हेर्दाहेर्दै भेरीमा हेलिइन् अमिला !



सुर्खेत ।

बिहीबार मध्यान्हतिर सुर्खेतको भेरी नदी किनारमा मलामी आएकाहरुको भीड थियो ।

त्यतिकैमा सबैको नजर केही पर किनारमा कपडा फुकाल्दै गरेकी महिलातिर गयो । वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारमा मोबाइल, छाता र कपडासहित केही कागजात राखेर महिलाले भेरीमा हाम फालिन् ।

हाम फाल्न लागेको सुइँको पाउनेबित्तिकै केही परको दूरीमा रहेको अन्य मानिसहरुले रोक्ने प्रयास गरे । तर, उनले कसैको आवाजतिर वास्ता नै नगरी आफ्नो ज्यान बर्खे भेलमा समाहित गरिन् । घटना लगत्तै प्रहरीलाई बोलाइयो । प्रहरी आएपछि उनको पहिचान खुल्यो ।

कालीकोटको तिलागुफा गाउँपालिका घर भएकी ३१ वर्षीया अमिला दमाई । प्रहरीले उनले हाम फालेको ठाउँबाट कपडा, मोबाइल, छाता र बैंकको चेकबुक बरामद गरेको छ । त्यसमा हेरेपछि मात्रै उनको पहिचान खुल्यो । तर, उनको शव अझै भेटिएको छैन । बहाव धेरै भएका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बिहीबार साँझ सात बजेसम्म उनको खोजी गरिएको थियो । तर, अबेर भएपछि प्रहरीको टोली फर्किएको छ । भोलि फेरि बिहानैदेखि अमिलाको खोजी गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

‘किन हाम फालिन भन्ने कुरा खुल्न सकेको छैन । उनको परिवारका सदस्यसँग बुझ्दा मानसिक सन्तुलन गडबड रहेको भन्ने बुझिएको छ । हामीले उनलाई भेटाउन सकेका छैनौं । शुक्रबार फेरि बिहानैदेखि खोजी कार्य सुरु हुन्छ’, उनले भने ।

प्रहरी प्रमुख भट्टका अनुसार दाइ प्रकाश परियारका साथमा अमिला बस्दै आएकी थिइन् । केही दिनअघि मात्रै सुर्खेत झरेकी अमिला कसरी भेरीसम्म पुगिन् भन्ने पनि आफूलाई जानकारी नभएको प्रकाशले प्रहरी समक्ष बताएका छन् ।

मलामी गएकाहरुले हामफालिसकेपछि उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय छिन्चु र प्रहरी चौकी सुब्बाकुनाबाट गएको टोलीले घटनास्थलमा भएका कागजातका आधारमा उनको पुष्टि गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार अमिलाले हाम फालिसकेपछि करिब दुई सय मिटरसम्म उनले गुहार मागेकी थिइन् । तर, उर्लँदो बर्खे भेलमा जाने आँट कसैले गरेनन् । हेर्दाहेर्ने उनी भेरीको भेलमा बेपत्ता भइन् ।

अमिलाका दाईले मानसिक सन्तुलन गडबड भएको भने पनि अनुसन्धान पूरा नहुँदासम्म यसै भन्न नसकिने प्रहरी प्रमुख भट्ट बताउँछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रबार