सामाजिक र राजनीतिक व्यक्तित्व प्रदीप



प्रदीपकुमार शाह व्यवसाय, सामाजिक र राजनीतिक क्षेत्रमा परिचित नाम हो । शाहले २०३६ सालदेखि राजनीतिक यात्रा सुरु गरेका थिए । सल्यानमा जन्मिएका उनी युवा अवस्थामै युवा मञ्चसँग आबद्ध भएका हुन् । २०३७ सालमै उनी गाउँ पञ्चायतको सदस्य भएर सेवा गरे । वर्गीय संगठनको अञ्चल सभापति भइसकेका शाह तत्कालीन धनौरी गाविसका उपाध्यक्षमा पराजित भएका थिए ।

त्यतिबेला झिनो पदले हारेका उनी २०५१ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षमा समेत पराजित भएका थिए । २०५७ सालमा बाँके आएका उनी कोहलपुर–४ का स्थायी बासिन्दा हुन् । २०१९ सालमा सल्यानमा जन्मिएका शाह वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कोहलपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका छन् । शाहसँग उनको उम्मेदवारी र योजनाका विषयमा गरिएको संक्षिप्त कुराकानी:

तपाईंको उम्मेदवारी किन ?

हाम्रा वीर पुर्खाले आर्जेको गौरवपूर्ण इतिहास बोकेको सुन्दर र शान्त नेपाल हो । तर, आज देश बिस्तारै भ्रष्ट मुलुकका रुपमा गइरहेको छ । राप्रपाले बनाउँछ अब सुन्दर, शान्त र विकसित मुलुक भन्ने नाराका साथ सनातन हिन्दू राष्ट्र भन्ने लक्ष्यसहित निर्वाचनमा होमिएको छ । सोहीअनुसार कोहलपुर नगरपालिकालाई देशकै सुन्दर नगर बनाउन मेरो उम्मेदवारी हो ।

तपाईंका योजना के–के छन् ?

कोहलपुर बाँके जिल्लाको उदाउँदो सहर हो । तीन प्रदेशको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको कोहलपुरको विकासका लागि मैले थुप्रै योजना सार्वजनिक गरेको छुँ । सुशासन युक्त नगरपालिका बनाउने मेरो मुख्य ध्येय छ । त्यसको लागि भ्रष्टाचारमुक्त स्थानीय तह र जनतालाई निष्पक्ष र छिटो छरितो सेवा गर्ने, शिक्षा सेवाअन्तर्गत १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षा गर्नेछुँ ।

छात्रालाई निःशुल्क सेनेटरी प्याड, विद्यालयमा लागू औषध दुव्यर्सनविरुद्ध अभियान सञ्चालन, मातृभाषामा शिक्षा प्रदान गरिनेछ । स्वास्थ्यअन्तर्गत निःशुल्क स्वास्थ्य बीमा, सुनिश्चित बाल स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप, कृषि तथा पशुतर्फ एक वडा एक उत्पादनको अवधारणालाई प्राथमिकता दिइनेछ ।

गाईभैंसी पालक किसानलाई सुत्केरी भत्ता, कृषि तथा बाली बीमाको व्यवस्था गर्ने, खानेपानीअन्तर्गत एक वर्षभित्र नगर क्षेत्रमा आधारभूत खानेपानी सेवा, एक घर एक धारा कार्यक्रम, स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरी न्यूनतम करको व्यवस्था, रोजगारमूलक उद्योगको स्थापना, महिलाद्वारा सञ्चालित उद्योगलाई १२ वर्षसम्म स्थानीय कर छुट छ ।

युवाहरुको लागि उद्यम प्रबद्र्धन कार्यक्रम, प्रत्येक वडामा खुला ब्यायमशालाको व्यवस्था, सामाजिक कुरीति र विसंगतिविरुद्ध युवा परिचालनदेखि चुनाव जितेको ६ महिनाभित्र विपन्न परिवार पहिचान गरिनेछ । सीप सिकेका युवाहरुलाई बिना धितो ऋण दिने रहेको छ ।

योजनाहरु कसरी पूरा गर्नुहुन्छ ?

योजना कार्यान्वयनको लागि मसँग स्पष्ट भिजन छ । मैले घोषणापत्र मै योजना कार्यान्वयनको लागि विज्ञ समूह गठन गर्ने भनेको छुँ । विभिन्न क्षेत्रका विज्ञ सम्मिलित समूह निर्माण गरेर लक्षित योजना कार्यान्वयन गरिनेछ । यस्तै योजना कार्यान्वयन गर्दा जनताका आवश्यकतामा आधारित भएर काम गरिनेछ । वडावडाका समस्या संकलन गरिनेछ ।

यतिमात्रै होइन योजना कार्यान्वयनको लागि सुझाव संकलन गरिनेछ । हामी नीति तथा कार्यक्रमसमेत थोरै तर परिणाममुखी बनाउने छुँ । यस्तै योजना कार्यान्वयन गर्दा नगरपालिकाको स्रोतको समेत पहिचान गरिनेछ । ठूलो योजना कार्यान्वयनको लागि प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरिनेछ ।

तपाईंले जित्ने आधारहरु के–के हुन् ?

म एक कोहलपुरको समृद्धि चाहनेसमेत नागरिक हो । मलाई कोहलपुरका राम्रो र नराम्रो राम्रोसँग थाहा छ । विद्यार्थीकालदेखि राजनीति गरेर आएको हुँ । मलाई यहाँ समस्या राम्रोसँग थाहा छ । मैले आफ्नो जीवनकालमा धेरै ठाउँमा नेतृत्व गर्ने अवसर पाएको छुँ ।

मसँग वडा सदस्य भएर काम गरेको अनुभव छ । यस्तै थुप्रै सामाजिक क्षेत्रको नेतृत्व गरिसकेको छुँ । जनताका समस्या बुझेको छुँ । वर्गीय संगठनको क्षेत्रीय अध्यक्ष भएर काम गरिसकेको अनुभव मसँग छ । नेपाल वन पैदावरको अध्यक्ष भइसकेको छुँ । यी र यस्ता आधारमा जनतालाई मलाई जिताउनुपर्छ भन्ने लाग्छ मलाई ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २७ गते मंगलबार