व्यापार, व्यवसाय र कला, संस्कृति बचाउन बर्दिया महोत्सव



एकनारायण अधिकारी
प्रचारप्रचार समिति संयोजक

पाँचौं बाँसगढी माघी महोत्सवको तयारी कस्तो भइरहेको छ ?

फागुन १६ गतेदेखि २६ गतेसम्म बाँसगढी बजारको खनाल चोकको उत्तरतर्फ पाँचौ संस्करणको भव्य बर्दिया महोत्सव सञ्चालन
गर्दैछौं । हामीले यस महोत्सव सफल पार्न तयारीलाई तिव्र बनाएका छौँ ।

सोका लागि पूर्वगठित विभिन्न उपसमितिहरूलाई जिम्मेवारी प्रदान गरिएको छ । मूलसमिति र विभिन्न उपसमितिले कुशलतापूर्वक दिनरात नभनी आआफ्ना जिम्मेवारीअनुसार तयारीमा जुट्नु भएको छ । यतिबेला हामी तिव्र तयारीमा छौँ । त्यसैले सबैजना आआफ्नो स्थानबाट लागि परिरहनु भएको छ ।

महोत्सवको प्रचारप्रसार काम कसरी भइरहेको छ ?

प्रचारप्रसारको काम तिव्र गतिमा भइरहेको छ । परम्परागत प्रचारशैलीका साथै प्रचारप्रसारका लागि सञ्चार माध्यमबाट नविनतम् प्रयास र कार्यहरू भइरहेका छन् । यस क्षेत्रका रेडियो मिडिया, छपाइ मिडिया, अनलाइन मिडिया, साथै सामाजिक सञ्जालको माध्यमबाट प्रचारप्रसारका लागि आवश्यक क्रमगत कार्यहरू भइरहेको छ ।

महोत्सवमा हामीले निमन्त्रणा गर्दै प्रचारप्रसारसहित अब पत्रकार सम्मेलन गर्ने तयारीमा छौँ । यस क्षेत्रका सबै सञ्चार माध्यमको उत्साहजनक साथ प्राप्त भएको छ । सोसल मिडियालाई अझ बढी पनि प्रयोग गरेर प्रचारप्रसार गरेका छौं । सबैलाई महोत्सवको प्रचार कार्यमा सकारात्मक सहयोग गर्न हार्दिक अनुरोध गरेका छौँ ।

महोत्सवका विशेष आकर्षण के–के हुन ?

हामीले विशेष गरी कृषि, पर्यटन र उद्योगलाई बढी महŒव दिँदै स्थानीय उत्पादन, व्यापार, कला संस्कृति, मनोरञ्जन पक्षहरुलाई जोड दिएका
छौँ । महोत्सवमा स्थानीय उत्पादित वस्तुहरुको प्रदर्शनी गरिनेछ ।

सुव्यवस्थित बजारीकरण स्टलहरू, कृषिमा आधुनिकीकरण र यान्त्रिककरण, हस्तकला प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति, विभिन्न खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, बाल उद्यान, साहासिक पर्यटक खेलकुद, बर्दिया जिल्लाभित्रका सम्पूर्ण पर्यटकीय गन्तव्यहरूको प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट, स्थानीय थारू संस्कृतिको जगेर्ना साथै प्रबद्र्धन गर्दै थारू गाउँ निर्माण गरिनेछ ।

साथै स्थानीय कलाकारहरूको कला प्रतिभालाई पहिचान गर्न, निखार ल्याउनका साथै विकास गर्न बर्दिया डान्स आइडल गरिनेछ । हाम्रो लुम्बिनी पर्यटकीय क्षेत्र मन्दिरजस्तो देखिने आकर्षक मुख्य प्रवेशद्वार (गेट) निर्माण गरिनेछ । दर्शकहरूका लागि विशेष आकर्षकका रूपमा बनाइने सेल्फी प्वाइन्ट महोत्सवको आकर्षण बन्नेछ ।

महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?

गत वर्ष हामीले चोथौँ संस्करण सकेर अहिले पाँचौं संस्करणको बाँसगढी व्यापार मेला साथै बर्दिया माघ महोत्सव आयोजना गर्दैछौं ।

यो समय कोभिड–१९ ले थला पारेको व्यापारीक चहलपहल र आम नागरिकको मनोबललाई पनि उच्च पार्नु हो, व्यावसायिक चहलपहलमा वृद्धि गर्नु, यस क्षेत्रको कृषि, पर्यटन र औद्योगिक विकास गर्नु, कला संस्कृतिको जगेर्ना र प्रबद्र्धन गर्नु महोत्वसको मुख्य उद्देश्य छ ।

महोत्सव सञ्चालन भएपछि सो समयमा बाँसगढीमा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ्नेछ । बर्दिया जिल्लाभित्र रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्नु र पर्यटन प्रबद्र्धन गर्नु पनि हाम्रो लक्ष्य हो ।

महोत्सवमा कस्ताखालका कलाकारहरुको प्रस्तुति हुन्छ ?

सबैभन्दा पहिले हामीले स्थानीयस्तरलाई बढी प्राथमिकतामा राख्नु पर्ने हुन्छ । त्यसैले पक्कै पनि स्थानीय कलाकारहरुलाई हामी बढी प्रोत्साहन गर्नेछौँ । त्यसका लागि हामीले विभिन्न योजनाहरु बनाएका छौँ । पहिलोमा हामीले स्थानीय कला संस्कृतिलाई जोडेपछि मनोरञ्जनका लागि बल्ल हामीले राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुलाई समेट्ने छांै ।

महोत्सवमा लक्षित दर्शक को–को हुन् ?

महोत्सवमा विशेषगरि बर्दिया जिल्लाभित्रका र छिमेकी जिल्लाका छिमेकी पालिकाहरू विशेष लक्षित दर्शकहरू हुन् ।

साथै हामी कहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक सबै हाम्रा लक्षित दर्शक हुन् बर्दियामा हामी सबैलाई स्वागत गर्न चाहन्छौं । बर्दिया आउने आन्तरिक तथा बाह्य पर्यटकले आआफ्नो चाहनाअनुसार विभिन्न प्रयटकीय क्षेत्रहरूको अवलोकन गर्न, होटलमा बस्न र रेष्टुरेन्टमा खाना खान सक्नुहुन्छ ।

महोत्सव अवधिभरि बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने छ । विशेष गरी स्थानीय दर्शकहरूको बाक्लो उपस्थिति रहने कुरामा विश्वस्त छुँ । करिब डेढ लाख दर्शकहरुको सहभागिता भिœयाउने तयारीमा छौं ।

महोत्सव अवधिभरि बाँसगढी बजारमा अझ बढी निकै चहलपहल बढ्ने छ । यस क्षेत्रकै सफल र पृथक खालको महोत्सव हामीले आयोजना गर्दै आइरहेका छौं । यस पाँचौं बर्दिया महोत्सवमा आन्तरिक साथै बाह्य पर्यटकलाई स्वागत गर्न हामी आतुर छौं ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

मेरो विशेष अनुरोध र निवेदन के छ भने, यो महोत्वस कृषि, पर्यटन, उद्योग, व्यापार, कला संस्कृति संबद्र्धधन र प्रर्बद्धन गर्न, सर्वपक्षीय छलफल, एकता, सद्भाव र सहकार्यताका साथ यो महोत्सव आयोजना गरिएको हो । यो महोत्सव बाँसगढीको मात्र महोत्सव नभइ सिंगो बर्दियालाई आम रूपमा चिनाउन आयोजना गरिएको महोत्सव हो ।

त्यसैले आउनुहोस् यो महोत्सव तपाईंको हो, मेरो हो । हामी सबैको हो । यसलाई भव्यरूपमा सफल बनाऔँ । साथै मेरो जिम्मेवारी प्रचारप्रसार रहेकाले प्रचारप्रसार कार्यमा साथ सहयोग र उचित सकारात्मक सल्लाह सुझाव दिनुहुन पनि म सबैसबै महानुभावहरूमा विनम्र अनुरोध गर्दछँु ।

प्रस्तुतिः मधुर पौडेल

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १२ गते बिहीबार