बाँके ।
बाँकेको कोहलपुर बसपार्कको सडकमै दिउँसै खुलेआम जुवा (हारजित हुने खेल) खेलाउने गरेको पाइएको छ । कोहलपुर बसपार्कमा रहेको प्रहरी बिटको छेउमै एक समूहले प्रहरीलाई प्रभावमा पारेर दैनिक रुपमा जुवा (लङ्गुरबुर्जा) खेलाउने गरेको पाइएको हो ।
बसपार्कमा रहेको प्रहरी बिटदेखि पश्चिमतर्फ रहेको शौचालयमा एक सातायता जुवा भइरहेको एक स्थानीयले जानकारी दिए । स्थानीय प्रहरीलाई रकम दिएर उनीहरुले जुवा खेलाइरहेका हुन् ।
जुवा (लङ्गुरबुर्जा) खेलाउनेहरुले दैनिक लाखौं रुपैयाँ ठगी गरिरहेको प्रत्यक्षदर्शी बताउँछन् । सामाजिक सञ्जाल फेसबुकमा सिता शाही लेख्छिन्, ‘बिचरा यौटा तरकारी किन गको दिदी, यही खेल खेलेर कृषि मेलानीर घर फर्किदा तरकारी नल्याइ घर फर्किनु भो । यस्तो खेल तुरुन्त बन्द होस् बिचरा रुनु र हाँस्नु हुनु भाँ थियो ।’

सामाजिक सञ्जालमा समेत प्रहरीको चर्को आलोचना भइरहेको छ । कोहलपुर बसपार्क क्षेत्रमा कानुन विपरितका गतिविधि भइरहदाँ प्रहरी भने प्रलोभनमा परेर मुखदर्शक बन्ने गरेको स्थानीयहरु बताउँछन् । यता कोहलपुर बसपार्क बिटका ईन्चार्ज असई छविलाल जैसीले रकम लिएर जुवा खेलाउन दिएको भन्ने कुरा साँचो नभएको बताए ।

‘हामीले जुवा खेलाउन दिएको भन्ने कुरो साँचो होइन, खेलाउन दिने कुरो पनि भएन’ उनले भने, ‘पाँच मिनेट मात्र खेलाउने रहेछन् । हामी जाँदा भागिहाल्छन् ।’
उनले पाँच मिनेट मात्र खेलाउने गरेको बताएपनि दिनभर नै जुवा (लङ्गुरबुर्जा) खेलाउने गरेका थिए । उनले नै जुवा (लङ्गुरबुर्जा) खेलाउनेबाट रकम असुल्ने गरेको बताइन्छ ।









प्रतिक्रिया दिनुहोस्