसरहरु दिएको छ । अब सबै घुम्ती पसलहरुलाई दर्तामा लगेर उनीहरुलाई स्वच्छ नास्ता कसरी पस्किने भन्नेबारेमा तालिम दिए राम्रो हुन्थ्यो भन्ने उनलाई लाग्छ ।
…
नेपालगन्ज वडा नम्बर २ सेतु विक चोकमा दीपकको पान पसल छ । यो पान पसल नेपालगन्जका हाइफाइ पान पसलजस्तो चल्तीको पान पसल होइन । तर, पनि दीपकको पान पसलमा दैनिक कम्तीमा डेढ सयजना पानका पारखीहरु पुगिहाल्छन् ।
कति त उनका नियमित ग्राहक नै छन् । नियमित ग्राहकको रोजाइ र चुनाको मात्र कसलाई कति मन पर्छ उनलाई याद छ । कोरोना महामारीका बेला घटेको पानको व्यापार बिस्तारै सुध्रिँदैछ । तर, दीपकले पनि महँगी धान्न सकिने अवस्था नरहेको बताए ।
दीपकको पान पसलमै भेटिएका डुडुवाका महेश पाल एउटा कम्पनीको मार्केटिङको काम गर्छन् । मासिक १५ हजार तलब छ । उक्त तलबले खर्च धान्न मुस्किल भइरहेको महेशले बताए ।
…
यी नेपालगन्जीया आम मान्छेका केही प्रतिनिधि उदाहरण हुन् । कथा फरक भए पनि व्यथा सबै आम मान्छेको उस्तै छ । आम मान्छेका लागि सरकार पहुँचयोग्य र उपयोगी छैन । यतिबेला सर्वसाधारण महँगीको मारमा छन् । निम्न वर्गका आम मान्छेसम्म पुग्ने र उनीहरुलाई सरकार छ भन्ने अनुभूति दिलाउने स्थानीय सरकार पनि महसुस हुनेगरी प्रकट भएको छैन ।









प्रतिक्रिया दिनुहोस्